Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयक्वारेन्टाइन सुधार्न पनि अदालतकै आदेश चाहिने

क्वारेन्टाइन सुधार्न पनि अदालतकै आदेश चाहिने


सरकारले कोेरोनाबाट नागरिकलाई बचाउन अर्थात् सुरक्षा दिन भन्दै लकडाउनको म्याद अर्कोपल्ट पनि थपेको भोलिपल्ट सर्वाेच्च अदालतले क्वारेन्टाइनमा बसेका वा राखिएका सबैलाई निःशुल्क परीक्षण गर्नु भन्ने आदेश दियो । साथै क्वारेन्टाइन पनि न्यूनतम मापदण्ड पूरा गरेको हुनुपर्ने भन्ने पनि उसको आदेशमा उल्लेख भएको छ । यसको अर्थ हो सरकार कोरोनाका नाममा लकडाउनबाहेक अरु काम गरिरहेको छैन । त्यसो नहुँदो हो त यस्तो सानोसितने र अझ सरकारले कसैलाई यस्तो गुनासो गर्न दिनै नहुने काम पनि अदालतमानै मुद्दा पर्नेगरी कसरी भैरहेको छ भन्ने प्रश्न उठ्छ । वास्तवमा नै भन्ने हो भने यतिबेला देशमा कोरोनाबाहेक अरु काम छैन । त्यसै भएर त निरन्तर लकडाउन गरिरहिएको अवस्था छ । त्यस्तो अवस्था हो भने त्यसबेला गर्नैपर्ने काम नगर्नु आफैँमा एउटा अपराध माने हुने अवस्था देखिँदै छ । यतिबेला जनमत लिइयो भने सरकारबाहेक सरकारका कामकुराप्रति सन्तुष्ट हुने एक जना पनि नागरिक फेला नपर्लान् ।

स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मीहरू तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोसाक, वस्तु, उपकरणलगायतका सम्पूर्ण सामग्रीहरू पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गर्ने व्यवस्था गर्नु र गराउनु भन्ने कुरा सर्वोच्चको आदेशमा भनिएको कुरा हो । कोराना नेपालमा मात्र प्रकट भएको रोग होइन । यतिबेला यो भाइरस दुई सय १३ देशमा फैलिएको छ । त्यसकारण यसको एउटा सर्वमान्य मापदण्ड बनिसकेको छ । कुनै आफ्नोतर्फबाट नयाँ काम गर्न नसके सरकार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार चले हुन्छ । त्यसो गर्दा उसमाथि कसैले आरोप लागाउने अवस्था आउँदैन । त्यो मापदण्ड मानेको भए प्रत्यक्ष र अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा राखिएकाहरूका बारे सर्वोच्च अदालतले यस्तो आदेश जारी गरिरहनुपर्ने थिएन होला ।

अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा रहेर स्वास्थ्य सेवा दिने चिकित्सक, नर्स र कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न यस्तो आदेश भएको हो । आदेशमा भनिएको छ थप भनिएको छ, क्वारेन्टाइनमा राखिएका सबैको अविलम्ब पीसीआर विधिबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्न, उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउन, सामाजिक दूरी पालन गरेर लामखुट्टेलगायतबाट हुनसक्ने संक्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न र क्वारेन्टाइनको अवधिभर बसेकालाई निःशुल्क खानाको व्यवस्था गर भनिएको छ । अदालतले यो माहामारी भएको भन्दै

त्यसबाट नागरिकलाई बचाउनु राज्यको कर्तव्य हुने बताइएको छ । भनिएको छ, आधारभूत स्वास्थ्य सेवा संविधानमा नै मौलिक हकका रूपमा रही निःशुल्क भएको, सरुवा रोगलाई आधारभूत सेवाभित्र पारी निःशुल्क रहने भन्ने कुरा जनस्वास्थ्य सेवा ऐनमा उल्लेख भएको र कोरोना भाइरस सरुवा रोग भएको हुँदा अत्यावश्यक सिटामोललगायतका औषधिहरू उपलब्ध गराउन, मास्क र चिकित्सकीय मास्कहरू गुणस्तरीय ह्यान्ड सेनिटाइजर निःशुल्करूपमा आवश्यक पर्ने व्यक्तिलाई अविलम्ब उपलब्ध गराइयोस् ।

सर्वोच्चले यता यस्तो आदेश दिइरहेकै बेला यता देशमा भने सुरक्षाका लागि क्वारेन्टाइनमा बसेकै बेला मानिसको भटाभट मृत्यु भैरहेको अवस्था छ । अदालतको यस्तो आदेश भैरहेको बेलासम्म क्वारेन्टाइनमा बसिरहेकै ठाउँबाट छजनाको मृत्यु भैसकेको छ । विज्ञहरूका अनुसार क्वारेन्टाइनमा राखिएका नागरिकको डाक्टरको परीक्षणविना नै मृत्यु हुनु दुःखद् मात्र होइन अक्षम्य समेत हो । उनीहरूको भनाइ छ, स्थानीय सरकारको निगरानीमा रहेका क्वारेन्टाइनमा सामान्य डाक्टरको समेत उपस्थिति नभई परीक्षणविना जसको मृत्यु भएको छ, यो अक्षम्य र असफल व्यवस्थापनको नमुना पनि हो यसलाई सामान्यरूपमा लिनुहुँदैन, राज्यको असफलताको ठूलो प्रमाण नै यही हो । यहीँबाट प्रश्न उठ्छ त्यसो भए सरकार के गरिरहेको छ ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x