Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबजार अनुगमन देखाउनका लागि मात्र नहोस्

बजार अनुगमन देखाउनका लागि मात्र नहोस्


काठमाडौं । बजारमा अकासिँदो महँगी र गुणस्तरहीन वस्तुको बेचबिखन भइरहेको व्यापक जनगुनासो आउन थाले पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गएको हप्तादेखि बजार अनुगमन थालिएको बताएको छ । यस्तो महँगी र खाद्यवस्तुमा अखाद्यको मिसावट बढीजसो चाडपर्वमा नै हुन्छन् । अब देशमा त्यस्ता पर्वहरूको सुरुवात भइसकेको छ । खासगरी महिलाका लागि सबैभन्दा ठूलो चाड मानिने हरितालिका तीज भर्खर सम्पन्न भएको छ । महिलाका लागि यो पर्वले धेरै महत्व राख्छ । कुनै पनि परिवार तीजको दर खाने, खुवाउने र व्रत बस्ने हुन्छ । त्यसकारण पनि खासगरी खाद्यान्नतर्फका वस्तुहरू यो समयमा बढी खरिदबिक्री हुन्छन् । तीजको दर करिब महिना दिनअघिबाट सुरु हुन्छ । बजारको अनुगमन अझ अघिदेखि भइदिएको भए कतिपय परिवार बजारको अव्यवस्थाका कारण ठगिनबाट जोगिने थिए । तर जे भए पनि र ढिलै भए पनि अनुगमन सुरु भएको बताइएको छ जो सकारात्मक नै हो । यसमा कैफियत भेटिएमा कडाभन्दा कडा दण्डको व्यवस्था भएन भने अनुगमन अघिअघि र कालोबजारी पछिपछि हुन सक्छ ।

प्रायःजसो विगतका अनुभव पनि त्यस्तै छन् । उपभोक्ताको हकहितसँग सम्बन्धित व्यक्ति र संस्थाका अनुसार पनि यस्ता अनुगमन जहिले पनि साना व्यापारीमाथि केन्द्रित हुने गरेका छन् । विभागले गएको आर्थिक वर्षमा देशभर चार हजार दुई सय ६९ पटक गरेको बजार अनुगमनमा सबै साना पसल मात्र रहेका देखिएको थियो । यस्ता अनुगमनमा प्रत्येक घरमा अत्यधिक प्रयोग हुने चामल, गहुँ, आँटा, मैदा, दाल, घ्यु, दूध, पानी, खाने तोरीको तेल, धुलो नुन, चिनी, रातो खुर्सानीको धुलो, मह, मिठाई, बेसार, खुवा, चिया, कफी, सुपारी, हरियो सागसब्जी, फलफूल, मसला, जुस, जाम, वनस्पति घ्यु, हर्लिक्स, च्यावनप्रास, बुस्ट, चाउचाउ, बिस्कुट, पाउरोटीजस्ता दैनिक ठूलो मात्रामा उत्पादन गर्ने उद्योग भने सधैं अनुगमनबाट बाहिर नै पर्ने गरेका देखिन्छ । यीमध्ये बजारमा बिक्रीवितरण भइरहेकोमध्ये एक/दुई वटा पसलमा छापा मारेर त्यस्तै केही वस्तु कैफियतमा पर्लान् । तर स्रोतमै गुणस्तरहीन उत्पादन भइरहेको छ भने ती देशव्यापी फैलिन्छन, जहाँ सधैँ अनुगमन हुन सम्भव पनि नहोला । त्यस कारण उपभोक्ता संरक्षणका पक्षमा निरन्तर अभियान चलाइरहेकाहरूले बजारभन्दा बढी स्रोतमा नै अनुगमन गर्न र कैफियत भेटिए त्यहीँबाट रोक्न र उत्पादन नै बन्द गर्न सुझाव दिने गरेका हुनुपर्छ ।

केही पहिले आफूलाई सर्वाधिक बिक्री हुने भनेर प्रचार गरेको एउटा वस्तु चाउचाउमा मानिसका शरीरलाई गम्भीर हानिनोक्सानी पुर्याउने तत्व पाइएको भनेर बताइएको थियो । सरकारी निकायबाट भएका अनुगमनमा नै उक्त वस्तुमा त्यस्तो कैफियत भेटिएको हो । तर ती वस्तु बजारमा बिक्रीवितरण हुन रोकिए न उत्पादन नै । अझ यसमा डरलाग्दो पक्ष के हो भने त्यस्तो हानिकारक वस्तु यथावत् रहेकै बेला तिनको निर्वाध बजार कायम भइरह्यो । दूध र प्रशोधित खानेपानीको अवस्था पनि त्यस्तै छ । अनुगमनमा कैफियत भेटिन्छन् तर बजारमा बेचबिखन रोकिँदैनन् । त्यस कारण पनि सरकारी अनुगमन देखाउनका लागि मात्रै हुने गरेको आरोप लाग्दै आएको हुनुपर्छ । त्यसै पनि यस्ता वस्तुहरूको गुणस्तर वर्षैभर जाँचिनुपर्ने हो । चाडपर्वमा केही बढी उपभोग होला तर अरू दिन पनि मान्छे भोकभोकै त बस्दैनन् । जब यस्तो कैफियत हेर्ने मन्त्रालय र विभाग नै छ भने त्यसले प्रत्येक दिन अनुगमन गरे के हुन्छ ? संसारभर खाद्यवस्तुमा अखाद्य भोटिए त्यसलाई ठूलो अपराध मानिन्छ । हामीकहाँ खानेपानीमा हैजा फैलाउने किरा भेटिँदा पनि केही रुपैयाँ दण्ड गरेर छाडिन्छ । जस्तो काठमाडौ महानगरले केही समयअघि त्यसै गरेको थियो । अब यस्तो नहोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x