Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीययुद्धग्रस्त देशमा जान सरकारकै प्रलोभन

युद्धग्रस्त देशमा जान सरकारकै प्रलोभन


नेपाल कतै पनि वा कुनै पनि देशबीच हुने युद्धको पक्षमा छैन । यो आफैँ युद्धरत पनि होइन । तर यसले युद्धका पीडा भने भोगिरहेको छ । कतै कल्पना नै नगरिएको अवस्थामा गएको असौजमा १० जना नेपालीको मध्यपूर्वका दुई देशबीचको युद्धमा ज्यान गयो । उनीहरू कमाउँदै पढ्ने सन्दर्भमा विश्वविद्यालयमार्फत पठाइएका थिए । एक जना अझै एउटा पक्षको बन्दीमा छन् । तिनलाई छुटाउनजस्तो हारगुहार भइरहेको छ । त्यसले पनि काम गरेको अवस्था छैन । त्यस लगत्तै रुस युके्रन युद्धको पीडा नेपालीले सही रहनुपरेको छ । त्यो युद्धमा मारिने नेपालीहरूको संख्या आधा सय कटिसकेको छ । दिनहँु मारिनेहरूको संख्या थपिँदैछ । दुई दिनअघि मात्रै गुल्मीका एक युवक मारिएको समाचार आयो । त्यो युद्धमा सम्पर्कहीन भएकाहरूको संख्या पनि त्यत्तिकै छ । यो रुसको पक्षबाट लडिएकाहरूको अवस्था हो । युद्धबन्दीका रूपमा युक्रेनमा रहेकाहरूको संख्या पनि बढिरहेको छ । यता राज्यको भनाइ छ हामीले पठाएका होइनौँ । यही क्रममा यता द्वन्द्वग्रस्त मुलुक इजरायलमा आठ सय नेपाली पठाउने सरकारी निर्णय आएको छ । यसले सरकार कति असंवेदनशील बन्दै गएको छ भन्ने देखाउँछ ।

उल्लेखित संख्याका नेपालीहरू पठाउने भनेर निर्णय भएको दिन मात्रै उता इजरायल–हमास द्वन्द्वका कारण २४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । त्यस दिन इजरायलले गाँजा क्षेत्रमा गरेको आक्रमणमा परी हमास नेता इस्माइल हानियासहित २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका थिए । त्यसका प्रतिक्रियास्वरूप इजरायल क्षेत्रमा हमासको प्रत्याक्रमण हुँदा त्यसले कति मानवीय क्षति गर्ने हो भन्ने सन्त्रास कायमै छ । यस्तो बेला त्यही देशमा केही रोजगारीका लागि आफ्ना नागरिक पठाउने कुरा के–कति जायज हो भन्ने आफैँ एउटा गम्भीर प्रश्न बनेको छ । यस्तो इजरायलसँग सम्झौता गर्ने मन्त्रालय त्यस्तो दलसँग छ, जसले विदेशमा रोजगारीका लागि गएकाहरू फर्किएर स्वदेश आए यतै रोजगारी दिने भनेर घोषणा गरेको थियो । त्यसका लागि सार्वजनिकरूपमा विज्ञापन पनि भए । त्यस्तो दलले चलाइरहेको मन्त्रालयबाट द्वन्द्व जोखिम कायम रहेको देशमा आफ्ना नागरिक पठाउन लागिएको अवस्था निश्चय नै सामान्य होइन । हालै नेपाल सरकारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि नेपाली युवासँग आवेदन माग गरेको अवस्थाबाट यस्तो चिन्ता जन्माएको हो । यसले त्यो युद्धबाट यसरी त्यता पठाइका नेपालीको ज्यान तलमाथि भयो भने त्यसको जिम्मा कसले लिने भन्ने गम्भीर प्रश्न खडा गरेको छ । श्रम मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागले गएको हप्ता नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौताअन्तर्गत यस्तो सूचना जारी भएको बताइएको छ ।

सरकारको भनाइमा इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा (बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्याहारका लागि) सहायक कामदारको रूपमा जान इच्छुकसँग आवेदन माग गरिएको हो । ती क्षेत्रहरू युद्धबाट सुरक्षित रहेको क्षति भनिएको छ । विभागले सूचनामा पाँच सय जना मुख्य उम्मेदवार र तीन सय जना वैकल्पिक उम्मेदवारसहित कुल आठ सय जना मागेको देखिन्छ । कामबापतको परिश्रमिक भनी मासिक तलब पाँच हजार आठ सय ८० इजरायली मुद्रा हुने र हप्ताको छ दिन काम गर्नुपर्ने भनिएको छ । यो भनेको मासिक दुई लाख नेपाली रुपैयाँ हो ।

हेर्दा आकर्षक भए पनि युद्धरत देशको अवस्था अपवादमा बाहेक शान्तिपूर्ण हुँदैन । अहिले त्यस्ता स्याहार केन्द्र युद्धबाट जन्मिएका पनि हुन सक्छन् । यो विज्ञापनमा भाषाको पनि समस्या नहुने बताइएको छ । यो भनेको झन्झन् लोभ्याउने कुरा हो । यसमा जाने र पठाउने दुवै पक्षले सुरक्षाको बलियो प्रत्याभूति खोज्न आवश्यक हुन्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x