Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआरजुलाई स्पष्ट कुरा गर्ने परराष्ट्रमन्त्रीको दर्जा !

आरजुलाई स्पष्ट कुरा गर्ने परराष्ट्रमन्त्रीको दर्जा !


काठमाडौं । संसद्का दुई ठूलादलको गठबन्धनबाट बनेको सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा छोटै समयमा कम्तीमा परराष्ट्र मामिलामा पोख्त पात्रका रूपमा चिनिन थालेको पाइयो । त्यसै पनि परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने महिलामा उनी एक पात्र हुन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनासाथ सबैभन्दा पहिले छिमेकी देश भारतबाट आफ्नो विदेश यात्रा सुरु गरेकी थिइन् । भारतमा उनको जस्तो स्वागत भयो त्यो सबैतिर चर्चाको विषय बनिरहेकै छ । कतिपयले त यो भ्रमण कार्यकारी प्रमुख प्रधानमन्त्रीस्तरको रहेको पनि माने । अहिलेका प्रधानमन्त्री ओली उनकै बोलीका कारण त्यति रुचाइँदैनन् । त्यसको उदाहरण उनले अहिलेसम्म भारत भ्रमणका लागि निम्ता समेत पाएका छैनन् । यसअघि जो प्रधानमन्त्री भए पनि भारतीय प्रधानमन्त्रीबाट कार्यकाल सफलताको शुभकामनासहित यस्तो निम्ता दिइन्थ्यो । प्रधानमन्त्रीले निम्ता नपाएका अपवादचाहिँ छन् नै । अहिलेसम्म ओली पनि त्यही अपवादमा परेको देखियो । प्रधानमन्त्री ओलीको साटो परराष्ट्रमन्त्री राणाले त्यहाँका विदेशमन्त्रीबाट औपचारिकरूपमा नै निम्ता पाइन् ।

अर्को ओलीका लागि इज्जत बचाइदिने काम पनि राणाले नै गरेको भन्ने चर्चा कूटनीतिक क्षेत्रमा चर्चित छ । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्र संघको ७९औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहँदाको सन्दर्भ हो यो । त्यसबेला ओलीले भारतीय प्रधानमन्त्रीसँग साइट भेटघाट पनि नहुने हो कि भन्ने एक प्रकारको शंका बढी रहेको थियो । ओलीको यो पछिल्लो कार्यकालको पहिलो लामो भ्रमणको कार्यक्रममा यस्तो भेटघाटको कतै उल्लेख भएको थिएन । त्यसको कारण हो भेटघाट नै नहुने स्थिति आउनसक्ने अवस्था । जानकारहरूका अनुसार ओली–मोदी भेटघाटको यस्तो चाँजोपाजो मिलाउनेमा आरजुको भूमिका महत्वपूर्ण रह्यो ।

यदि त्यस्तो भेटघाट हुन नपाएको भए यसको सन्देश राम्रो हुने थिएन । परराष्ट्रमन्त्री राणाले आफ्नो बोलीको प्रभावबाट त्यो स्थिति आउन नपाएको धेरैको बुझाइ छ । यो मात्र होइन यस भ्रमणक्रममा आरजुले जसजससँग भेटघाट गरिन त्यसमा नेपालको कुरा स्पष्टसँग राख्ने परराष्ट्रमन्त्रीका रूपमा आफ्नो पहिचान बनाएकी भनेर कूटनीतिज्ञहरूले बुझेका पाइयो । बहुपक्षीय र दुईपक्षीय भेटघाट र वार्तामा समकक्षी र त्योभन्दा उच्चस्तरमा समेत उनले आफ्नो छाप पारेको भन्ने नै भनाइ आएको छ । उनले भ्रमण गरेका देशमा समकक्षी मात्र होइन त्यहाँका राष्ट्रपतिसँग समेत भेटवार्ता भएका समाचार आएका थिए ।

पछिल्लो समय परराष्ट्रमन्त्री डा राणाले राष्ट्रसंघीय उपमहासचिव तथा ‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता गरेकी थिइन् । भेटका क्रममा उनले महिला सशक्तीकरणका क्षेत्रमा यूएन वुमनले विश्वमा पुर्याउँदै आएको योगदानको प्रशंसा मात्रै गरिनन् त्यसलाई नेपालको भूमिकासँग पनि जोडिन । उनको यो भ्रमण दर्जनभन्दा बढी देशमा भएको थियो । न्युयोर्कमा नै विभिन्न देशका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता भएका विवरणहरू आएका छन् । पछिल्लो समय इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै गरिएको एउटा सम्झौता चर्चामा आएको छ । यसमा सर्वसाधारणले लाभ लिनेगरी भिसा निःशुल्क गर्ने पनि पर्छ ।

प्रधानमन्त्रीसँगको भ्रमणमा परराष्ट्रमन्त्रीले राखेका कुराप्रति ध्यान तानिनु सम्बन्धित मन्त्रीको आफैँमा एउटा पहिचान मानिन्छ । उनको विशेषता नै आफ्नो कुरा अरूलाई बुझाउनेरूपमा देखियो । त्यसका प्रभाव विस्तारै प्रकट हुँदै जालान् । कूटनीतिक क्षेत्रका सफलताअसफलता तत्कालै देखिने कुरा होइनन् । त्यसले समय लिन्छ । अहिले त्यस्तो प्रकारले देशको प्रस्तुति भइरहेको छ भन्ने हेर्ने मात्र हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x