Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीययुद्धग्रस्त देशमा मान्छे पठाउन किन हतारो ?

युद्धग्रस्त देशमा मान्छे पठाउन किन हतारो ?


काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आधार मान्ने हो भने अहिले मध्यपूर्वका देशहरू तनावपूर्ण अवस्थामा छन् । खासगरी इजरायल त वरिपरिका छिमेकी देशबाट घेराउमा नै छ । यो देश एकैसाथ हिजबुल्लाह, हमास, हुथीजस्ता विद्रोही समूह र लेबनान, सिरिया र इरानसँग लडिरहेको छ । यद्यपि इजरायलमा के–कति क्षति भएको छ भन्ने त्यति जानकारीमा आएको छैन । यसै हप्ता न्युयोर्क टाइम्सले सन् १९६७ को अरब–इजरायलबीच पछिल्लो समय सबैभन्दा ठूलो युद्ध सुरु भएको जानकारी दिएको छ । पछिल्लो समय जारी रहेको यस्तो युद्धको सुरुवात भने गत वर्ष अक्टोबर ७ देखि भएको हो जसमा इजरायलमा पढ्न गएका १० नेपालीको मृत्यु भयो भने युद्धको प्रारम्भ गर्ने हमासको बन्दी भएर एकजना विद्यार्थी अझै बेपत्ता छन । उता रुस र युक्रेनको युद्धमा सयभन्दा बढी नेपालीको मृत्यु भइसकेको छ । यस्तो बेला युद्धग्रस्त देशमा आफ्ना नागरिकलाई पठाउनु के–कति उचित हुन्छ भनेर बहस पनि चलिरहेको छ ।

यही बीचमा सरकारले इजरायलमा जान श्रम स्वीकृति दिएको देखियो । सरकारको नेपाली श्रमिकलाई इजरायल पठाउने निर्णय यस्तो बेला भयो जुनबेला त्यहीँ रहेका नेपाली क्षणक्षणको तनावमा छन् । सामाजिक सञ्जालदेखि विभिन्न माध्यमहरूमा आएका त्यहाँका नेपालीको प्रतिक्रियाअनुसार पहिला–पहिला पनि मोबाइलमा आपतकालीन सूचना आउँथ्यो तर पछिल्ला सूचनाहरू डरलाग्दा देखिन थालेका छन् । त्यसमा सामान्य बंकरमा नभई अन्डरग्राउन्ड नै जान भनिएका हुन्छन् । नेपालीले दिएका जानकारीअनुसार जमिनमुनिको बंकरमा जान सूचित गरिएको अवस्थालाई निकै गम्भीर मानिन्छ । यसले कुनै पनि क्षण निकै ठूलो संकट आउन लागेको बुझाउँछ । त्यो सूचनाअनुसार बंकर पुगेको दुई मिनेटमै इजरायलको आकाशमा मिसाइल आउन थाले । यो घटना विगतको भन्दा निकै डरलाग्दो थियो । हो पनि, यस्ता मिसाइलले मान्छे चिन्दैन । आधुनिक जमानामा कहिल्यै युद्ध नलडेको नेपाल पछिल्लो दिन आफ्नो देशसँग सरोकार नै नरहने देशहरूको युद्धको कारण पीडित भइरहेको छ । पछिल्लो समय नेपालले रुसका लागि पनि श्रम स्वीकृति दिन लागेकोमा व्यापक आलोचना भएको थियो । त्यसलाई सरकारले सुनेन । यतिबेला इजरायलका लागि श्रम स्वीकृतिको विषय गम्भीररूपले उठेको छ । यस्तो अवस्थामा यी र यस्ता देशमा जान स्वीकृति दिनु के–कति उचित होला सोच्नुपर्ने हुन्छ ।

पछिल्लो समय द्वन्द्वग्रस्त मात्र होइन द्वन्द्व झन्झन् बढिरहेको मुलुकमा पर्छ इजरायल । त्यो मुलुकमा काम गर्न जानका लागि गएको हप्ता मात्रै एक हजार छ सयभन्दा बढी युवालाई श्रम स्वीकृति दिएको वताइएको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो १४ महिनामा द्वन्द्वग्रस्त मुलुकहरू इजरायल, रसिया र लेबनान जानका लागि एक हजार छ सय १० जनाले श्रम स्वीकृति पाएका छन् । त्यसमा रसियाका लागि चार सय ७६ जना र लेबनानका लागि ७१ जनाले श्रम स्वीकृति पाएको बताइएको छ । सरकारले एक सय नौ वटा मुलुकमा संस्थागत र एक सय ७८ वटा मुलुकमा व्यक्तिगतरूपमा श्रम गर्न जान अनुमति दिने गरेको थियो । खासगरी यतिबेला मध्यपूर्वका देश धेरै तनावमा छन् । उनीहरूबीच हतियार युद्धबाटै एकले अर्कालाई सिध्याउने होड चलेको र त्यो झन्झन् बढिरहेको छ ।

देशभित्र रोजगारीको व्यापक अभाव रहेका बेला साधारण नागरिक आकर्षक रोजागारीमा लोभिनु अस्वाभाविक होइन । तर उनको जिउज्यानको जोखिमका बारे राज्य चनाखो हुनुपर्छ । अहिले श्रमस्वीकृति दिइएको इजरायलको रोजगारी आकर्षककै छ । तर त्यो नागरिकको ज्यानभन्दा ठूलोचाहिँ होइन । पहिले सीमित शक्तिसँग कायम रहेको युद्ध यतिबेला झनै विस्तार हुँदैछ । यो पक्षलाई सरकारले हेरेजस्तो देखिँदैन, जो आफैँमा गम्भीर हो ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x