Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयएसईईमा असफलता विद्यार्थीको कि राज्यको

एसईईमा असफलता विद्यार्थीको कि राज्यको


काठमाडौं । हालै सार्वजनिक भएको गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजाले शिक्षा क्षेत्रमा गम्भीर प्रश्न खडा गरेका छन् । यसको दुःखद् पक्ष के हो भने आधाभन्दा बढी अर्थात् ५२ दशमलव १४ प्रतिशत विद्यार्थी माध्यमिक शिक्षा पूरा गरेर पनि त्यसभन्दा माथि जान नपाउने भए । कुनै पनि विद्यार्थीले माध्यमिक शिक्षा पूरा गरेर मात्र राज्यका कुनै अवसरहरू प्र्राप्त हुँदैनन् । यो भनेको यसभन्दा माथि जाने एउटा सिँढी मात्र हो । तर राष्ट्रिय परीक्षा बोर्डले गएको हप्ता गत वर्षको माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशन गरेको दिनदेखि जसमाथि असफलताको दाग लागेको छ र यसभन्दामाथि पढ्न पाइँदैन भनी राज्यले जसरी प्रतिबन्ध लगएको छ । यो सामान्य कुरा होइन । यसपटक यो परीक्षा दिएका चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ विद्यार्थी मात्रै उत्तीर्ण भए । दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यो संख्यामध्ये केहीले यही वर्ष केहीले एक वर्ष पर्खिएर मात्रै अर्को परीक्षा दिन पाउँछन् । त्यसमा पनि यस्तै परिणाम आए उनको थप पढ्ने बाटो बन्द हुन्छ । ती विद्यार्थी र उनका अभिभावकको दश वर्षको समय र आर्थिक लगानीमा यसरी पानी फेरिँदा राज्यका कोही पनि जिम्मेवार भएको देखिएन ।

शिक्षाविद्हरूका अनुसार यो विद्यार्थीका नाममा राज्य नै असफल भएको अवस्था हो । राज्यले स्कुलमा पढाउने शिक्षकलाई जिम्मेवार बनाएको भए या अवस्था आउने थिएन । काठमाडौं युनिभर्सिटीका डिनको दृष्टिमा सरकारले शिक्षामा लगानी गतिलो गरेको छैन । विद्यालय भनेको शिक्षक र प्रधानाध्यापकले मात्र हुँदैन । विद्यालयमा शिक्षक, कर्मचारीको दरबन्दी पुगेको छैन । सरकारले आवश्यकताअनुसार विद्यार्थीलाई पढाउन चाहिने स्रोत, पैसा र जनशक्ति दिएको छैन । विद्यालयमा गैरशिक्षकको दरबन्दी छैन । त्यस्तै, सरकारले एउटा ठूलो विद्यालयका लागि लेखापाल, कार्यालय सहायक, लाइब्रेरियन, सामग्री व्यवस्थापकलगायत कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन । परीक्षा लिने प्रणाली पनि उपयुक्त छैन । अहिले च्याट जीपीटी, एआईको समयमा जुन प्रकारको प्रश्न सोधिएको र प्रश्न सोधिन्छ, यो एकदमै पुरातन छ । यसले पनि विद्यार्थीको सही मूल्याङ्कन गर्न सकेको छैन । कक्षाकोठाको सिकाइ पनि रचनात्मक हुन सकेको छैन । शिक्षकले पनि परीक्षा कसरी लिइन्छ भनेर पढाउनुपर्ने हुन्छ । परीक्षा, विद्यार्थीको वास्तविक प्रतिभाको जाँच गर्ने रचनात्मक तरिकाको हुनुपर्छ । अर्को विषय भनेको कक्षा १० को एसईई आवश्यक छैन । राम्रो शिक्षा प्रणाली भएका मुलुकले कक्षा १० र १२ मा परीक्षा लिँदैनन् । कक्षा १२ को परीक्षा उचित किसिमको लिनुपर्छ । यो पुरातन मोडलको परीक्षा अझै लिने हो भने विद्यार्थी अझै फेल हुन्छन् ।

यो भनाइलाई आधार मान्ने हो भने यो परीक्षा यो तहका विद्यार्थीलाई असफल बनाउने कारखानाका रूपमा चलाइए रहिआएको छ । परीक्षा असफल हुनेहरूमा कर्णाली परदेश सबैभन्दा माथि छ । यो प्रदेश सबैभन्दा पिछडिएकोमा पर्छ । यसको अर्थ हो दूरदराजका विद्यार्थीहरू बढी असफल हुनेमा परेका छन् । विगतका वर्षहरूमा पनि यस्तै हुने गरेको थियो । ग्रामीण भेगका दोहो¥याएर फेरि त्यही कक्षामा जाने अवस्था हँुदैन । माध्यमिक तहको कुल विद्यार्थीको आधा संख्या पढाइबाट बञ्चित हुने अवस्था आएको छ । प्रत्येक वर्ष यस्तो भइरहन्छ तर आउँदा वर्ष यसलाई दोहोरिन नदिनेतर्फ कसैले केही गर्दैनन् । शिक्षा क्षेत्रमा सधैँ प्रकट भइरहने सबैभन्दा दुःखद् पक्ष नै यही हो । कसै न कसैलाई यस्तो परिणामको जिम्मेवार नबनाउन्जेल यो पीडा दोहोरिरहने छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x