Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबिजुलीको अभिलेख मेट्ने को हो खोज

बिजुलीको अभिलेख मेट्ने को हो खोज


काठमाडौं । देश कसरी सञ्चालन भइरहेको छ भन्ने नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापन, सरकार र यतिखेरको प्रमुख प्रतिपक्षी दल जो भर्खर मात्रै निवर्तमान भएको छ र केही घरानिया उद्योगपतिहरूको चलखेललाई हेरे पुग्छ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको समयमा विभिन्न उद्योगहरूमा निर्बाध विद्युत् प्रदान गर्न गरिएको विशेष व्यवस्थाअन्तर्गतको रकम तिर्नुपर्ने कि नपर्ने, असूल गर्नुपर्ने कि नपर्ने, असूल गर्नुपर्ने हो भने कसले कति खपत गरेको हो भन्ने प्राधिकरणले बिल दिनुपर्ने कि नपर्ने भन्ने कुराले राष्ट्रिय बहसको रूप लिएको छ ।

विज्ञहरूका अनुसार करिब आठ अर्बको हाराहारीमा रहेको रकम यी पक्षहरू मिलेर चलखेल गर्न खोज्दा एकअर्कामाथि आरोप प्रत्यारोप पनि लाग्न थालेको छ । प्राधिकरणले खुरुक्क बिल देखाइदिए यो कुरा सकिने थियो । भित्री कुरा के हो तर उद्यमीहरूले बिल देऊ भनिरहेका छन् । प्राधिकरण बिल सुरक्षित छ भन्छ तर देखाउँदैन । अहिलेको प्राधिकरण व्यवस्थापक त्यस्तो हो जो दोहोर्याइ–तेहर्याइ नियुक्त भइरहेको छ । सामान्यतया अरू संंस्थामा यस्तो भएको पाइँदैन ।

यो व्यवस्थापन अघिल्लो सरकारले नियुक्त गरेको हो । पछिल्लो सरकार त्यसैलाई जोगाउन लागिपरेको छ । विवरणहरूले त्यस्तै देखाउँछन् । विशेष व्यवस्थाअन्तर्गतको यो रकममा त्यसबेलाको सरकारका सञ्चालकहरू, प्राधिकरणको नेतृत्व र यस्तो विद्युत् खपतकर्ताहरू मिलेर करिब आठ अर्बको रकम बीचमा यताउता गर्ने योजना रहेको भनी यो प्रकरण पहिलो पटक सार्वजनिक हुँदा नै कुरा उठेको थियो । प्राधिकरणको या नेतृत्वले उद्योगको नाम र तिर्नुपर्ने रकम गोप्य राखेर लाइन काटने सूचना जारी गर्यो । बक्यौता उठाउने सन्दर्भको यो सूचना आफैँ शंकास्पद थियो । यस्तो गोप्य तरबर लेनदेन गर्नकै लागि त्यस्तो बिजुली उपलब्ध गराएको रेकर्ड मेटिदिएको आरोप छ । अहिलेको मूल कुरा हो त्यो रेकर्ड कसले मेटायो ? एउटा छानबिन कमिटी बनाइदिए यो सबै पोल खुल्ने थियो । तर अघिको सरकार नपछिको । यस्तो कोही पनि गर्न चाहँदैनन् । समस्याको जरो यही ठाउँमा छ । पछिल्लो समय त संसद्का निकाय पनि यो रकममा लोभिएका देखिएका छन् ।

प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिका सभापति नै उद्योगले तिर्नुपर्ने रकम प्राधिकरणको खातामा नजाओस् भन्ने पक्षमा रहेको भन्दै त्यसका सदस्यहरूले नै शंका गरेका कुरा बाहिर आएको छ । एकपछि अर्को गर्दै विवरणहरू जसरी सार्वजनिक हुँदै गएका छन् त्यसले यस्तो शंकालाई नै बल पुर्याउँछ ।

सार्वजनिक भइरहेका समाचार विवरणअनुसार खपतको टीओडी मिटरको विवरण मेटाइएको कुरा अब शंका गर्नुपर्ने ठाउँ रहेन । यस्तो रहस्यमय घटनाको छानबिन गर्ने हो भने यो आठ अर्ब रकममा कसले कसरी पञ्जा मार्न खोजेका हुन् भन्ने खुल्ने थियो । तर निवर्तमान र वर्तमान सरकार या प्रकरणलाई भित्रभित्रै दबाउने प्रयासमा लागेको हुँदा प्राधिकरणको यति ठूलो रकम लेनदेन गर्न खोजिएको यो घटना लुक्लाजस्तो देखिँदैन । डेडिकेटेड तथा ट्रंक लाइन बिजुली खपत कति भएको छ भनेर देखाउन सकिएन भने यो प्रकरण केही दिनमा आफैँ ओझेलमा पर्ने बुझाइ प्राधिकरणका कार्यकारी निर्देशकको रहेको बताइएको छ । यो सबै प्रकरणका योजनाकार पनि उनै हुन् । एकजना सरकारी कर्मचारीमाथि यति धेरै सरकारको बचाउ अभियान जारी रहेको छ त्यो आफैँ शंकास्पद हो । अब यो विषय टुङ्गो लाग्नुपर्छ । त्यो ठाउँसम्म पुग्ने बाटाहरू देखिरहेका छन् । त्यसमा हिँडे सत्यतथ्य पत्ता लाग्ने सूत्रहरू आफैँ भेटिने छन् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x