जिल्ला न्यायाधीशको अल्मल्याउने परीक्षा
काठमाडौं । जुनसुकै क्षेत्रमा हुने खुला परीक्षा भनेको सबैले बुझ्ने गरी क्षमताको प्रदर्शन पनि हो । त्यस्तो परीक्षामा उत्तीर्ण भएको व्यक्तिबाट सम्पादन हुने काममा अपवादबाहेक कतै प्रश्न उठ्ने अवस्था हुँदैन । यतिबेला देशका प्रारम्भिक तहका न्यायाधीशको परीक्षाको कुरा चलिरहेको छ । नेपालको न्यायिक क्षेत्रको सबैभन्दा तल्लो तह हो, जिल्ला अदालत । यसैबाट बढुवा हुँदै प्रधानन्यायाधीशसम्म पुग्ने क्रम सुरु हुन्छ । यद्यपि, अर्को बाटो पनि छ तर तिनलाई कतैबाट टिपिएको भनेर त्यति सम्मानपूर्वक हेरिँदैन । उनले गरेका न्याय सम्पादनको कामलाई त्यति विवादमुक्त पनि मानिँदैन । यद्यपि, फैसला भने मान्य हुन्छन् नै । यतिबेला चर्चामा आएको एउटा प्रसंग हो जिल्ला अदालतका न्यायाधीशहरूको नियुक्ति खुला प्रतिस्पर्धात्मक परीक्षाबाट गर्ने भन्ने कुरा । प्रचलित संविधानमा पनि सुरु अर्थात् जिल्ला अदालतका न्यायाधीश खुला परीक्षाबाट पनि नियुक्त गर्ने भन्ने व्यवस्था छ । तर, यता यिनै जिल्ला अदालतका न्यायाधीशहरूको खुला परीक्षा यस्तो भयो जो अन्यत्र कतै पनि नहोस् भनेर कामना गर्नुपर्छ ।
न्यायाधीशहरूको प्रवेश परीक्षा अरूका लागि पनि उदाहरणीय बन्नुपर्ने हो तर भयो उल्टो । जुन पदमा जसले परीक्षा दिए र अनुत्तीर्ण भए तिनैलाई फेरि त्यही पदमा नियुक्ति गरियो । जे–जस्तो पद वा निकायमा एउटा परीक्षार्थीले परीक्षा दिन्छ र ऊ अनुत्तीर्ण हुन्छ । प्रारम्भिकरूपमा नै सो व्यक्ति सो ठाउँका लागि अयोग्य नै हो । यसलाई जोसुकैले मान्नुपर्छ । कुनै पनि परीक्षामा फेल भएपछि त्यसलाई सबैले सम्बन्धित उम्मेदवार र त्यसमा नियुक्त गर्ने अर्थात् परीक्षा लिने निकायले समेत मान्नुपर्छ । जुन पदका लागि परीक्षा लिइएको हो, त्यो ठाउँमा फेल भएपछि त्यही फेल भएकालाई त्यही पदमा नियुक्ति गर्ने हो भने न परीक्षाको अर्थ रहन्छ र न यस्तो नियुक्तिको । परीक्षामा फेल भएका व्यक्ति न्यायाधीश बनाइए भन्नेजस्तो सन्देश गइरहेको छ, त्यो आफैँमा हास्यास्पद छ । यो कुरा नियुक्तिकर्ता व्यक्ति निकाय स्वयम्ले पनि बुझनुपर्ने हो । तर जिल्ला न्यायाधीश नियुक्ति गर्दा नियुक्तिकर्ताले यस्तो गम्भीर गल्ती गरिएको भनी महसुस समेत गरेका देखिएन । यतिखेरको सबैभन्दा दुःखको कुरा नै यही हो ।
यो वर्ष सुरु अदालतका २९ न्यायाधीश नियुक्त गर्नुपर्ने भयो । यी न्यायाधीशका लागि विज्ञापन हुँदा दुई सय ११ जनाले परीक्षा दिए । यो प्रतिस्पर्धा अरू क्षेत्रभन्दा कमै हो तर एकभन्दा बढी भएपछि जुनसुकै प्रतिस्पर्धा उच्च नै हुन्छ । तर अचम्म के भयो भने यसमा सम्पूर्ण प्रतिस्पर्धामध्ये एक जनाले मात्रै परीक्षा पास गरे । दुई सय १० जना अनुत्तीर्ण भए । तर यता न्यायाधीश नियुक्त गर्ने निकाय न्याय परिषद्ले भने तिनै अनुत्तीर्ण भएकैमध्येबाट नै जिल्ला न्यायाधीशमा नियुक्ति गरिदियो । यसलाई विगतमा पनि यस्तै हुने गरेको भनेर टार्न खोजिएको पनि देखियो । यस्तो कुतर्कले आमतहको चित्त बुझाउने कुरा हुँदैन ।
अरू त अरू, परीक्षामा फेल भएर पनि त्यही पदमा नियुक्त भएका न्यायाधीशहरूका लागि उनको कार्यकालभरि यस्तो अयोग्यताको दाग लागिरहने छ । परीक्षा दिने, लिने र नियुक्ति गर्ने सबैका लागि यो अभिलेखमा चढेको विषय बन्न गयो । अहिले कतिपयले परीक्षाको ढाँचा नै अलग भएर यति ठूलो सङ्ख्या अनुत्तीर्ण भएको भनी प्रष्टीकरण दिइरहेको पाइन्छ तर यसलाई प्राथमिक तहको विद्यार्थीले पनि पत्याउने अवस्था बन्दैन । राज्यकै बेइज्जती हुने यस्तो कुरा आइन्दा नहोस् । सम्वन्धित निकायले ध्यान दिऊन् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया