Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयडेंगु महामारीबाट जोगाउन निःशुल्क परीक्षण

डेंगु महामारीबाट जोगाउन निःशुल्क परीक्षण


काठमाडौं । यतिबेला देश डेंगु महामारीमा परेको छ । समाचार विवरणमा आएअनुसार देशैभर फैलिएको यो महामारी नपुगेको कुनै ठाउँ छैन । तराई, पहाड र हिमाली प्रदेश सबैतिर यसको पहुँच विस्तार भइसकेको छ । रोग वा महामारी जसरी फैलिएको छ । त्यसको तुलनामा सरकारले रोकथामका लागि गरेको प्रयास भने कतै देखिँदैन । यो विषयमा स्थानीय सरकार समेत मौन छन् । पहिलेपहिले त डेंगुबाट सतर्कता अपनाउन अनुरोधसम्म आउने गथ्र्यो । मनसुन तीव्र भएर होला पछिल्लोसमय त त्यस्तो सतर्कता अपनाउन अनुरोध समेत आउन छाडेको छ । देशको सबैभन्दा ठूलो र अधिक जनसंख्या भएको महानगरले फोहोरको समेत उचित व्यवस्थापन गर्न सकेको छैन । त्यस्तोबेला डेंगु त साधारण हुने नै भयो । तर चिकित्सकका अनुसार यो यति घातक छ कि कोरोनालाई पनि यसले बिर्साउन सक्छ । डेंगु पीडितको अनुभव पनि त्यस्तै छन् । एकपटक संक्रमित भएपछि त्यसबाट मुक्ति पाउन लरतरो अवस्थाबाट सम्भव हुँदैन । शारीरिक कष्ट पनि त्यतिकै मात्रामा हुन्छ ।

पछिल्लो जानकारीअनुसार बितेका दुई सातामा चार हजारभन्दा बढी संक्रमित थपिएका छन् । यो महामारीको जानकारी नहुँदा धेरै ठूलो संख्याका संक्रमितहरू अभिलेखमा नै आएका छैनन् । त्यतिकै ठूलो संख्या स्वास्थ्य संस्थाको सम्पर्कबाहिर नै छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुमानमा ठूलो संख्याका संक्रमितलाई स्वास्थ्यचौकी पु-याउन पनि सकिएको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गएको हप्ता सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको महिना यतामात्रै एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म त्यो बढेर चार हजारको हाराहारीमा बिरामी थप भएका छन् । यो भनेको संक्रमण फैलावटको डरलाग्दो रूप हो । फैलावटको अवस्था पनि देशव्यापी भएको छ । यतिबेलासम्मको विवरणअनुसार सुनसरीमा एक हजार ५७१, धादिङमा दुई सय ५८, दार्चुलामा एक सय ८८, कास्कीमा एक सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ । यस्तै, काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जनाका दरले संक्रमित फेला परेका छन् । यसको अर्थ हो यी जिल्लालाई प्रतीक मानेर हेर्दा डेंगु नपुगेका ठाउँ अब कतै बाँकी छैन । यसै प्रकारले विस्तार हुँदै गएमा यो संक्रमणले छिट्टै थामिनसक्नुको रूप लिने विज्ञहरूको आकलन छ ।

सबैभन्दा पछिल्लो जानकारीअनुसार पछिल्लो दुई सातामा पूर्वको एउटा जिल्ला सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका छन् । विभागका अनुसार यसरी संख्या बढ्न थालेमा उपचारमा समेत कठिनाइ पर्नेछ । यो महामारी जाडोयाममा झन् यो फैलने जोखिम हुन्छ । त्यसकारण पनि सतर्कता आवश्यक मानिएको हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुटेले जति जनालाई टोक्छ त्यतिनै संक्रमित हुने यसको प्रकृति हो । यसबाट जोगिनका लागि अरू उपायका साथै व्यापक परीक्षण र उपचारमा सहजता ल्याउनु आवश्यक छ । परीक्षणलाई निःशुल्क गराइयो भने पनि धेरै हदसम्म सक्रमण विस्तार हुनबाट रोकिनेछ । चिकित्सकहरूको यस्तो सुझावलाई सरकारले सुनोस् र सोअनुसारको व्यवस्था गरोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #page 2

तपाईको प्रतिक्रिया