Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिर्यात बढाउने योजना सबै असफल

निर्यात बढाउने योजना सबै असफल


काठमाडौं । प्रत्येक वर्ष निर्यात बढाउन सरकारले विभिन्न योजनाहरू ल्याउने गरेको छ । झन् पछिल्ला वर्ष झन् ठूलो अंकमा हुने गरी कार्यक्रम प्रस्तुत गरिरहेको अवस्था छ तरे निर्यातको अंक भने झन्झन् घटिरहेको छ । यसले सरकारको निर्यात बढाउने भनी प्रस्ताव भएका र हुने गरेका कार्यक्रममाथि नै शंका गर्नुपर्ने स्थिति आएको देखिन्छ । निर्यात घट्नु भनेको व्यापारघाटा बढ्नु हो । प्रत्येक वर्ष सरकारले व्यापारघाटा घटाउने गरी कार्यक्रम ल्याईरहकै हुन्छ तर तिनको सफलता असफलताको सही रुपले मूल्यांकन नहँुदा बजेटका घोषणाहरू केवल कागजमा सीमित रहेको अवस्था देखिन्छ । पछिल्लो समय विगतको भन्दा आयातित व्यापारको अंक घटेको छ तर यो निर्यात बढेर सन्तुलन कायम हुने तर्फको बाटो लागेको भने होइन । त्यसैपनि देशमा बढ्दै गएको आर्थिक मन्दीले चौतर्फी प्रभाव पार्न थालेको छ । यस्तो बेला बजारमा पनि त्यसको असर पर्छ नै । त्यो भनेको मालवस्तुको खपत घट्नु हो । जब बजारले वस्तु खोज्दैन, त्यस्तो बेला आयात घट्नु अस्वाभाविक होइन । त्यसको पछिल्लो उदाहरण राष्ट्रिय आम्दानी घट्दै गएको अवस्था पनि एउटा हुुनुपर्छ ।

निर्यात व्यापार कसरी घटिरहेको छ भन्ने चलिरहेको वर्षका दुई महिना, साउन र भदौलाई मात्रै हेरेपनि पुग्ला । भन्सार विभागको तथ्यांकअनुसार यी दुई महिनामा नेपालबाट २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ बराबरका सामग्री बाहिर गए । निर्यात भएको यो अंक गत वर्षको तुलनामा घटेको अवस्था देखिन्छ  । घटेको त्यो अंक २ अर्ब २३ करोडमा रहेको अवस्था छ । निर्यातको अंक घट्नुको प्रमुख कारणमा विगतदेखि नै भन्दै आइएको वस्तुको व्यापार घट्नु हो । त्यसको उदाहरणका लागि पाम तेलको निर्यातको अवस्थालाई लिन सकिन्छ । पामतेलको कच्चा पदार्थ नेपालमा उत्पादन हुने मध्येमा पर्दैन । बाहिरबाट ल्याएर केही प्रशोधन गरी निर्यात गरिन्थ्यो । यो निर्यात हुने ठाउँ भनको भारतमात्रै हो भने पनि हुन्छ । पछिल्लो समय भारतले सबै देशबाट पाम आयलका लागि समान रूपको करको व्यवस्था गरिदियो । यसले नेपालबाट एकलौटी रूपमा भारत गईरहेको यो आयलले त्यहाँको बजारमा अरु देशसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो । नेपालबाट पाम तेलको निर्यात १३.०५ प्रतिशत रहेकोमा उल्लेखित कारणले समेत त्यसको निर्यातको हिस्सा घटेर अघिल्लो आ.व.को पहिलो दुई महिनाको तुलनामा यो वर्ष ७.७९ प्रतिशतमा झ¥यो । अर्काको देशको भन्सार दरसँग निर्भर रहँदा कुनै पनि बेला यस्तो संकट आइपर्छ भन्ने पहिलेदेखि नै चेतावनी दिँदै आइएको थियो तर त्यसलाई सुनिएको थिएन ।

भन्सार विभागको विगत केही वर्षका तथ्यांकले नै निर्यात घटिरहेको देखाउँदै थियो । आ.व. २०७८/७९ मा कुल २ खर्ब रुपैयाँको निर्यात भएकोमा त्यसपछिको आ.व.मा कुल १ खर्ब ५७ अर्बमा झ-यो । चालु आ.व.को पहिलो दुई महिनाले पनि राम्रो संकेत देखाएको छैन । माथि उल्लेख भएको निर्यात घटेको अंकले सोही अवस्थालाई देखाउँछ । कारण हो नेपालमा उत्पादन गरेर निर्यात बढाउने तर्फका कार्यक्रमहरू सफल नहुनु । अघिल्ला वर्षका खासगरी निर्यात बढाउने लक्ष्य र कार्यक्रम के–कारणले असफल भए भन्ने मूल्याकन नै नगरी फेरि पछिल्ला वर्ष कार्यक्रम मात्रै घोषणा हुने परिपाटीले यो स्थिति आएको हो । के यसबाट सरकारले पाठ सिक्नु पर्दैन ?


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया