Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयएनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर

एनसेल सेयर बिक्री प्रकरणको छिटो छानबिन गर


काठमाडौं । विभिन्न काण्डहरूले चर्चा पाइरने देशमा सबैभन्दा पछिल्लो अर्को काण्ड थपिएको छ । त्यो हो ‘एनसेल’ नामक टेलिकम्युनिकेसन कम्पनीको सेयर बिक्री काण्ड । चलिरहेको यो वर्षको प्रारम्भदेखि यसको मध्यकाल चलिरहँदा अहिले करिब एक खर्ब रूपैयाँको एनसेल काण्ड खडा भएको हो । चालू वर्षको प्रारम्भ नै आफ्ना देशका नागरिकलाई कुनै अर्को देशको शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै नागरिकलाई ठग्ने काममा पूरै राज्य संयन्त्र लागेको कुरा प्रकट भयो । दुईवटा सरकारका गृहमन्त्री तिनका सल्लाकार, दुईवटा गृहसचिव प्रत्यक्षरूपमा जोडिएको यो घटनाले राज्यसंयन्त्रको संलग्नता नै पुष्टि हुन्छ । यसमा दुई जना पूर्वप्रधानमन्त्रीका नातागोता पनि मुछिएका थिए । तर उनलाई भने जतनपूर्वक अलग पारियो । त्यसपछि ललितानिवास काण्ड प्रकट भयो । यसमा त्यस्तै दुईजना पूर्वप्रधानमन्त्री मुछिएको भेटिए तर उनलाई पनि जतनपूर्वक नै त्यसको अनुसन्धान चलिरहँदा विमानस्थलका सबै संयन्त्रको मिलिभगतमा सय केजी सुनले भन्सार क्षेत्र पार गरिसकेको काण्ड आयो । यसमा पनि कुनै दलका उच्च नेताहरू नै संलग्न देखिए । यी काण्डहरूको अझै यथोचित टुङ्गो लागेको छैन । यही बीचमा आएको छ एनसेलको सेयरकाण्ड ।

विगतका विवरणले के देखाउँछ भने यो एनसेलको सेयरकाण्ड पनि ढिसमिस हुने सम्भावना छ । एनसेलल सुरुवातदेखि नै विवादकै बीचमा चल्दै आएको संस्था हो । यसअघिको सेयर बिक्रीमा पनि करिब आधा खर्बको घोटाला भएको थियो । यसपटक त्यस्तो घोटालाको मात्रा झनै ठूलो देखिन्छ । सय अर्बको कारोबारमा राज्यलाई भने पाँच÷छ अर्ब मात्रै देखिइनु र त्यसमाथि राज्यले अवलम्बन गरेका नियम कानुन र प्रक्रियाहरूको ठाडै उल्लङ्घन हुनु आफैँमा गम्भीर आपत्तिको विषय हो । यसमाथि कठोरता पूर्वक कारबाही भएन भने देशमा वैदेशिक लगानीबाट चल्ने संस्थाहरूले संसारभर नेपालको सन्देश फैलाउने छन् । त्यसै पनि एनसेल पहिलेदेखि नै भ्रष्टाचारको सेटिङमा चल्दै आएको संस्थाको रूपमा चिनिन्छ । एकताका देशका प्रधानमन्त्रीको विदेशमा भएको उपचार खर्च एनसेलले नै व्यहोरेको भन्ने थियो । त्यसको कतै पनि खण्डन भएन । यसको अर्थ हो, त्यो कुरा स्थापित भयो । यो कम्पनीले हाल नेपाली जनतासँग सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमभन्दा ३० प्रतिशत महँगो शुल्क असुल्दै आइरहेको छ । राज्यले त्यसो गर्न छुट दिइरहेको छ । उच्चस्तरको संरक्षण नभई यो कुरा सम्भव नै हुँदैन । यस्तो संरक्षणकै कारण देशको नियम कानुनभन्दा बाहिर गएर कारोबार गर्दा पनि यसलाई राज्यले सामान्य चेतावनीसमेत दिएको देखिँदैन । यो गम्भीर आपत्तिको विषय हो । अघिल्लोपटक यसो गर्न छुट पाएकै कारण यसपटक सेयर खरिद बिक्रीको नाममा त्योभन्दा धेरै ठूलोस्तरको घोटाला गरिएको हुनुपर्छ ।

यतिबेला चर्चामा आएको नेपालमा सञ्चालित निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलमा २० प्रतिशत सेयर नेपालीहरूकै नाममा थियो । अहिले बिक्री भएको थप सेयरको पृष्ठभूमिमा उनीहरू नै रहेको बताइएको छ । अहिले किनबेच भएको सेयर स्वीडेनको कम्पनी टेलियासोनेराले सन् २०१६ मा एक अर्ब ३६ करोड ५० अमेरिकी डलर अर्थात् एक खर्ब ४३ अर्बमा मलेसियाको एक्जियटा नामक कम्पनीले किनेको थियो । यतिबेला त्यो सेयर अर्थात् सम्पत्तिको भाउ बढनुपर्ने हो । तर घाटा लागेको भनेर डेढ खर्बको सेयर पाँच÷सात अर्बमा किनबेच हुनु, त्यो पनि कानुनले तोकेका निकायमा सम्पर्क नगरी, यो सामान्य कुरा होइन । यसको तुरुन्त छानबिन गरेर कारबाहीको प्रक्रिया सुरु गरिहाल्नुपर्छ । यसतर्फ सरकारको अविलम्ब ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया