Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबजेटको आधा वर्ष संकेत राम्रो देखिएन

बजेटको आधा वर्ष संकेत राम्रो देखिएन


काठमाडौं । प्रधानमन्त्रीले आफ्नो तेस्रो पटकको कार्यकालको वर्ष दिन पुगेको अवसरमा राष्ट्रको नाममा गरेको सम्बोधनमा अर्थतन्त्रमा सुधार आएको भनेर धेरैपटक दोहोरिएको थियो । पुस महिना प्रधानमन्त्रीको वर्ष दिन भए पनि बजेटको भने आधा वर्ष हो । यो समयमा प्रधानमन्त्रीले मात्र होइन अर्थमन्त्रीले पनि पटक–पटक अर्थतन्त्र धेरै नै सुधारिएको भनेर बताउँदै आएका छन् । अघिल्लो वर्षको तुलनामा चालू वर्षको यो अवधिमा सुधार भएका होलान् तर अघिल्लो वर्षको स्थिति यस्तो थियो जो पचास वर्षपछि सबैभन्दा खराब मानिएको थियो ।

आयात व्यापारमा निर्भर रहने राज्यको आम्दानी त्यो वर्ष स्वाट्टै घटेको थियो । त्यसको कारणमा आयातमाथि प्रतिबन्ध लगाइनु थियो । विदेशी मुद्रा सञ्चितिको अवस्था दयनीय भएर करिब पूरै वर्ष विलासिताका वस्तुमा प्रतिबन्ध लगाइएको थियो । त्यसले आम्दानी घटायो । यस्ता धेरै उदाहरण छन् जो त्यो वर्षसँग तुलना गर्न मिल्दैन । तर प्रधानमन्त्री र अर्थमन्त्रीबाट भने यस्तै तुलनाबाट अर्थतन्त्रमा व्यापक सुधार आएको भनी आजसम्म पनि बताइरहेकै अवस्था छ । तर यता यो छ महिनाको अवस्थाले भने प्रधानमन्त्रीले भने जस्तो कुनै सुधारको संकेत देखिएको अवस्था छैन ।

चालू आर्थिक वर्षको यो छ महिनामा सरकारको घाटा अंक आधा खर्ब पुगेको छ । यही क्रमले घाटा बढ्दै गयो भने घाटाको यो अंक एक खर्ब पुग्छ त्यसको संकेत यो छ महिनाले दिएको छ । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार पुस यो मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड आम्दानी र पाँच खर्ब ६६ अर्ब ६२ करोड खर्च भएको छ । यो भनेको आम्दानी र खर्चमा ४८ अर्ब घाटा गएको अवस्था हो । जब बजेट घाटा बढ्छ त्यसलाई सुधार मान्न सकिँदैन । सञ्चिति बढेको र मुद्रास्फिति केही घटेकोजस्ता कुराले बजेट घाटालाई क्षतिपूर्ति गर्दैन । चालू आर्थिक वर्षमा राजस्व उठतीको अनुमान १४ खर्ब ७२ अर्ब ४८ करोड थियो । त्यसलाई प्राप्ति गर्न पुस मसान्तसम्म कम्तीमा पनि ४५ प्रतिशत अर्थात् छ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन हुनुपर्ने थियो तर ३५ दशमलव १९ प्रतिशत मात्र राजस्व उठेको देखियो । वर्षभरि यही अवस्था कायम रह्यो भने राजस्व संकलनको अंक ७० प्रतिशत कायम रहने छ । अघिल्लो वर्षको तुलनामा भने उठतीको उल्लेखित अंक बढी नै हो । गएको वर्षको छ महिनाको अवधिमा उठेको रकम ३२ दशमलव ९५ प्रतिशत थियो । त्यो वर्षसँग तुलना गर्न नहुने कुरा उल्लेखित कारणहरूले नै बताउँछन् ।

अर्को, अघिल्लो वर्षको विषम परिस्थितिभन्दा पुँजीगत खर्च चालू वर्षको यो आधा वर्षमा अलिकति पनि बढेको देखिएन । वैदेशिक अनुदानको रकम पनि भरपूररूपमा प्राप्त गरेको देखिएन । सम्बन्धित कार्यालयको तथ्याङ्कअनुसार पचास अर्व (४९ अर्ब ९४ करोड ३० लाख बराबर) वैदेशिक अनुदान प्राप्त हुने भनिएकोमा यो आधा वर्षमा पाँच दशमलव ५२ प्रतिशत मात्रै प्राप्त गरेको देखियो । यो भनेको दुई अर्ब ७५ करोड मात्र हो । कहाँ पचास अर्बको अनुमान र कहाँ तीन अर्बको प्राप्ति । यसैगरी वर्ष बितेमा अनुदानको रकम जम्मा छ अर्बमा सीमित रहने छ । चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड खर्च हुने भनिएकोमा यो आधा वर्षमा पाँच खर्ब ६६ अर्ब ६२ करोड १३ लाख खर्च भएको छ । विकास निर्माणमा त खर्च झनै संकुचित हँुदै गएको देखिन्छ । पुँजीगत खर्च तीन खर्ब दुई अर्ब सात करोड विनियोजन भएकोमा यसमो अवस्था झनै दयनीय देखिन्छ । यो आधा वर्षमा पुँजीगत खर्च १६ दशमलव तीन प्रतिशत मात्रै भएको छ । यो भनेको करिब पचास अर्बको हाराहारी मात्रै हो । यी सबैले बजेटको आधा वर्षको संकेत राम्रो देखिएन भनिएको हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया