Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआपूर्तिको अव्यवस्थाले भोकमरीको खतरा

आपूर्तिको अव्यवस्थाले भोकमरीको खतरा


काठमाडौं । खासगरी भोकमरीका सन्दर्भमा गएको हप्ताको एकै पटक दुईवटा समाचारले ठाउँ लिएको पाइयो । एउटा थियो, खुशीलाग्दो र अर्कोचाहिँ दुःखको । पहिलो समाचारमा ‘ग्लोबल हंगर इन्डेक्स’को १६औँ संस्करणमा परेका एक सय २५ देशमध्ये नेपलको अवस्था सुदृढ भएको । यसमा विश्व भोकमरी सूचकांकमा नेपाल सुधारिएको अवस्था थियो । दोस्रोचाहिँ दशैँको मुखमा पनि सुदूरपश्चिमका जिल्लाहरूमा खाद्यान्नको व्यापक अभाव भएको विवरण, जसमा सरकारले तुरन्तै खाद्यान्न आपूर्तिको व्यवस्थापन नगरे व्यापकरूपले भोकमरी बढ्ने भन्ने उल्लेख भएको थियो । सुदूरपश्चिमका जिल्लाबाट प्राय सधैँ आउनेमध्येकै समाचार हो यो । यतिबेला दशैँसँग जोडिन आयो । यसमा ख्याल राख्नुपर्ने भोकमरीको समस्या दशैँमा मात्रै आइपर्ने कुरा होइन । वितरण र आपूर्ति प्रणालीको उचित व्यवस्थापन हुन नसक्दा यस्ता समस्या सधैँ नै प्रकट भइरहने गरेका छन् । यो पटक भने यो विषयमा नेपाल सुध्रिएको भनिएकै बेला यस्तो समस्या प्रकट भएको हुँदा बढी चर्चित भएको हुनुपर्छ ।

खाद्यान्नको अभावले त्यो क्षेत्रमा यस्तो स्थिति आउन लागेको होइन । कुनै अर्को भू–भागमा रहेको खाद्यान्न त्यो ठाउँमा पु-याउन सक्दा यस्तो संकट आफैँ मेटिन्छ । ग्लोबल हंगर इन्डेक्सको १६औँ संस्करणमा एक सय २५ देशमध्ये नेपालको अवस्था सुदृढ भएको भन्ने देखिएको अवस्था पनि कुनै एउटा जिल्ला मात्र नभएर समग्रलाई आधार मानेर गरिएको अध्ययनको निष्कर्ष हो । यो प्रतिवेदनले गतवर्षको भन्दा भोकमरीका सन्दर्भमा नेपाल ११ तह माथि उठेको देखाएको छ । ग्लोबल हंगर इन्डेक्सले सन् २०२२ मा गरेको अध्ययन प्रतिवेदनमा एक सय २१ देशमध्ये नेपाल ८१औँ स्थानमा थियो भने २०२१ मा नेपाल ११६ देशमध्ये ७६औँ स्थानमा रहेको थियो । यो वर्ष विगतको भन्दा धेरै सुधार आएको अवस्था छ । त्यस कारण पनि यो विषय खुशीलाग्दो मानिएको हो । क्षेत्रको हिसाबले पनि नेपाललाई बलियो देखाएको छ । दक्षिण एसियाअन्तर्गतका देशहरू नेपालभन्दा पछि देखिएका छन् । बंगलादेश ८१औँ स्थानमा, पाकिस्तान १०२औँ र भारत १११ तथा अफगानिस्तान ११४औँ स्थानमा रहेको प्रतिवेदनले बताएको छ । छिमेकी देश भारत १११औँ स्थानमा रहेको अवस्थामा नेपालको स्थान ८१औँ स्थानमा हुनुले कम्तीमा यो क्षेत्रमा नेपाल अरुभन्दा सबल नै रहेको मान्नु पर्छ ।

भोकमरीका सन्दर्भमा यति सुरक्षित रहेको देश नेपालका जनताले चाडबाडका बेला पनि भोकै बस्नुपर्ने अवस्था आयो भने यसलाई सामान्य मान्नु हुन्न । यो भनेको राज्यसंयन्त्र नै असफल भएको अवस्था हो । संसारमा कतै पनि सबै भू–भाग सबै कुराले सम्पन्न हुँदैनन् । कतैका वस्तु कतै लगेर परिपूर्ति गर्नुपर्ने हुन्छ । भोकमरीको यस्तो अध्ययन सन् २००० देखि नियमित हुँदै आएको छ । त्यस कारण त्यसलाई अविश्वास गर्ने कुरा भएन । यसले हाम्रो वितरण र आपूर्तिको व्यवस्थामा प्रश्न गराउँछ । हेक्का राख्नुपर्ने ठाउँ यही हो । अझ आजको दिनमा त धेरै ठाउँमा सडक यातायात पुगेको छ । हवाई यातायातका साधन पनि पर्याप्त छन् । समस्या के हो भने दुर्गम क्षेत्रमा ढुवानीको जिम्मा लिएका संस्थाहरूले जिम्मेवारीपूर्वक काम गरिदिएका भए यो स्थिति आउने थिएन । आपूर्तिको अव्यवस्थाले भोकमरीको खतरा नआओस् । सम्बन्धित निकायहरू गम्भीर बनून् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया