Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीबीफिनको बिजनेस समिट आयोजना हुँदै

सीबीफिनको बिजनेस समिट आयोजना हुँदै


काठमाडौं । अर्थतन्त्रमा चुनौती बढ्दै गइरहेको सन्दर्भमा सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजी क्षेत्रबीचको दूरी कम गर्दै उद्यमी व्यवसायी र बैंक तथा वित्तीय क्षेत्रको मनोबल बढाउन सिखर सम्मेलन आयोजना गर्न लागिएको सीबीफिनले जनाएको छ ।

संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्याहरू समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारणका लागि बिजनेस समिट आयोजना गर्न लागिएको बताए । पछिल्लो समय उत्पन्न वित्तिीय चुनौतीले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीचको दूरी बढ्दै जाने सम्भावना रहेको बताउँदै गोल्यानले कृषि, पर्यटन, ऊर्जा, निर्यात क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी विशाल गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी–व्यवसायीले भौग्दै आएका नीतिगत र व्यवहारगत समस्याहरू समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवर्द्धन गर्ने र सोको लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु-याउने उद्देश्य राखेको जानकारी गराए । कार्यक्रममा देशभरका चार सय बढीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

सीबीफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले उद्यमशीलता र व्यावसायिक प्रवर्द्धनका लागि बिजनेस समिट आयोजना गर्न लागिएको बताए । सीबीफिनका उपाध्यक्ष राजेश उपाध्यायले सरकार र निजी क्षेत्रबीचको शिखर सम्मेलनले अर्थतन्त्रको भिजन डकुमेन्ट तयार गर्ने र आगामी दिनमा यसले जारी गर्ने घोषणापत्र सरकारको नीति, कार्यक्रममा समेटिने विश्वास व्यक्त गरे ।

शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरूको सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रहरूको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरू उद्यम/व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरूको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवर्द्धन हुने, तीन तहकै सरकार निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने अपेक्षा राखिएको छ ।

सीबीफिनका अध्यक्ष गोल्यानको अध्यक्षतामा सम्पन्न हुने सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पाेरेसन (आइएफसी)का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, उद्यमी तथा सांंसद विनोदकुमार चौधरी, अर्थशास्त्री एवं सांसद डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मधुकुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, एफएनसीसीआईका पूर्वअध्यक्ष भवानी राणा, सीएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, वर्ल्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेसनका प्रबन्ध निर्देशक जोसेफ अल्भान, दराज नेपालका प्रबन्ध सञ्चाल आँचल कुँवरलगायत विभिन्न देशका राजदूतहरू, अर्थशास्त्रीहरू, उद्यमी–व्यवसायीहरूको सहभागिता रहनेछ ।

शिखर सम्मेलनमा देशभरका उद्यमी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि गरी धेरै ठूलो संख्यामा सहभागिता रहने र सम्मेलनको तयारी सम्पन्न भएको समेत पत्रकार सम्मेलनमा सीबीफिनका महानिर्देशक डा. गोपालप्रसाद तिवारीले जानकारी दिए । डा. तिवारीले अर्थतन्त्रमा अहिले देखिएको चुनौतीलाई सामान गर्न विशेष सुझावसहितको अवधारणपत्र तयार गरिने बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया