काठमाडौं । देशमा जताततै आर्थिक अनुशासनहीनताको अवस्था बढिरहेको छ । त्यसको एउटा उदाहरण हो, बढ्दो बैंकिङ कसुरको मुद्दा । पछिल्लो हप्ता अर्थसँग सम्वन्धित भएर ठाउँठाउँमा सडक आन्दोलनहरू चलिरहेका छन् । मिटरब्याजीका विरुद्ध गएको आर्थिक वर्ष देश पूरै आन्दोलनमय भएको थियो । त्यो क्रम अहिले पनि रोकिएको छैन । संसद्को एउटा सदनले कडा प्रकारको ऐन पारित गरिसकेको छ । तर पीडितहरू घर फर्किन मानेका छैनन् । कारण हो राज्यप्रति उनीहरूको विश्वास डगमगाउनु । मिटरब्याजीहरू पैसावाला हुने भएको र त्यसले प्रभाव पार्नेहुँदा पीडितहरू सधैँ सशंकित रहँदै आउने गरेको पाइन्छ । यही मेसोमा अर्थात् यतिबेला नै सहकारी पीडितहरू पनि सडकमा नै छन् । केही अघिसम्म अर्को प्रकारको वित्तीय कारोबार गर्ने संस्था/निकाय लघुवित्तले उठिबास लगाएको भन्दै देशभरि नै पीडितहरू सडकमा उत्रिएका थिए । पछिल्लो समय बैंकिङ कसुरको उच्चस्वरूप देखाउने विवरण सार्वजनिक भएको छ, जो आर्थिक अपराधको एउटा अङ्ग हो ।
खासगरी केन्द्रीय राजधानी रहेको काठमाडौंमा हरेक प्रकारका आपराधिक क्रियाकलाप बढिरहेको अवस्था छ । बैंकिङ कसुरका घटनाहरू बढिरहेको देखिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा यस्ता आपराधिक कार्यहरू बढेका छन् । त्यसमध्ये पछिल्लो एक वर्षमा बैंकिङ कसुर, अभद्र व्यवहार, चोरी, ठगी, लागूऔषध, आत्महत्या, महिला तथा बालबालिका, सवारी ज्यान तथा अङ्गभङ्ग, कर्तव्य ज्यानलगायतका घटनामा अप्रत्यासित वृद्धि भएर जनजीवन निर्वाह नै त्रासदियुक्त बन्न गएको देखिन्छ । गएको वर्षमात्रै यो एउटा जिल्लामा यस्ता अपराधका शीर्षकमा साढे १३ हजार मुद्दा दर्ता भए । सुरक्षाको हिसाबले सबैभन्दा बढी सुरक्षित रहनुपर्ने जिल्लाको अवस्था यस्तो रहनु भनेको चिन्ताको विषय हो । यसले दुर्गम जिल्लाको अवस्था कस्तो होला भन्ने प्रश्न खडा गर्छ । अपराधका उल्लेखित विवरण अघिल्लो वर्षको तुलनामा चार हजार चार सय ८७ ले बढी हो । विवरणअनुसार आर्थिक वर्ष २०७८/७९मा अपराधको यो सङ्ख्या नौ हजारको हाराहारीमा थियो । प्रहरीकै अनुसार पनि मुद्दाको संख्या बढेको अवस्थाले अपराधकर्म बढेको देखाउँछ । जो निर्भय समाज निर्माणका लागि शुभ संकेत होइन । केन्द्रीय राजधानीकै अवस्था यस्तो रहेपछि यसको सन्देश देशभरि फैलिने हुन्छ ।
मुद्दाको अर्को पक्ष झनै चिन्ताजनक छ । प्रहरीका अनुसार मुद्दाको ठूलो सङ्ख्या आर्थिक अपचलनबाट उब्जिएको देखियो । उल्लेखित सङ्ख्यामा दर्ता भएका कुल मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरसम्बन्धी रहेको पाइयो । त्यसै पनि आर्थिक क्षेत्र सबैभन्दा बढी अनुशासित मानिन्छ । त्यसमाथि बैंकिङ कारोबार त अलिकति पनि यताउता हुन नहुनेमा पर्छ । बैंकलाई मान्छेले आफ्नो घरभन्दा बढी सुरक्षित मान्छन् । अघिल्लो आर्थिक वर्ष बैंकिङ कसुरमा साढे तीन हजारको हाराहारी मुद्दा थिए भने पछिल्लो वर्ष त्यो बढेर सात हजार पुगेको अवस्था देखियो । यो वास्तवमा नै चिन्ताको विषय हो । यसले यस्तो कसुर गरेबापत हुने दण्डको भय खडा गर्न नसकिएको बुझाउँछ । यो पक्षमा सुरक्षा निकाय र स्वयम् बैंकिङ क्षेत्र गम्भीर हुन जरुरी छ । सुरुमा उल्लेख भएका आर्थिक कारोबार गर्ने संस्थाहरू र खासगरी तिनका सञ्चालकहरूले ठूलाठूला कैफियत गर्दा पनि उन्मुक्ति पाइरहेको अवस्था छ । यसतर्फ राज्य गम्भीर बनोस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया