Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमृत्युको सन्देशमा सरकार संवेदनाहीन

मृत्युको सन्देशमा सरकार संवेदनाहीन


काठमाडौं । गएको हप्ता इजरायलमा भएको नेपाली विद्यार्थीसमेतको हताहतको घटनाले देश अझै शोकमा परेको छ । ती विद्यार्थीहरू कमाउँदै पढ्दै गर्न भनी त्यता गएका थिए । उनीहरू गएको देश नै आतंककारीहरूको हमलामा प-यो । यी नेपाली विद्यार्थी पनि त्यसैमा परे । आक्रमण र प्रत्याक्रमणका क्रममा अहिलेसम्म करिब दुई सय विदेशीहरूको ज्यान गएको बताइएको छ । नेपाली विद्यार्थीहरू पनि त्यसैमा परेका हुन् । सो हत्या घटना कति क्रुर थियो भनी दैवसंयाग बाँचेर फर्किएका दुई सय ५० हाराहारीको संख्याले बताउनसमेत सकेका छैनन् । ज्यान गुमाएकाहरू उनकै साथी र सबैले जीवन खोज्दा–खोज्दैका क्रममा थिए । केही पहिले इराकमा यसरी नै १२ जना नेपालीको हत्या भएको घटनाले त्यसबेला उपत्यका नै आतंकित भएको थियो । पछिल्लो घटनाले अर्को पीडा थपेको छ र सकेसम्म विदेश नजाने हो कि भन्ने अवस्था सिर्जना गरेको छ । संसारभरि नै आतंकवादीहरूको क्रुरता कायमै छ । यस्तो बेला अवसर पाए पनि सम्बन्धित देशको अवस्था हेरेर मात्रै त्यसतर्फ जान सुझाउनुपर्ने देखिन्छ ।

त्यसैपनि वैदेशिक रोजगारीमा जानेहरूको विभिन्न कारणले हताहत हुनेहरूको संख्या सानो छैन । देशभित्र जिविकोपार्जनका लागि न्यूनतम रोजगारी समेत नहुँदा विदेश जानेको संख्या वर्षेनी जुन रूपले बढ्दै गएको अवस्था छ, त्यही रूपले उतै जीवन गुमाउनेको संख्या पनि बढ्दो छ । यसले अब आतंकवादीहरूको हमलाको स्थितिको अध्ययनले मात्र पनि नपुग्ने हो कि भन्ने पक्ष उजागर गर्छ । रोजगारीका लागि विदेशमा मृत्यु हुनेहरूको इजरायलमा प्यालेस्टाइनी हमास विद्रोहीको आक्रमणमा परी १० जनाको ज्यान गुमाएको र एक जना अझै बेपत्ता भएको अवस्थाभन्दा हताहतीको संख्याका हिसाबले झन् दुःखद मान्नुपर्छ । पछिल्लो एउटा अध्ययन अनुसार नेपालबाट विधिवत् रूपले रोजगारीका लागि विदेश गएकामध्ये वर्षमा करिब एक हजारको मृत्यु हुने गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार सन् २००८/०९ देखि २०२१/२२ सम्मका करिब १२ वर्षमा १० हजार छ सय ६६ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । हताहतीको यति ठूलो संख्याले समाजलाई नै शोकाकुल बनाएको अवस्था छ । इजरायलमा ती ज्यान गुमाएकाहरूको परिवार डेढ दुई हप्तादेखि नै सम्हालिन सकेको छैन भने ज्यान गुमाएका व्यक्तिहरूको गाउँ नै शोकाकुल रहेको अवस्था छ । रोजगारीमा गएकाहरूको उल्लेखित वार्षिक मृत्युदर धेरै ठूलो संख्याको हो । यसले दूरदराजका गाउँ सहरमा कस्तो भयावह अवस्था सिर्जना गरेको होला भन्ने अनुमान गर्न सकिन्छ ।

मृत्युको सो संख्या राज्य आफ्ना नागरिकको जीवनरक्षाका लागि गम्भीर हुनुपर्दछ भन्ने एउटा पाठ पनि हो । दुःखद् पक्ष के हो भने वैदेशिक रोजगारीका क्रममा हुने मृत्युदर घटाउन सरकारले कुनै पहल गरेको अवस्था कतैै देखिँदैन । जसको कमाइबाट देशको अर्थतन्त्र धानिइरहेको छ, उनीहरूप्रति सरकार उदासीन छ ।

राज्यकै मूल कमाइको आधारका रूपमा रहेको वैदेशिक रोजगारीका क्षेत्रबाट प्रत्येक दिनजसो आउने मृत्यको यस्तो सन्देशले राज्यलाई अलिकति पनि पीडा दिएको जस्तो देखिँदैन । कतिपय समयमा त लाससमेत समयमा नल्याइएका घटना पनि प्रकट हुने गरेका छन् । विदेशको यस्तो रोजगारीका सन्दर्भमा अङ्गभङ्ग भएकाहरूको न उपचार हुन्छ, न जीवनवृत्तिको कुनै अवसर नै दिइन्छ । त्यो भनेको राज्य हदसम्मको संवेदनाहीन भएको अवस्था हो । छिमेकी देशमा समेत यस्ता भैपरी आउने कुरामा आफ्ना नागरिकका पक्षमा विभिन्न व्यवस्था गरेका पाइन्छ भने त्यसको सिको किन नगर्ने ? अब यो प्रश्न निरुत्तरित नरहोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया