Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसुशासन मुखले होइन काममा प्रकट होस्

सुशासन मुखले होइन काममा प्रकट होस्


काठमाडौं । संसद्मा उभिएर प्रधानमन्त्रीले विश्वासको मत लिँदा भनेका थिए, ‘भ्रष्टाचारमा शून्य सहनशीलता हुन्छ । ती जस्तासुकै काण्ड हुन् र जोसुकैले गरेको होस् तिनमाथि कारबाही हुन्छ ।’ उनले यस्तो दाबी गरिरहँदा त्यही संसद्को रोस्ट्रममा उभिएर एकजना सांसद आफैँले भर्खर मात्रै एउटा कामका लागि पाँच हजार रुपैयाँ घुस खुवाएको भनेर विवरण सुनाएका थिए । त्यसकारण प्रधानमन्त्रीको यस्तो दाबी आमतहमा पत्याउने खालको नहुन सक्छ । अहिलेका प्रधानमन्त्रीको पदभारग्रहण यो चौथोपटक हो । यसअघिको उनको कार्यकालमा खासगरी भ्रष्टाचारका सन्दर्भमा काम र कुरा फरक परेका थिए । बाहिर भ्रष्टाचारीको मुख नहेर्ने भन्ने र भित्र तिनै भ्रष्टाचारीको संरक्षण गर्ने गरिएका दृश्यहरू विगतमा कायम भएका थिए । एउटा अन्तर्राष्ट्रिय संस्थाले त यिनै प्रधानमन्त्रीलाई भ्रष्टाचारको संरक्षक भनेर परिचय नै गराएको थियो । कतिपय घटनाहरूमा त्यस्तै देखियो पनि । यसैकारण ती सांसदले देशमा भ्रष्टाचार नरोकिएको भनेर आफैँले पाँच हजार रूपैयाँ एउटा सरकारी निकायबाट हुनुपर्ने कामका लागि घुस खुवाएको भनेर बताएका हुनुपर्छ । नवनियुक्त प्रधानमन्त्रीले दुईतिहाइभन्दा बढी हुनेगरी संसद्बाट मत प्राप्त भइरहँदा जनता समाजवादीका सांसद वीरेन्द्र महतोले देशमा भ्रष्टाचार कुन हदसम्म कायम छ भन्ने सन्दर्भमा प्रतिनिधिसभाका एक सदस्यले नै सामान्य प्रकारको कामका लागि उक्त रकम घुसबापत दिनुपरेको अनुभव सुनाएका हुन् ।

संसद् भनेको राष्ट्रपति प्रधानमन्त्री नियुक्त गर्ने निकाय हो । त्यस्तो संस्थाका सदस्यले नै सरकारी निकायबाट कुनै काम लिन घुस खुवाउनुपर्छ भने सर्वसाधारणको हविगत के होला भन्ने अनुमान गर्न सकिन्छ । विश्वासको मत लिन प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै ती सांसद महतोले भनेअनुसार म भूपूमन्त्री, मैले नै हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु । छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्नुपर्ने थियो । ११ बजे गएको छोरालाई त्यो मिलेन भनेर तीन बजेसम्म काम गरिदिएनन् । पछि म आफैँ गएँ, एउटा अधिकृतले कागज मिलेको छैन भन्यो । त्यसपछि चिया खाने समय भयो भन्दै बाहिर गए । चार बजेसम्म कुरेँ (कर्मचारी) आएनन्, म गएर बिचौलियालाई पाँच हजार दिएँ, त्यसपछि त पाँच मिनेटमा काम भयो ।

यहाँ उल्लेख भएको सर्टिफिकेट इक्युभ्यालेन्ट हरेक नागरिकसँग जोडिएको विषय हो । बाहिरको कुनै देशमा गएर अध्ययन सम्पन्न गरी फर्किएको जोकोही विद्यार्थीका लागि आफ्नो प्रमाणपत्र प्रमाणित गराउनुपर्छ । हो, त्यसका लागि कुनै कागजपत्र पूरा भएको नभएको कुरा भने अलग हो । उल्लेखित विवरणमा यस्तो प्रमाणित गर्ने काममा आएको रोकावट कागजपत्र नमिलेर होइन भन्ने बुझाउँछ । पाँच हजार रुपैयाँ नदिउन्जेल नमिलेको कागज त्यो दिनासाथ पाँचै मिनेटमा कसरी मिल्यो भन्ने प्रश्न उठ्छ । यो भनेको देशमा भ्रष्टाचार व्याप्त भएको अवस्था हो । सांसद तथा पूर्वमन्त्रीसम्मले यति सानो कामका लागि घुस खुवाउनु परेको घटना सामान्य होइन । यता नागरिकले यस्तो भोगिरहनुपरेको छ भने शासनकर्ताहरूले बताउने गरेको सुशासनको कुराको अर्थ रहँदैन । यही सन्दर्भमा अहिले घुस खानेभन्दा घुस खुवाउने दोषी मानिएर अनुसन्धान चलाइएको बताइएको छ । वास्तवमा घुस दिने काम पनि अपराध नै हो । तर जब त्यस्तो रकम नदिए कुनै काम हँुदैन भने एउटा नागरिक घुस दिनका लागि कति बाध्य हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । यदि सरकार वास्तवमा नै सुशासन स्थापना गर्न चाहन्छ भने संस्थागत भइसकेको भ्रष्टाचारप्रति मुखले होइन कामले नै देखाउन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x