दशैँको मुखमा महँगीको अस्वाभाविक वृद्धि
काठमाडौं । सरकारले दशैँमा उपभोक्तालाई केही हदसम्म भएपनि राहत दिन भनी विभिन्न स्थानमा सुपथ मूल्यका पसलहरू खोलिरहेकै बेला नेपाल राष्ट्र बैंकले भने देशमा मूल्य वृद्धिको दर धान्नै नसक्ने गरी उच्च विन्दुमा पुगेको प्रतिवेदन दिएको छ । यसमा अझ अर्को अस्वाभाविक के देखियो भने अन्तर्राष्ट्रिय बजारमा सस्तिदै गएका वस्तुहरू नेपालको बजारमा भने छोइनसक्नु गरी महंगिएका देखियो । जस्तो नेपालमा उपभोग्य वस्तुको सबैभन्दा बढी आयात भारतबाट हुन्छ । करिव ६० देखि ७० प्रतिशत आयात व्यापार भारतसँग निर्भर छ । भारतबाट आउने वस्तुहरू भनेको आम सर्वसाधारणले दैनिक रूपमा अत्यधिक उपभोग गर्नेमा पर्छन् । राष्ट्र बैंकका एक अधिकारीका अनुसार छिमेकी देश भारतमा यस्ता वस्तुहरूको मूल्य विगत तीन–चार महिनादेखि सस्तो हुँदै गएका छन् तर त्यही वस्तुको मूल्य नेपालमा झन्झन् बढ्दै गएको अवस्था धेरै नै असुहाउँदो हो । यसले नेपाली बजार असामान्य रूपले नै पनि अनुशासनमा नरहेको बताउँछ ।
नेपाल राष्ट्र बैंकको यो हप्ता सार्वजनिक भएको प्रतिवेदन अनुसार देशको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था सुधारमा छ तर मूल्यवृद्धि भने आठ दशमलव १९ प्रतिशत पुगेको छ । यसले आम तहमा एउटा प्रश्न खडा गर्छ, जब वित्तीय अवस्थामा सुधार आएको देखिन्छ भने महंगी चाहि किन बढ्छ । मूल्यवृद्धिको यो विषय सरकारको घोषणा भन्दापनि धेरै उच्च रहेको देखियो । सरकारले चालु आ.व. २०८०/०८१ मा मूल्यवृद्धि छ दशमलव पाँच प्रतिशतभन्दा माथि जान नदिने घोषणा गरेको थियो तर आ.व. सुरु भएसँगै मूल्यवृद्धिको गति बढ्यो । अध्ययन भएका विगतका दुई महिनाको समयमा त यति बढयो कि त्या अस्वाभाविक अर्थात् वजारमा सरकारको कुनै पकड नभएको, अनुगमनका संयन्त्रहरू पूरै काम नलाग्ने भएका जस्ता देखिए । यसमा कुनै एउटा मात्रै होइन, सबै वस्तु तथा सेवामा मूल्यवृद्धि भएको अवस्था वास्तवमा अस्वाभाविक नै हो । त्यसमाथि छिमेकी देशबाट आयातित वस्तु उता मूल्य घट्दा यता झन् बढ्नु आफैँमा अनौठो हो । यसले समग्र बजार कसैको कब्जामा त गएको छैन भन्ने प्रश्न खडा गर्छ । आर्थिक मन्दी वा कतिपय कारणले त्यसैपनि उपभोक्ताको क्रयशक्ति घट्दै गएको भन्ने चर्चा चलिरहेका बेला आगामी दिनमा आम सर्वसाधारणको दैनिकी कसरी चल्ला भन्ने प्रश्न पनि आफैँमा निरुत्तरित छ ।
मूल्यवृद्धि भएका वस्तुमा बढी जसो चुलोमा प्रयोग हुने वस्तुहरू छन् । जस्तो कि मरमसलामा ४५ दशमलव ४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुमा १७ दशमलव ८६ प्रतिशत, तरकारीमा १४ दशमलव ५१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३ दशमलव ३८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डामा १२ दशमलव ६० प्रतिशतका दरले मूल्यवृद्धि भएको छ । उल्लेखित वस्तुविना कसैको पनि चुल्होचौको चल्दैन । यो कुनै एक क्षेत्रमा मात्रै होइन, सबैतिर समान रूपले विस्तार भएको अवस्था छ । काठमाडौं उपत्यकामा नौ दशमलव ८३ प्रतिशत, तराईमा सात दशमलव शून्य तीन प्रतिशत, पहाडको आठ दशमलव शून्य नौ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशतका दरले मूल्य बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
छिमेकी देशमा मूल्य घटेका वस्तुमा पनि नेपालको बजारमा बढेका छन् भने यो गम्भीर विषय हो । जानकारहरूका अनुसार हालका दिनमा यस्ता वस्तुरहरूको मूल्यमा धेरै हेरफेर भएका छैनन् । यसको अर्थ हुन्छ बजारमा अनुगमन पुगेको छैन । सरकारको ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया