Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसाना दलको लफंगाराजको अन्त्य

साना दलको लफंगाराजको अन्त्य


नयाँ संविधानअनुसार दोस्रो आमनिर्वाचन सम्पन्न भएको बीस महिनाको हाराहारीमा चौथो समीकरणको अभ्यास सम्पन्न भएको छ । यो पछिल्लो समीकरणले भने ठूलो विकृतिका रूपमा विस्तार हुन लागेको साना दलका लफङ्गा राजनीतिको अन्त्य गर्ने मानिएको छ । यदि यसो नहुँदो हो त सानाभन्दा साना दल सरकारमा हाबी भएर राज्य नै उनीहरूबाट निर्देशित भइरहनुपरेको दुःखद् अवस्था देशले संसद्को यो कार्यकाल भर भोगिइरहनुपर्ने थियो । यसअघिका तीनवटा समिकरण त्यस्तो दलको खेलाइबाट उब्जिएको थियो जो बहुमतका लागि एक सय ३६ सिट चाहिनेमा जम्मा ३२ सिटको दलले कहिले कसको त कहिले कसको बुइचढेर ठूला दललाई खेलाइरह्यो । एउटा दलसँग निर्वाचनमा गठबन्धन भएको सिट समेत छाडेर अर्को दलको पनि मत पाइएको छ, निर्वाचन लगत्तैपछि त्यो मतको अपमान गर्दै अर्को दलसँग मिलेर सरकार बनाइएको । यो भनेको आफूले पाएको मतको समेत व्यापक अपमान हो भने राजनीतिमा फैलिएको लफंगाराजको पनि चरम अवस्था हो । पछिल्लो राजनीतिक परिदृश्यले यस्तो राजनीतिको अन्त्य गरिदिने अपेक्षा गरिएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री यो समीकरण पूरै समय जाने भएकाले ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई ब्रिफिङ गरिहेका थिए । पछि सरकारका प्रवक्ताले पनि यही कुरा जानकारी गराइन् । त्यसको केही समयपछि गृहमन्त्रीलाई पत्रकारहरूले यो सरकार ढल्न लागेको हो भनी सोधे । उनको जवाफ थियो– यो सबै हावाकुरा होे । तर यसै दिन बेलुका संसद्को पहिलो र दोस्रो ठूलो दलका शीर्ष नेताबीच आफूहरू मिलेर सरकार बनाउने भन्ने कागजपत्रहरूमा हस्ताक्षर भयो । यसले देशका प्रधानमन्त्री र गृहमन्त्री कति हावामा रहेछन् भन्ने देखायो । जसले यस्ता पदाधिकारी सत्ता ढल्ने र बन्ने कुरामा सामान्य जानकारी समेत नभएको बुझाउँछ । यसले पनि साना दलका हातमा परेको राज्य कसरी चलिरहेको रहेछ भन्ने देखाउँछ । पछिल्लो समय त सानाले ठूलो अवसर पाएको देखेर केही ठूलो आकारमा रहेका दलहरू सत्ताकै लागि फुटेर झन् साना हुने क्रम पनि बढिरहेको थियो । पछिल्लो पटक निर्माण भएको दुई ठूला दल सम्मिलित नयाँ समीकरणले यो विकृतिको पनि अन्त्य गरिदिएको छ । यी दुई ठूला दलले सरकारलाई राष्ट्रिय स्वरूप दिन अरू दलबाट पनि सरकारमा प्रतिनिधित्व गराउन सक्छ । तर उनीहरूको भूमिका निर्णायक हुने छैन । यही हो साना दलका लफंगाराजको अन्त्य भएको मानिएको ठाउँ पनि । ठूला यी दुई दल मिलेपछि बहुमतका लागि कुनै शिला खोज्नुपर्दैन । सांसदका शिला खोजेर बहुमत देखाउनुपर्ने अवस्थाले पनि अस्थिरतालाई स्थायीजस्तो बनाएको थियो ।

अहिलेको अर्थात् दुई ठूला दलको यो नयाँ समीकरण राजनीतिक स्थायित्वका लागि रहेको बताइएको छ । त्यस्ता स्थायित्व या समीकरणमा रहेको बहुमतले मात्रै होइन यसको उद्देश्यले पनि दीर्घकालीन स्थायित्वकै प्रस्ताव भएको देखाउँछ वा बुझ्न सकिन्छ । पछिल्लो समय राजनीतिक वृत्तमा विद्यमान संविधानका कतिपय व्यवस्थाले निर्वाचनमा कुनै पनि एउटा दलले निर्वाचनमा बहुमत ल्याउने अवस्था असम्भवजस्तै बनाएको बुझाइ बढ्दै गएको पाइन्छ । गएका दुईवटा आमनिर्वाचनले त्यस्तै देखाएका पनि छन् । त्यसैकारण अहिले संविधान संशोधनको प्रस्तावअघि सारेर पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा सुझाव आयोग बनाउने सहमति भएको बुझिन्छ । समीकरणमा सामेल ठूला दल एमाले–कांग्रेसले लिखितरूपमा नै राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार चाहिने भनिरहेको छ । निर्णायक तहमा रहेका राजनीतिक दलका एजेन्डामा संविधान संशोधनको कुरा पहिलो पटक उठेको हुनुपर्छ । यी दुई दलका मात्रै मत पनि दुईतिहाइ पुग्ने हुँदा यसले निष्कर्ष पनि पाउने अपेक्षा गरिएको हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x