Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआर्थिक गतिविधिमा सुधार देखिएन

आर्थिक गतिविधिमा सुधार देखिएन


प्रधानमन्त्रीले गरेको दाबीअनुसार यो सरकारले गरेको पछिल्लो समयमको सबैभन्दा राम्रो काम हो अर्थतन्त्रमा सुधार । त्यसबाट देशमा आर्थिक गतिविधिमा तीव्रता आएको पनि भनिएको छ । अर्थमन्त्रीले आगामी वर्षका लागि संसद्मा प्रस्तुत बजेटमा सांसदहरूले विभिन्न प्रश्नहरू गरेका थिए । त्यसमा आर्थिक गतिविधिमा मन्दी आएको भन्ने पनि थियो तर अर्थमन्त्रीले सबैभन्दा सकारात्मक सुधार भएको क्षेत्र नै यही हो भनेर जवाफ त दिएर तर त्यसलाई पत्याउनुपर्ने आधार भने देखिएनन् । जस्तो विकास खर्चको मन्द गति कायमै छ । बैंकमा थुप्रिएको पैसाको चाङ घटेको छैन । यता विदेशी मुद्रा सञ्चिति बढेको बढै छ भने त्यसबाट लाभान्वित हुनुपर्ने आयातित व्यापार पनि घटिरहेको छ । यसले राजस्व उठ्तीमा पारेको दबाब झन् बढिरहेकै छ । यता ठेकेदारले काम सम्पन्न गरेर भुक्तानी पाउनुपर्ने भनिएको रकमको अंक आधा खर्ब नाघ्दैछ । यी दृश्यहरूले आर्थिक गतिविधि बढिरहेको भन्ने दाबीलाई साथ दिँदैनन् ।

यतिबेला बैंक तथा वित्तीय संस्थामा निक्षेपको थुप्रो नै लागेको छ । विज्ञहरूका अनुसार बैंक तथा वित्तीय संस्थामा थुिप्रएको रकमको यस्तो अंक यसअघि कहिल्यै देखिएको थिएन । यसको अझ दुःखद् पक्ष केहो भने यस्तो वृद्धिदर झन् पछिल्ला दिन उच्च तहले बढिरहेको अवस्था देखिन्छ । अहिले बैंकहरूमा छ खर्ब ६७ अर्ब रूपैयाँ थुप्रिएको छ । यता बैंकमा जति रकम बढिरहेको छ, त्यसअनुसार कर्जा लगानी भने घटिरहेको देखिन्छ । कर्जामा माग घटेकै कारण लगानी योग्य रकम बढ्दै गएको हो । असारको दोस्रो हप्ता प्रारम्भ हुँदा बैंकहरूमा ६२ खर्ब ७७ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये ५१ खर्ब ३५ अर्ब रूपैयाँ मात्र कर्जा लगानी भएको विवरणहरूले बताउँछन् । कर्जा लगानी बढाउन अपनाइएको ब्याजदरमा ब्यापक कटौतीले पनि भूमिका खेल्न सकेन । यसको अर्थ हो लगानी बढाउनका लागि अपनाइएका उपायहरूले पनि काम गरेका छैनन् । यसले आर्थिक गतिविधिमा संकुचन ल्याउँछ । सरकारले अर्थतन्त्रको एउटा खम्बा मानेको सहकारी यतिबेला भद्रगोल अवस्थामा पुगेको छ । सहकारीमा पैसा जम्मा गर्न क्रमशः छाडिएको अवस्था प्रकट हुँदैछन् । यी विवरणले आर्थिक गतिविधि बढाइरहेका छन् भन्ने देखाउँदैन । यो एक प्रकारले आर्थिक संकटकै अवस्था भने हुन्छ ।

राष्ट्र बैंकको लक्ष्यअनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा ११ दशमलव पाँच प्रतिशतले कर्जा विस्तार हुनुपर्ने थियो । तर दुई महिनाअघि अर्थात गत वैशाख अन्त्यसम्म कर्जा प्रवाहको प्रतिशत चार दशमलव सात मात्र बढेको देखिन्छ । पहिलो कर्जाको ब्याज १३ प्रतिशतभन्दा माथि पुगेको बेलामा पनि कर्जाको स्तर यसरी घटेको थिएन । पछि कर्जामा माग बढाउने उद्देश्यले ब्याजदर १० प्रतिशतको विन्दुमा झारिएको अवस्थामा पनि कर्जा बढेको देखिएन । ब्याजदर कम रहेकै कारण निक्षेप नै पनि घट्दै जाने संकेत देखा पर्दैछन् । अहिले निक्षेपमा अधिकतम ब्याजदर औसत छ दशमलव ८८ प्रतिशत छ । अघिल्लो असारदेखि यो वैशाखसम्म बैंकमा आउनुपर्ने मानिएको सर्वसाधारणको रकमको अंक पाँच खर्ब ७४ अर्ब रूपैयाँ पुगेको अनुमान गरिएको छ ।

बैंकमा जम्मा भएर कर्जामा परिणत हुनुपर्ने रकम बैंकमा आउन छाड्नुले पनि आर्थिक गतिविधि बढाएको देखाउँदैन । यो बीचमा काम सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेको रकमको पनि आधा खर्ब पुग्न लागेको बताइएका छ । विनिमय मुद्राको सञ्चिति वर्ष दिनको आयात धान्ने तहमा पुगेको छ तर यता आयातित व्यापार भने घटिरहेको छ । यी राम्रा संकेत होइनन् । यसमा सरकार गम्भीर बन्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x