काठमाडौं । यो हप्ता ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस भव्यताका साथ मनाइयो । यो कार्यक्रममा सबैभन्दा बढी बोल्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगाडि देखिए । सरकारले मानव अधिकारको उच्च सम्मान गरेको भन्ने अभिव्यक्ति दिन कतै छुटाउने गरेका छैनन् । तर उनी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउनका लागि जुन–जुन कार्यक्रममा जहाँ–जहाँ पुगे, ती सबै ठाउँमा उनलाई मानव अधिकारको बढी उल्लङ्घनकर्ताकै रूपमा प्रश्न सोधियो र अन्य वक्ताहरूले पनि उनीमाथि नै औँला ठड्याए । कारण सबैभन्दा ठूला मानव अधिकार उल्लङ्घन भएका मानिएको शान्ति प्रक्रिया लामो समयदेखि नै उनकै कारणले अवरोधमा परेको भन्ने बुझाइ सबैतिर समानरूपले नै प्रकट भएको पाइयो । गएको कार्तिकमा संयुक्त राष्ट्र संघका महासचिवले आफ्नो संसद्को सम्बोधनको बढी समय पनि यही शान्ति प्रक्रियाबारे बिताएका थिए । उनले अन्तर्राष्ट्रिय मानव अधिकारका मापदण्ड र नेपालका अदालतले गरेका फैसला विपरीत प्र्रक्रिया अघि बढाउन खोजिए अमान्य हुने समेत जनाएका थिए । महासचिवसँगको भेटमा एक पूर्वप्रधानमन्त्रीले यसअघि यो प्रक्रियाका बाधक प्रधानमन्त्री नै रहेको भनी गुनासो पोखेका थिए । प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएको वर्ष दिन बित्यो, तर प्रक्रियाबारे भने सिन्को समेत भाचिएन । संसद्को पछिल्लो अधिवेशन सात महिना लामो थियो तर त्यसमा पनि यो विधेयक प्रस्तुत भएन ।
खासगरी मौलिक हकका सन्दर्भमा नेपालको संविधान संसारभरकै उत्कृष्ट मानिन्छ । तर सबैभन्दा बढी मानवअधिकारको उल्लङ्घन पनि नेपालमै भइरहेको अवस्था छ । खासगरी संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयनको अवस्था जति दयनीय छ, त्यसले नै यस्तो सन्देश दिइरहेको अवस्था छ । संविधानमा प्रष्टसँग किटेर नै ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । त्यसपछि संविधानमा नै यिनको कार्यान्वयनका लागि बढीमा तीन वर्षभित्र कानुन बनाइसक्नुपर्ने भन्ने पनि किटानी नै गरिएको छ । संविधान घोषणा भएपछि आजको मितिसम्म तीन जना नेता दुई–दुई पटक प्रधानमन्त्री भए तर यो हक कार्यान्वयनका लागि पहिले त आवश्यक कानुन नै बनेनन् । पछि कानुन त बने तर त्यसलाई कार्यान्वयनमा लान आवश्यक नियमावली अझै बन्न सकेनन् । यतिबेला देश संविधानको नवौं वर्षमा हिँडिरहेको छ । संविधानसभाले घोषणा गरेको नेपालको संविधान र त्यसलाई कार्यान्वयन गर्न भनी बनेका कानुनले सबै जाति, वर्ग, लिङ्गबीच समानताको कल्पना गरेको छ । यो कुरा व्यवहारमा उतार्न चाहिने कानुनी अवस्था अर्थात् नियमावली भने बनेनन् । नियमावली भनेको मन्त्रिपरिषद्ले पारित गर्ने विषय हो । ऐनलाई संसद्ले पारित गरेन भन्न मिल्छ तर नियमावली त प्रधानमन्त्रीले चाहेका बेलामा जुनसुकै दिन पनि बनाउन सकिन्छ । त्यसकारण सरकारकै उदासीनताका कारण संविधानले व्यवस्था गरेको मौलिक हक नागरिकले उपभोग गर्न नपाइएको भन्नुपर्ने भयो ।
यसैभित्र पर्छ विस्तृत शान्ति सम्झौता पनि । यो सम्झौता भएको १७ वर्ष पूरा भयोे । यो सम्झौताकर्तामध्येका एक हुन् हालका प्रधानमन्त्री प्रचण्ड । पीडितहरूले देशसँग न्यायको अपेक्षा गरेको यति लामो समयसम्म भएको प्रतीक्षा सामान्य होइन । कतिपय त घाइते अवस्थामै छन् । उनले आफ्नो स्वास्थ्योपचार गर्न समेत नसकेको अवस्था बेलाबेला समाचारमा आइरहेका नै छन् । यसपटकको मानव अधिकार दिवसमा पनि यो कुरा गम्भीरतापूर्वक उठेको पाइयो । मूल व्यक्ति नै बाटो छेकेर बसेपछिको अवस्था वास्तवमा नै दयनीय हँुदोरहेछ, अहिले भएको त्यही हो । संविधानमा लेखेर मात्रै हुँदैन मौलिक हकको नागरिकले उपभोग गर्न पानुपर्छ । यो कुरा सरकारले सुनोस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया