Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाबैंक तथा वित्तीय संस्थालाई व्यास नगरपालिकाको चेतावनी

बैंक तथा वित्तीय संस्थालाई व्यास नगरपालिकाको चेतावनी

उपचारात्मक विधि प्रकृया हुदाँहुदै जवरजस्ती कर्जा असुली प्रकृया अपनाए सह्य नहुने


 तनहुँको व्यास नगरपालिकाले उपचारात्मक विधि प्रक्रिया हुँदाहुँदै जबरजस्ती कर्जा असुली प्रक्रिया अपनाए सह्य नहुने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई चेतावनी दिएको छ । नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सबै बैंक तथा वित्तीय संस्थाको नाउँमा ध्यानाकर्षण पत्र काट्दै यस्तो चेतावनी दिएको हो ।

नगरपालिकाद्वारा जारी गरिएको पत्रमा भनिएको छ, ‘विद्यमान आर्थिक संकट र मन्दीका कारणले यस नगरपालिकाभित्र कृषि व्यवसाय गर्ने उद्यमीहरूलाई बैंक तथा वित्तीय संस्थाले कर्जा बुझाउन पटक–पटक सूचना दिई मानसिकरूपमा दुःख दिएको भनी यस कार्यालयमा भएका पटक–पटकको अन्तरक्रियाबाट यस नगरपालिकाको ध्यानाकर्षण भएको हुँदा यो पत्राचार गरिएको हो ।’ नगरपालिकाले आर्थिक मन्दीका कारण किसानले तत्काल कर्जा चुक्ता गर्न नसक्ने भएकाले सबै सरोकारवाला निकायबीच छलफल गरेर निकास निकाल्न सकिने भनेको छ ।

‘स्वदेशमै कृषि उद्यम गरौँ र कृषि उत्पादनमा राष्ट्रलाई आत्मनिर्भर बनाऔँ भन्ने राष्ट्रिय भावनाबाट अभिप्रेरित भई यस नगरपालिकाभित्र विभिन्न कृषि तथा पशुपन्छीजन्य व्यवसाय गर्दै आएका व्यावसायिक कृषकहरू, बैंक तथा वित्तीय संस्थाहरू र अन्य सरोकारवाला निकायहरूबीच यस नगरपालिकाको समन्वय तथा सहजीकरणमा विभिन्न मितिमा भएका भेला, बैठक र अन्तरक्रियाबाट कोभिड महामारी आर्थिक मन्दी र बैंकिङ समस्याको चपेटामा परी व्यावसायिक कृषकहरूको स्थिति अत्यन्त दयनीय बन्दै गएको छ ।

कृषि फर्महरू रित्तिँदै बन्द हुँदै गएका र कृषकहरूमा ऋण तिर्न नसकी आत्महत्याको शृङ्खला बढ्दै गएको विकराल मानवीय अवस्थालाई मध्यनजर गर्दै स्थानीय सरकारद्वारा आफ्नो नगरवासीको जिउधनको संरक्षण गर्नुपर्ने अभिभावकीय कर्तव्य र जिम्मेवारीको महसुस भएको छ । तसर्थ कृषकहरूबाट बैंक तथा वित्तीय संस्थाहरूबाट राष्ट्र बैंकको नीति निर्देशनलाई पालना गर्दै साबिक बैंक कर्जालाई अनिवार्य पुनकर्जा, पुनर्तालिकीकरण, पुनर्संरचनाको सुविधा प्रदान गरिदिनुहुन अनुरोध छ’, नगरपालिकाले भनेको छ ।

व्यवसाय तथा व्यवसायीलाई तत्कालको संकटबाट बचाउन उल्लिखित उपचारात्मक विधि प्रक्रिया नअपनाई अमानवीय अमुली, लिलामी तथा कालोसूचीमा राख्ने प्रक्रिया अपनाउन र उपचारात्मक विधिका लागि आफ्ना तालुक कार्यालयसँग समन्वय गर्न पनि नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेद्वारा जारी पत्रमा भनिएको छ, ‘उपचारात्मक विधि प्रक्रिया हुँदाहुँदै जबरजस्त असुली प्रक्रिया अपनाइएमा त्यस्तो प्रक्रियामा नगरपालिकाका जनप्रतिनिधिहरूको उपस्थिति वा रोहबरमा बस्ने कार्यमा पुनर्विचार गर्नुपर्ने बाध्यता सिर्जना हुने अवस्थातर्फ सम्बन्धित बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण गराउँदछु ।’

तनहुँको व्यास नगरपालिकामा सबैजसो वाणिज्य बैंकहरूका शाखा कार्यालय छन् । विकास बैंक, फाइनान्स र लघुवित्त समेत गरी तीन दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको शाखा नगरपालिकाभित्र सञ्चालनमा छन् । नगरप्रमुख न्यौपानले अहिलेको प्रतिकूल अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीहरूलाई कर्जा चुक्ता गर्न मानसिकरूपमा तनाव दिएको बताएका छन् । आफ्नो क्षेत्राधिकारभित्र पर्ने उद्योगी व्यवसायीहरूले आर्थिक मन्दी र अन्य कारणबाट पीडित रहेको अवस्थामा कर्जा चुक्ता गर्नको लागि मानसिकरूपमा नै पीडा दिएको र केही उद्योगीहरू त आत्महत्या गर्ने अवस्थामा पुगेको भन्ने किसिमको लिखित तथा मौखिक गुनासो नगरपालिकामा आएकाले बैंकहरूलाई पत्र काट्नुपरेको न्यौपानेले बताए । यही परिस्थितिमा नगरप्रमुखको नाताले आफ्नो क्षेत्रभित्रका सबै नागरिकको सुरक्षा गर्नु दायित्व भएकोले यो कदम चालिएको नगरप्रमुख न्यौपानेले बताए । ‘दायित्व पूरा गर्ने क्रममा पीडित ग्राहक र बैंक तथा वित्तीय संस्था समेतलाई मर्का नपर्ने गरी सहजीकरण गर्नेगरी यो पत्राचार गरिएको हो’, उनले भने ।

‘बैंक तथा वित्तीय संस्थाहरूलाई सम्बन्धित बैंकको केन्द्रीय कार्यालयले निक्षेप, कर्जा तथा ऋण असुली सबैमा टार्गेट दिएका हुँदा रहेछन्, त्यही टार्गेट पूरा गर्न नियमनकारी निकाय नेपाल राष्ट्र बैंक समेतको निर्देशनलाई अवज्ञा गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो क्षेत्रका व्यवसायीहरूको उठीवास लगाउनेसम्मको तयारी गरेको देखियो’, नगरप्रमुख न्यौपानेले भने । यो अवस्थामा आफ्नो क्षेत्रभित्रका सबैलाई ऐन नियमको परिधिभित्र रहेर काम गर्न पनि आग्रह गरिएको उनले बताए । नगरपालिकाले बैंक तथा वित्तीय संस्थाको नाउँमा यो पत्र काटेपछि यस क्षेत्रका धेरै बैंक तथा वित्तीय संस्थाका शाखाप्रमुखहरू आफूसँग रुष्ट भएको र नगरपालिकामा नै कार्यरत केही कर्मचारीहरूले समेत पत्र नै चाहिँ नकाटेको भए हुनेथियो, भन्ने तर्क गरेको पनि उनले बताए ।


क्याटेगोरी : पालिका समाचार, नगरपालिका, बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया