Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयफजुल खर्च नियन्त्रण गर्ने निर्णयको खिल्ली

फजुल खर्च नियन्त्रण गर्ने निर्णयको खिल्ली


लकडाउन घोषणा गरेको पछिल्लो हप्ता (चैत्र १९) सरकारले अर्को एउटा नीति सार्वजनिक गरेको थियो, नौ बुँदामा । त्यसमध्येका थिए, फजुल खर्च नियन्त्रण गर्ने सन्दर्भमा नयाँ कार्यालय नखोल्ने र नयाँ मोटरगाडीहरू खरिद नगर्ने भन्ने । यता लकडाउन धुमधामसँग चलिरहेका बेला उता सरकारी कार्यालय भने त्यसलाई तोड्ने होडमा लागे । त्यसमा यो सरकारका सदस्यमन्त्री स्वयम् तोड्ने कामको अग्रपङ्क्तिमा रहेका भेटिए ।

यसले के देखायो भने, सरकार जस्तोसुकै बेला पनि मितव्ययिताको कुरा देखाउनका लागि मात्रै गरिरहेको छ । त्यस्तो न हुँदो हो त लकडाउनले उत्पन्न गरेका यस्तो संकटपूर्ण अवस्थामा यस्ता फजुल खर्चका सामग्री खरिद र तत्काल नभए पनि काम चल्ने राज्यका निकाय खडा गरेर दुई/तीन अर्बकै आर्थिक दायित्व बोकाउने काम गर्ने थिएनन् होला । यस्ता काममा अर्थको सहमति नभई हुँदैन । त्यसकारण प्रश्न उठ्छ अर्थ आफैँ यतिबेला हात फुकाएर खर्च गर्न चाहन्छ । त्यस्तो बेला ऊ आफैँले ल्याएको यस्तो फजुल खर्चको कुरा गर्नु पनि निरर्थक हुन जाला ।

लकडाउनको मध्य समय बितिरहेको बेला र देशको अर्थतन्त्र कसरी धानिएला भनी सर्वसाधारणले समेत चिन्ता प्रकट गरिरहेका बेला फजुल खर्च नियन्त्रण गर्ने भन्ने सरकारी घोषणालाई धज्जी उडाउँदै दुईवटा ठूला काम भए । पहिलो एउटा निकाय खडा भयो, राष्ट्रिय सम्पत्ति बाँड्ने सन्दर्भमा । त्यो थियो, सुकुम्बासी आयोग खडा गरिनु । देशैभरि कायम हुने यो आयोगको खर्च तीन अर्ब रूपैयाँको हुने मानिएको छ । यसको काम भनेको सरकारी सम्पत्ति व्यक्तिलाई वितरण गर्नु हो । एउटा त सरकारी सम्पत्ति राजनीतिक दलका कार्यकर्तामा बाँड्ने कुरा आयो । दोस्रो यो निकायका लागि दैनिक खर्च कहाँबाट जुटाइने हो भन्ने प्रश्न उठायो । यो संस्थाको यो कामको प्रकृतिले नै कोरोना महामरीका विरुद्ध गर्नुपर्ने कामभन्दा बढी प्राथमिकता पार्नुपर्ने तहमा पर्दैन ।

महामारीको व्यवस्थापन भइसकेर गठन भएको थियो भने पनि सरकारी जग्गा कतै हराउने थिएन । यो संस्था यतिखेरै गठन भएकोमा व्यापक शंका उब्जिएको छ, जसको उत्तर सरकारले दिनुपर्छ । लकडाउनमा नागरिक घरभित्र थुनिएको अवसर पारेर सरकरी जमीन हडप्ने खेलमा यसैबेला यो आयोग गठन गरिएको भनिएको छ । सरकारी सम्पत्तिमा सरकार भरपर्दो छैन भन्ने कुरो यति प्रकरणले पनि देखाइसकेको छ । यतिबेला सुकुम्बासी समस्या समाधान आयोग बन्नु भनेको त्यसैको पुनरोक्ति हो भन्ने धारणा विज्ञहरूको रहेको छ । यसले फजुल खर्चको मात्र होइन राष्ट्रिय सम्पत्ति नै लुट्ने मौका खोजेको भन्ने देखाएको छ । त्यसै पनि यो आयोगका सदस्यहरूलाई तलबभत्ता खुवाउन चाहिने अर्बौं रूपैयाँको स्रोत पनि त्यस्तै शंकामा परेको देखिन्छ । अर्थात् यसको खर्च ऋण खोजेर व्यहोरिएला ।

यही मेसोमा अर्को एउटा घटना पनि समानुन्नेमा आयो, एकप्रकारको व्यङ्ग्यजस्तो भएर । यो हो, पानीजहाज कार्यालयले खरिदका लागि टेण्डर मागेको डेढ करोडको गाडी । पानीजहाज आफैँमा एउटा रोमाञ्चक कुरा मात्रै बन्दै आइरहेको छ । गएको वर्ष प्रधानमन्त्रीले एउटा कोठाको कार्यालय उद्घाटन गरेका थिए, धेरैले जिस्क्याए भनेर । यो फजुल खर्च नियन्त्रण गर्नुपर्ने भनिएको बेला त्यही नेपाल पानीजहाज कार्यालयले करिब डेढ करोड रूपैयाँबराबरकोे गाडी किन्नेगरी विज्ञापन गरेको घटनाले यो ठाउँमा पनि मितव्ययितालाई धज्जी उडाएको अवस्था बन्यो ।

विवरणमा आएअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको कार्यालयले बोलपत्र स्वीकृतिसम्बन्धी सूचना प्रकाशित गर्दैै सवारी साधन किन्न लागेको सार्वजनिक भएको होे । कार्यालयले एक करोड ४३ लाख ९८ हजारका दुई वटा एसयूभी गाडी किन्न लागिएको बताएको छ । अर्थ मन्त्रालयले १९ चैतमा फजुल खर्च नियन्त्रण गर्न सवारी साधन खरिदसहित १४ वटा शीर्षकमा खर्च रोक्ने निर्णय गरेको थियो । यो विज्ञापनले त्यो निर्णयलाई बेअर्थको बनायो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x