Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभ्रष्टाचारमा परिवार पनि दोषी हुने राम्रो थालनी

भ्रष्टाचारमा परिवार पनि दोषी हुने राम्रो थालनी


काठमाडौं । खासगरी सरकारी सेवामा रहेकाहरू जसरी भए पनि पैसा कमाउने कमाउन लगाउने प्रवृत्तिमाथि अंकुस लाग्नुपर्ने गरी एउटा मुद्दा प्रकट भएको छ । हालै अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट सरकारी कर्मचारी मात्र होइन उनकी आमालाई समेत अभियोगी बनाएर विशेष अदालत काठमाडौंमा एउटा मुद्दा दायर भएको छ । यो घटनाले सरकारी सेवामा रहेका जो कोहीले गरेको भ्रष्टाचारमा कर्ता मात्र होइन त्यसको उपभोग गर्ने परिवार समेत दण्डको भागी हुनुपर्ने एउटा नयाँ अध्यास सुरु भएको मान्नुपर्छ । यस अघिसम्म अकूत सम्पत्ति आर्जन गरेर लुकाउने गरिएको अवस्था लुकाइएका पात्र अर्थात् आफन्तका नाममा रहेको सम्पत्ति जफत मात्र हुन्थ्यो । यस्तो मुद्दा खासगरी सम्पत्ति शुद्धीकरण विभागमार्फत जाने गरेको थियो । अहिले भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा नै सम्बन्धित कर्मचारी र उनको त्यस्तो आर्जनबाट लाभ लिने उनका परिवारजन पनि भ्रष्टाचारी हुनेगरी एउटा नयाँ अभ्यासको थालनी भएको देखिन्छ । त्यसकारण पनि यसलाई एउटा राम्रो थालनी भएको मानिएको हुनुपर्छ  ।

गएको हप्ता अख्तियारबाट सहोदर आमाछोरालाई स्रोत नखुलेको सम्पत्तिबाट करोडौँको जायजेथा जोडेको भेटिएपछि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी विषयमा प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर भयो । त्यसमा अख्तियारले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा गरेको संशोधनबमोजिमको व्यवस्था भनेर उल्लेख गरेको छ, जसमा सरकारी सेवामा कार्यरत इन्जिनियर छोरा र गृहिणी मात्रै रहेकी उनकी आमाउपर उक्त मुद्दा हालिएको हो । इन्जिनियर छोरा यसअघि नै भ्रष्टाचारको मुद्दामा परिसकेका छन् । त्यसबेला उनी मात्रै अभियोगी बनाइएका थिए । यो दोस्रो मुद्दामा भने छोराले भ्रष्टाचार गरेर आर्जित रकमबाट आमाले घरजग्गा खरिद गरेको देखिएको भन्ने आरोप पत्रमा उल्लेख छ । छोराको भ्रष्टाचारजन्य कामबाट प्राप्त गरेको रकममध्ये एक करोड ६१ लाख ३२ हजार एक सय ९४ रूपैयाँ प्रतिवादी आमाको नाममा जिल्ला भक्तपुर साबिक गुण्डु गाविस वडा नं ३ स्थित कि.नं. १३७४ र १३७५ दुई रोपनी आठ आना एक दाम र दुई आना एक पैसा जग्गा २०७९ साल वैशाख २७ गते खरिद गरी जग्गा विक्रेतालाई भुक्तानी गर्न लगाएको भन्ने विवरण मुद्दाको प्रमुख आरोप हो । अख्तियारकै अनुसार घुस लिएको रकमबाट बाँकी रहेको रकम जग्गा खरिद गर्दा राजस्वलगायतमा खर्च गरेको भन्ने खुलेको छ ।

छोरा प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ‘घ’ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य घुस/रिसवतबापत प्राप्त गरेको रकमको स्रोत लुकाउने कलुषित मनसाय राखी उक्त कसुरजन्य कार्यको सजाय छल्न सकिन्छ भन्ने मनसायका साथ त्यसरी प्राप्त गरेको सम्पत्तिको प्राप्तिको स्रोत तथा अधिकार बदल्न, स्वामित्व र स्वरूप परिवर्तन गर्न आमाको नाममा जग्गा खरिद गरेको पुष्टि भएको भनिएको छ भने यस्तो काममा आमा समेतको मिलेमतो रहेको बताइएको छ । त्यसकारण आमासँग बिगोको आधा जरिवाना हुने सजाय माग भएको छ । अख्तियारको माग दाबीमा उनीहरू दुवैलाई एक करोड ८५ लाख रूपैयाँ कायम गरी सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय गरी पाउँ भनिएको छ । यसको अर्थ हो भ्रष्टाचार गर्ने छोरा र त्यस्तो रकमबाट सम्पत्ति आर्जन गर्ने आमा दण्डका भागी हुन् ।

यद्यपि अदालतले कस्तो फैसला गर्छ भन्ने आफ्नो ठाउँमा छ तर अब आफ्नो जागिरवालाको आम्दानीको स्रोत परिवारले पनि खोज्नुपर्ने, त्यसो नभए आफू पनि भ्रष्टाचारी ठहरिनुपर्ने अवस्था आउन सक्छ । यसमा सचेत हुनु जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x