Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविश्व बैंकको सहयोगमा एक्सेस आयोजना सुरु

विश्व बैंकको सहयोगमा एक्सेस आयोजना सुरु


काठमाडौं । विश्व बैंकको सहयोगमा पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले आइतबार आयोजनाको शुभारम्भ गरेका हुन् ।

२७ करोड ५० लाख डलर (करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैया) लागतको यस आयोजनाले नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता सुधार गर्न मद्दत गर्ने बताइएको छ । आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकखण्डमा पर्ने ६९ किलोमिटर दुई लेनको सडकलाई चार लेनमा स्तरोन्नति गरिने भएको छ । यस आयोजनाले उक्त सडकमा यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । फलस्वरूप भारतको पश्चिमी बन्दरगाहहरूसम्म नेपालले सहज पहुँच प्रदान प्राप्त गर्ने विश्व बैंकले जनाएको छ ।

विशेष गरी महिला उद्यमी र व्यापारीहरूका लागि आर्थिक अवसरहरू वृद्धि गर्नमा ध्यान दिँदै यस आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तीमा तीनवटा बजार क्षेत्रहरू निर्माण गर्नेछ । बंगलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रहरूमा मालसामान र यात्रुवाहक सवारी साधनको सहज आवतजावत गर्नका लागि हस्ताक्षर गरेको यातायात सम्झौता सम्बन्धमा नेपालको पूर्वतयारी तथा कार्यान्वयनमा लागि पनि यस आयोजनाले सहयोग गर्ने बताइएको छ ।

कार्यक्रममा भौतिकमन्त्री ज्वालाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा यो आयोजनाले सहयोग गर्ने बताए । यस आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आबद्धता बढाउने भन्दै यसले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्नेसमेत उनले बताए । यस्तै, विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको कार्यान्वयनबाट नेपालमा क्षेत्रीय व्यापार बढाउने बताए । यसले दक्षिण एसियाली देशहरूबीचको आर्थिक समायोजनलाई प्रवर्द्धन गर्ने र बृहत् व्यापार र बजारको मार्ग खोल्ने उनको भनाइ छ । यस आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् । नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा यस आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया