Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबजेट पुस्तिका च्यातिने अवस्था दूर्भाग्यपूर्ण

बजेट पुस्तिका च्यातिने अवस्था दूर्भाग्यपूर्ण


काठमाडौं । संसद्मा हाल छलफलमा रहेको आगामी वर्षको बजेट त्यस्तो हो । जसले १६औँ पञ्चवर्षीय योजना सफल बनाउने क्रमको भार बोक्नुपर्छ । त्यो योजनाकालमा गरिबीको रेखामुनिका जनसंख्या ११ प्रतिशतमा झार्ने, प्रतिव्यक्ति आय २४ हजार डलरको हाराहारीमा पु¥याउनेजस्ता लक्ष्यहरू किटान गरेको छ । १६औँ पञ्वर्षीय योजना प्रारम्भ हुँदाको महिनासम्म देशमा गरिबी २० प्रतिशतमाथि र प्रतिव्यक्ति आय २४ हजार डलरको हाराहारीमा छ । यस्तो महत्वपूर्ण भूमिका रहेको आधार वर्षको बजेट भने सर्वाधिक आलोचनामा परेको छ ।

अहिलेसम्म छलफलमा आएकोमध्ये भौतिक पूर्वाधार मन्त्रालयको बजेट अधिक आलोच्य बन्यो । यसमा आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा मात्र होइन नेताका क्षेत्रमा समेत जसरी रकमको विनियोजन भएको देखियो । त्यसले समग्र संसद्लाई नै आक्रोशित बनायो । अरू त अरू बढी रकम पाएको भनी झापा जिल्लाकै पुस्तिका हेरेपछि आक्रोशित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदले संसद्मा बजेट पुस्तिका नै च्याते । संसद्मा रकमका यसरी असमान वितरणले बजेट पुस्तिका नै च्यातिएको यो पहिलो घटना हुनुपर्छ ।

बहालवाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री धनुषाका हुन् । कुल बजेटको सबैभन्दा बढी पाउनेमा पर्छ यो मन्त्रालय । यी मन्त्रीको निर्वाचन क्षेत्र धनुषा–४ हो भने उनकी श्रीमतीेको निर्वाचन क्षेत्र धनुषा–३ । सांसदहरूले संसद्मा कुरा उठाएअनुसार यो मन्त्रालयले यी ठाउँमा जति बजेट विनियोजन गरेको छ, त्यति त एउटा पूरै प्रदेशले पनि पाएको छैन । त्यसरी नै बढी रकम पाउने अर्को जिल्ला पर्छ झापा । झापामा पनि यी मन्त्रीका अध्यक्षको निर्वाचन क्षेत्रमा बढी रकम परेको छ । उल्लेखितरूपले बजेट च्यात्ने सांसद झापाकै हुन् । समानरूपको वितरण भएको थियो भने कम्तीमा उनले त बजेट पुस्तिका च्यात्ने थिएनन् होला । सांसदहरूले संसद्मा प्रस्तुत गरेका तथ्याङ्कअनुसार भौतिक पूर्वाधार तथा यातायात मातहत धनुषामा आठ अर्ब ७७ करोड र झापामा छ अर्ब ७० करोड रूपैयाँ बजेट हालिएको छ । यता कर्णाली प्रदेशका १० वटा जिल्लामा यो मन्त्रालयबाट सम्पन्न हुने कामका लगि कुल सात अर्ब ३६ करोड रूपैयाँ मात्रै छ । धनुषाका निर्वाचन क्षेत्रमा पनि समान वितरण भएका थिए भने कम्तीमा यो जिल्लाका सांसदले पनि विरोध गर्ने थिएनन् होला । धनुषा गृह जिल्ला भएका सत्तारूढ दलका सांसदले पनि त्यस्तै महसुस गरेका रहेछन् । राप्रपा अध्यक्षबाट बजेट च्यातिएको कुरालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले टेबल ठोकेर समर्थन जनाइरहेका दृश्य देखिएका थिए ।

भौतिक मन्त्रालयले मन्त्रीको जिल्ला र चुनाव क्षेत्रमा यसरी विनियोजन भयो जसलाई राष्ट्रको होइन आफ्नो खल्तीबाट खर्च गर्न लागेकोजस्तो देखियो । त्यसदिन संसद्मा प्रधानमन्त्री कार्यालय, गृह, परराष्ट्रसहित भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि छलफल हुनुपर्ने थियो । अरूको खासै चर्चा भएन । जब भौतिक पूर्वाधार मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथि छलफल सुरु भयो अनि सांसद आक्रोशित भए । पुस्तिका च्यात्ने सांसदले रोस्ट्रमबाटै भने, जबदेखि भौतिक पूर्वाधार मन्त्रालयको यो पुस्तक हातमा पर्यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यो यसरी च्यातेर हुर्याउने मन भयो, संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने हो, त्यहाँ नहुर्याएर यहाँ राख्छु । यस दिनको बैठकमा सिंगो संसद् नै विपक्षी भएको थियो । यसले पनि यस्तो असमान विनियोजनले सांसदलाई कति मर्माहत पारेको रहेछ भन्ने बुझाउँछ । यो विवरण सच्याइएन भने सधैँका लागि रेकर्ड बन्ने छ । ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x