Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारी सूचनाको सरकारबाटै उल्लङ्घन !

सरकारी सूचनाको सरकारबाटै उल्लङ्घन !


काठमाडौं । सरकारले तीज मनाउने विषयमा भदौ १३ मा एउटा सूचना जारी गर्यो  । त्यो सुचनामा जानकारी मात्रै थिएन त्यसको उल्लङ्घन भएमा कडाभन्दा कडा कारबाही गर्ने चेतावनी पनि दिइयो । सरकारले जारी गरेको यो सूचनाको सन्दर्भ हो तीजमा हुने तडकभडक र खर्चिला भोजहरूमा रोक लगाउनु । वास्तवमा नै पछिल्ला दिन तीजमा हुने तडकभडक खपिनसक्नुरूपमा प्रकट हुँदै आएका थिए । हुनेखानेहरूको यस्तो प्रदर्शनीले यो विकृत अवस्था धेरै तल्लो तहसम्म पुगेको थियो । कहिले यता कहिले उता गर्दागर्दै झण्डै महिना दिनसम्म नै भोजैभोज हुने गरेको अवस्थाले यो पर्वलाई यति तडकभडकयुक्त बनाइरहेको थियो कि कतिपय अवस्थामा त पारिवारिक कलहसमेत हुने गरेका समाचारहरू आइरहेका थिए । यो परिस्थितिलाई ध्यानमा राखेर नै सरकारको सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालयले सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ को हवाला दिँदै जारी गरेको सूचनामा तडकभडक नगर्न र गरेमा यो कानुन लागू हुने चेतावनी दियो ।

सरकारबाट यस्तो सूचना जारी भएपछि त्यो लागू हुन्छ भन्ने मान्यता हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको उक्त सूचनामा उद्धृत सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ को उल्लङ्घन गरेर पर्व मनाउने नाममा अनावश्यक तडकभडक र फजुल खर्च गरेको पाइए यो कानुनबमोजिम कारबाही हुने पनि भनिको छ । काठमाडौंलगायत विभिन्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर त्यस्तो कार्यक्रम आयोजना गर्नेलाई कानुनबमोजिम कारबाही गरिने जानकारी गराएका भोलिपल्टैदेखि यता देशका ठूलावडाहरूले त्यसलाई तोड्न थाले । पहिलो त प्रधानमन्त्रीबाटै यो सूचनालाई उडाइयो । प्रधानमन्त्री पत्नीबाटै सरकारी निवासमै डेढ÷दुई सयको हाराहारीमा हुनेगरी तीजको दरखान महिलाहरूलाई निम्ता दिइयो । स्वाभाविक छ, प्रधानमन्त्री पत्नीले दिएको यो भोज सामान्य थिएन । अहिले त्यसको खर्च कसले व्यहोरेहोलान् भन्ने व्यापक चर्चा छ । सरकारी आवासको कार्यक्रम भएको हुनाले खर्च पनि सरकारी कोषबाटै व्यहोरिने होला । पहिलो पनि यस्तै भएको थियो । अहिलेका प्रधानमन्त्रीको यसअघिको कार्यकालमा बालुवाटारका पार्टीहरू निकै चर्चामा रहने गरेका थिए । त्यसबेला तीजको दर मात्र होइन प्रधानमन्त्रीको जन्मदिनका मदिरासहितका पार्टीहरूको खर्च सरकारी कोषबाट तिरिएको भन्ने त्यसबेला नै समाचारमा आएका हुन् । तर त्यसबेला भने माथि उल्लेख भएजस्तो यस्ता सूचना भने जारी हुने गरेका थिएनन् ।

यो वर्ष सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ लागू भएको भनेर सूचना जारी भएपछि पनि उच्चतहबाट यस्तो भोज रोकिएन । बालुवाटारपछि त्यस्तै भव्यभोज आयोजना गर्नेमा राष्ट्रपतिको शीतल निवास अरूभन्दा झन् माथि देखियो । यो कार्यक्रममा निम्ता भने राष्ट्रपति पत्नीको नाममा बाँडिएको थियो । त्यो कार्यक्रममा पूर्व राष्ट्रपति, परराष्ट्रमन्त्री सांसददेखि राजनीतिक दलका नेतृ, उच्चपदस्थ कर्मचारीसमेतको उपस्थिति थियो । उल्लेख भएको सामाजिक व्यवहार (सुधार) ऐनअनुसार हँुदा तडकभडकयुक्त भोजका लागि निम्ता गर्ने मात्र होइन सहभागी हुने पनि दण्डको भागी हुन्छन् । यो सूचनाले यो ऐन कार्यान्वयनमा नै छ भन्ने जानकारी दिएको अवस्था पनि हो । सूचना जारी गर्ने कार्यालयले नै अनुगमन र दण्डको व्यवस्था गर्छ । यी दुई ठूला भोजको अनुगमन होला र ती पदाधिकारीले यसको उल्लङ्घन भएको भए कारबाही होला भन्ने कसैले पत्याउने अवस्था छैन । देशका प्रचलिन कानुनलाई कुन तहबाट कति निरीह पारिएको छ भन्ने यो पछिल्लो उदाहरण हुनुपर्छ । समाजमा सुधार गर्छु, भन्नेहरूले यसो गर्छन् भने अरूबाट झन् के अपेक्षा गर्ने । कोही नकोही त सुधारका लागि उदाहरणीय बन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x