Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयठूलो मानवीय क्षति हुन नदिन चुकिएकोे ठाउँ

ठूलो मानवीय क्षति हुन नदिन चुकिएकोे ठाउँ


काठमाडौं । एक महिनादेखि कायम रहेको मनसुनी बाढी पहिरोका प्रकोपहरूले पुर्याएको क्षति धेरै ठूलो भइसकेको छ । यो बीचमा अर्थात् एक महिनामा मात्रै ज्यान गुमाउनेहरूको संख्या सय नाघेको छ । पछिल्लो समय पहिरोले त्रिशुलीमा खसालेका दुई वटा बसका यात्रीहरूको संख्या परेको छैन । अनुमान के छ भने बगेका र लामो समयसम्म फेला नै नपरेका यी बसका बेपत्ता यात्रुहरूको संख्या कति थियो भन्ने समेत अनुमानबाहिर नै छ । सुरु विन्दुबाट चढेका नामावलीका आधारमा मात्रै साठीभन्दा बढी मानिस बगेका छन् । तर यो संख्या यतिमै सीमित नहोला । यी बस सँगसँगै गुडेका अरू बसका चालकका अनुसार तिनमा मानिसको खचाखच नै थियो । यसबाट के अनुमान गरिएको छ भने बेपत्ता यात्रुको संख्या सत्तरी/असीको हाराहारीमा हुनुपर्छ । हामफालेर जोगिएका तीन जनाको अनुमान पनि त्यस्तै छ । नदीको पारिपट्टि रहेका एकजना प्रत्यक्षदर्शीका अनुसार कतै चालचुल नै नभइकनै यी बसहरू नदीमा बिलाएका थिए । रातीको समय भएर यति ठूलो क्षति भएको बताइएको छ ।

यस पटकको मनसुन विगतको भन्दा खतरनाक हुने भनेर पहिलोदेखि नै बताइएको थियो । कतिपय ठाउँमा त साठी वर्षयताकै सबैभन्दा बढी पानी परेको भनेर रेकर्ड नै कायम भएको छ । तर सरकारले भने प्रकोपबाट सकेसम्म जोगाउने कुनै उपाय खोजेको देखिएन । शुक्रबार बिहान चितवनमा भएको दुई बस नै पहिरोमा बगेर दुर्घटनामा बेपत्ता भएपछि सरकारले धेरै वर्षा भएको दिन र रात्रिकालीन बस चलाउन नदिने भन्ने जानकारी गरायो । दुई वटा बस दुई दिनसम्म भेटिएनन् । सिंगो बसको तुलनामा मानिसको लासको त कुरै भएन  । यसले पानीको बहाव कति भयावहरूपले बढेको रहेछ भन्ने देखाउँछ । यो वर्षको प्रारम्भमा नै धेरै संख्याका मार्गहरू पहिरोका कारण अवरुद्ध भए । यसले सबैतिर चितवनको पहिरोको रूप लिन सक्तथ्यो । राजमार्ग यसरी अवरुद्ध भइरहेको बेलामा नै सरकारले खतरा देखिने राजमार्गहरूमा अहिले गरिएजस्तै रात्रिकालीन यातायात रोकिदिएको भए सम्भवतः चितवनको यस्तो दुःखान्त घटना हुने थिएन होला । यो घटना राति दुई बजेतिर भएको अनुमान छ । अहिलेसम्म जहाँजहाँ पहिरो गएका छन् ती सबै रातमा नै गएका छन् । पोखरामा एउटै परिवारका पाँच जनाको ज्यान गएको पहिरो पनि रातमा नै गएको हो । दिनमा गएको पहिरोले अपेक्षाकृत मानवीय क्षति कम गराएको पाइएको छ । त्यसकारण जोखिम देखिएका ठाउँमा वर्षात्को समयमा यातायात नचलाउन पहिले नै नागरिकलाई सचेत बनाउनुपर्थ्यो । पक्कै पनि सरकार यहाँ चुकेकै हो ।

एकै पटक र एकै ठाउँको पहिरोबाट दुई वटा बस र तिनका यात्रु विलीन भएको ठाउँमा परिवारजनको रुवाबासी हुने नै भयो । उनको गुनासो भनेको खोजी कार्यलाई सरकारले प्रभावकारी बनाउन सकेन । शुक्रबार बिहानको घटनामा बेलुकासम्म पनि दुई वटा बस बेपत्ता नै रहे । त्यस्तो बेला मानिसको लास त त्यसै पनि गायब हुने भयो नै । उनीहरूले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग नगरिएको भन्ने गुनासो आएको हुनुपर्छ । भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यो घटना भएको हो । परिवारजन दुई÷दिनदेखि आफन्तको प्राणहीन शरीर लान भनेर यहाँ बसिरहेका छन् । खोजीमा शनिबारदेखि मात्र आधुनिक यन्त्रको प्रयोग गरेर खोजी कार्य जारी राखिएको थियो । बेपत्तामध्येका एक परिवारका अनुसार बिहानै दुर्घटनाको खबर पायौँ, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौँ । तर लास समेत पाइएको छैन । उनका प्रश्न छन्– हवाईजहाज वा हेलिकोप्टर दुर्घटनामा परे सबै प्रविधि संयन्त्र परिचालन हुने बस दुर्घटनमा चाहिँ किन हेलचक्राइँ ? सरकारले यसको जवाफ दिनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x