Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयएनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर

एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर


विभिन्न काण्डहरूले चर्चा पाइरने देशमा सबैभन्दा पछिल्लो अर्को काण्ड थपिएको छ । त्यो हो ‘एनसेल’ नामक टेलिकम्युनिकेसन कम्पनीको सेयर बिक्री काण्ड । चलिरहेको यो वर्षको प्रारम्भदेखि यसको मध्यकाल चलिरहँदा अहिले करिब एक खर्ब रूपैयाँको एनसेल काण्ड खडा भएको हो । चालू वर्षको प्रारम्भ नै आफ्ना देशका नागरिकलाई कुनै अर्को देशको शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै नागरिकलाई ठग्ने काममा पूरै राज्य संयन्त्र लागेको कुरा प्रकट भयो ।

दुईवटा सरकारका गृहमन्त्री तिनका सल्लाकार, दुईवटा गृहसचिव प्रत्यक्षरूपमा जोडिएको यो घटनाले राज्यसंयन्त्रको संलग्नता नै पुष्टि हुन्छ । यसमा दुई जना पूर्वप्रधानमन्त्रीका नातागोता पनि मुछिएका थिए । तर उनलाई भने जतनपूर्वक अलग पारियो । त्यसपछि ललितानिवास काण्ड प्रकट भयो । यसमा त्यस्तै दुईजना पूर्वप्रधानमन्त्री मुछिएको भेटिए तर उनलाई पनि जतनपूर्वक नै त्यसको अनुसन्धान चलिरहँदा विमानस्थलका सबै संयन्त्रको मिलिभगतमा सय केजी सुनले भन्सार क्षेत्र पार गरिसकेको काण्ड आयो । यसमा पनि कुनै दलका उच्च नेताहरू नै संलग्न देखिए । यी काण्डहरूको अझै यथोचित टुङ्गो लागेको छैन । यही बीचमा आएको छ एनसेलको सेयरकाण्ड ।

विगतका विवरणले के देखाउँछ भने यो एनसेलको सेयरकाण्ड पनि ढिसमिस हुने सम्भावना छ । एनसेलल सुरुवातदेखि नै विवादकै बीचमा चल्दै आएको संस्था हो । यसअघिको सेयर बिक्रीमा पनि करिब आधा खर्बको घोटाला भएको थियो । यसपटक त्यस्तो घोटालाको मात्रा झनै ठूलो देखिन्छ । सय अर्बको कारोबारमा राज्यलाई भने पाँच÷छ अर्ब मात्रै देखिइनु र त्यसमाथि राज्यले अवलम्बन गरेका नियम कानुन र प्रक्रियाहरूको ठाडै उल्लङ्घन हुनु आफैँमा गम्भीर आपत्तिको विषय हो । यसमाथि कठोरता पूर्वक कारबाही भएन भने देशमा वैदेशिक लगानीबाट चल्ने संस्थाहरूले संसारभर नेपालको सन्देश फैलाउने छन् ।

त्यसै पनि एनसेल पहिलेदेखि नै भ्रष्टाचारको सेटिङमा चल्दै आएको संस्थाको रूपमा चिनिन्छ । एकताका देशका प्रधानमन्त्रीको विदेशमा भएको उपचार खर्च एनसेलले नै व्यहोरेको भन्ने थियो । त्यसको कतै पनि खण्डन भएन । यसको अर्थ हो, त्यो कुरा स्थापित भयो । यो कम्पनीले हाल नेपाली जनतासँग सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमभन्दा ३० प्रतिशत महँगो शुल्क असुल्दै आइरहेको छ । राज्यले त्यसो गर्न छुट दिइरहेको छ । उच्चस्तरको संरक्षण नभई यो कुरा सम्भव नै हुँदैन ।

यस्तो संरक्षणकै कारण देशको नियम कानुनभन्दा बाहिर गएर कारोबार गर्दा पनि यसलाई राज्यले सामान्य चेतावनीसमेत दिएको देखिँदैन । यो गम्भीर आपत्तिको विषय हो । अघिल्लोपटक यसो गर्न छुट पाएकै कारण यसपटक सेयर खरिद बिक्रीको नाममा त्योभन्दा धेरै ठूलोस्तरको घोटाला गरिएको हुनुपर्छ ।

यतिबेला चर्चामा आएको नेपालमा सञ्चालित निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलमा २० प्रतिशत सेयर नेपालीहरूकै नाममा थियो । अहिले बिक्री भएको थप सेयरको पृष्ठभूमिमा उनीहरू नै रहेको बताइएको छ । अहिले किनबेच भएको सेयर स्वीडेनको कम्पनी टेलियासोनेराले सन् २०१६ मा एक अर्ब ३६ करोड ५० अमेरिकी डलर अर्थात् एक खर्ब ४३ अर्बमा मलेसियाको एक्जियटा नामक कम्पनीले किनेको थियो ।

यतिबेला त्यो सेयर अर्थात् सम्पत्तिको भाउ बढनुपर्ने हो । तर घाटा लागेको भनेर डेढ खर्बको सेयर पाँच÷सात अर्बमा किनबेच हुनु, त्यो पनि कानुनले तोकेका निकायमा सम्पर्क नगरी, यो सामान्य कुरा होइन । यसको तुरुन्त छानबिन गरेर कारबाहीको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । यसतर्फ सरकारको अविलम्ब ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया