Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयडेङ्गी परीक्षणमा शुल्क तोक, लुट रोक

डेङ्गी परीक्षणमा शुल्क तोक, लुट रोक


यतिबेला देशभर डेङ्गी संक्रमण तीव्र भएको छ । सरकारी सूचनाकै अनुसार पनि डेङ्गीको संक्रमण नपुगेको कुनै जिल्ला बाँकी छैन । समाचारमा आएअनुसार अझ दूर्गम ठाउँमा यसको प्रकोप व्यापक भएको छ । कतिपय अवस्थामा या कसरी सर्छ भन्ने जानकारीको अभावमा परिवारका पूरै सदस्य र तिनमार्फत छिमेकमा पनि संक्रमण फैलिरहेको छ । भू–भागको हिसाबले पनि यो अब कतै बाँकी रहेको छैन । डेङ्गीले हिमाल प्रवेश गरेको भनी समाचार आइरहेकै छन् । पछिल्लो समय त देश अधिक वर्षाका कारण हिमाली क्षेत्र नै पीडित छ । बाढीपहिरोले गाउँ र परिवार नै बगाएका कारण डेङ्गीतर्फ त्यति ध्यान दिन नसकिको हुनुपर्छ । तर जसरी अब कुनै जिल्ला बाँकी रहेका छैनन् त्यसरी नै एकदिन कुनै घर पनि डेङ्गी नभएको बाँकी नहुन सक्छ । विज्ञका अनुसार आउँदो कार्तिकसम्म यसको जोखिम झन् उच्च हुने हुन्छ । अघिल्लो वर्ष त पुस महिनामा नै संक्रमितको संख्या दश हजारभन्दा बढी रहेका देखिएको थियो ।

यो भनेको डेङ्गीका लागि कुन महिनादेखि सतर्क रहनुपर्ने भन्ने नहुने अवस्था हो । करिबकरिब अहिले एक प्रकारले कोरोना संक्रमणका रूपमा नै विस्तार हुँदैछ यो डेङ्गी । कोरानाकालमा नेपाल चुकेको भनेको त्यसको तयारी नपुग्नु थियो । प्रधानमत्रीले नै हाच्छिउँ गरेर भगाउने बेसार पानी खाएपछि कोराना आउनै नसक्ने जस्ता गैरजिम्मेवार प्रचार हँुदा र त्यसको उचित परीक्षणको व्यवस्था नमिलाइँदा दशबाह्र हजारको ज्यान गयो । त्योबेला परीक्षणका नाममा चलेका ब्रह्मलुट पनि सम्झना लायक छ । पाँच सयमा हुने परीक्षण शुल्क पाँचहजारसम्म लिइएका विवरण सामामान्य भइसकेका थिए । कोरानोका बारेमा विश्व स्वास्थ्य संगठनले जति परीक्षण बढी भयो त्यति राम्रो भनेर नारा नै ल्याएको थियो । तर नेपालले त्यसको अनुकरण गरेन । बढीभन्दा बढी परीक्षण हुँदा एउटाबाट अर्कोमा सर्ने खतरा कम हुन्छ । त्यसको कारण परिणामलाई प्राथमिकता दिएको हुनुपर्छ । अहिले भयावह बन्दैगएको डेङ्गी पनि त्यही हो । यसबाट जोगिन पनि बढीभन्दा बढी परीक्षणकै आवश्यकता पर्छ । तर यसको परीक्षणलाई सहज र सुलभ बनाउन सकिएको छैन । सके परीक्षणलाई निःशुल्क बनाए हुने हो । निःशुल्क बनाए शंका लाग्नासाथ जोकोही पनि परीक्षणमा जान सक्छन् । त्यस्तो भयो भने एउटा संक्रमितले अज्ञातवश अर्कोलाई सार्ने सम्भावना कम हुन्छ । यो कुरा राज्यको दायित्वभित्र पनि पर्छ ।

डेङ्गी परीक्षणका लागि शुल्क नै लिए पनि त्यो पाँच सयको हाराहारमा पर्दोरहेछ । तर अहिले दुई हजारसम्म लिने गरिएको भन्ने जानकारीमा आएको छ । हालै लुम्बिनी प्रदेशको एउटा घटनाले परीक्षण शुल्कमा जथाभावी भइरहेको भन्ने बुझाउँछ । एउटा समाचारअनुसार बुटवलमा डेङ्गी परीक्षणका लागि पुगेका बुटवल उपमहानगरपालिका वडा नं १० का वडाध्यक्ष आफँै ठगिएछन् । त्या पनि सुपथ मूल्यमा परीक्षण गर्ने भनी आफैँले पचार गरिहेको नेसनल प्याथ ल्याबबाट । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सरकारी, सामुदायिक र निजी स्वास्थ्य संस्थाहरु सामेल बैठक बसी डेङ्गी परीक्षण गरेबापत पाँच सय रुपैयाँ लिनुपर्ने निर्णय गरेको थियो । त्यो निर्णयपछि नै यो ल्याबले परीक्षणमा १२ सय लियो । यो भनेको परलभन्दा सात सय बढी हो । सरकारले शुल्क तोकेको अवस्थामा र त्यसमाथि जनप्रतिनिधिबाट नै यति बढी रकम असुल हुन्छ भने साधारण नागरिकका हालत के होला ? कोरोना कालमा जसरी नागरिक लुटिए डेङ्गी प्रकोपमा त्यस्तो दोहोरिनुहुँदैन । माथि उल्लेख भएको रुपन्देही जिल्ला प्रशासनले तोकेको रेटलाई मात्रै पनि देशव्यापी बनाइयो भने कम्तीमा परीक्षणका लागि मनपरी शुल्क लिने बाटो बन्द हुन्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x