Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकृषिको क्षतिप्रति सरकार गम्भीर बनोस्

कृषिको क्षतिप्रति सरकार गम्भीर बनोस्


काठमाडौं । गएको हप्ता देशैभर फैलिएको भीषण बाढीपहिरोले कुनै क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुर्याएको छ भने त्यो कृषिमा देखियो । यो एउटा क्षेत्रमा मात्रै आठ अर्बको हाराहारीमा क्षति पुगेको छ । यो तीनदिने वर्षाको प्रकोप सन्दर्भ हो । त्यसपछि पनि वर्षा अविरलजस्तै रूपमा कायम रह्यो । त्यसले पार्ने प्रभाव झन् बढी हुने आकलन गरिएको छ । उल्लेखित अंकको क्षति यसकारण पनि भयावह भयो कि यसमा नित्तान्त निजी सम्पत्ति नष्ट भएको छ । जस्तो ६० हजार हेक्टरको धानबाली नष्ट भयो । २५ हजार बढीको संख्याका पशुपन्छी बगेर मरे । मानिसको घर र घरबारी तथा कमाइखाने खेत नष्ट भएका विवरण अझै आउन बाँकी होलान् । कृषि मन्त्रालयका अनुसार क्षतिको यो विवरण प्रारम्भिक मात्र हो । देशभरबाट विवरण अद्यावधिक हुने क्रम जारी नै रहेकाले अंकमा देखिने क्षतिको विवरण जोडिन बाँकी नै रहेको वताइएको छ । ६० हजार हेक्टरमा रहेको धानबाली नष्ट भई साढे तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको पाइयो । ६० हजार हेक्टरमा रहेको धानबाली किसानका निजी सम्पत्ति हुन् । सार्वजनिकभन्दा निजी क्षति कुनै पनि व्यक्ति परिवारका लागि ठूलो नोक्सानदायी हुन्छ ।

यद्यपि क्षतिको कुरा गर्दा सार्वजनिक क्षतिको अंक कृषिभन्दा बढी भएका छन् । जस्तो अघिल्लो बिहीबारदेखि शनिबारसम्म परेको देशव्यापी अविरल वर्षाले १३ वटा पुल र २१ किलोमिटर सडक बगाएको देखिएको छ । यसलाई रकममा तुलना हुँदा राज्यलाई २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको आकलन छ । सडक विभागका अनुसार अवरुद्ध भएको पृथ्वी लोकमार्ग, काठमाडौं–हेटौँडा र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक बल्लबल्ल सञ्चालनमा आउन सकेका छन् । तर काठमाडौंबाट पूर्वजोड्ने बीपी लोकमार्ग खुल्न सकेको छैन । सडक विभागका प्रवक्ताका अनुसार बीपी लोकमार्गका विभिन्न ठाउँमा पक्की सडक र पुल बगाएका कारण अस्थायीरूपमा सञ्चालनमा ल्याउन पनि कठिन भएकाले तत्काल खुल्न सक्ने सम्भावना कम भएको छ । सो सडकमा एक हजार चार सय मिटर सडक नै भासिएको अवस्था छ । पृथ्वी लोकमार्गमा अलपत्र परेका यात्रुलाई आपतकालीनरूपमा सुरुङमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । सम्पन्न हुन केही बाँकीरहेको पृथ्वीलोकमार्गको यो सुरुङमार्ग अहिले वैकल्पिक मार्ग बन्यो । तर यसलाई परिचालन गर्न ढिलो भएका कारण यात्रुबाहक बस झ्याप्ले खोलाको पहिरोमा पुरिए । त्यसमा कतिजनाको ज्यान गयो भन्ने अझै पत्तो लागेको छैन । यही क्रमअनुसार पछिल्लोपटकको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा साढे २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अंक देखिएको हो । भौतिक तथा पूर्वाधार मन्त्रालयका अनुसार राष्ट्रियस्तरका सडक र पुलमा मात्रै दुई अर्ब ६७ करोडको क्षति पुगेको अवस्था छ ।

प्राकृतिक प्रकोपबाट कृषिको क्षेत्रमा भन्दा भौतिक पूर्वाधार क्षेत्रमा बढी क्षति पुर्याएको निश्चित हो । तर यसको क्षतिपूर्ति राज्यले गर्छ । यो कुनै व्यक्तिको दायित्वमा पर्दैन । तर माथि उल्लेख भएको कृषिक्षेत्रको नोक्सानी भने व्यक्तिले सहनुपर्छ । त्यसकारण पनि कुनै व्यक्तिका लागि यो ठूलो क्षति मानिएको हो । कृषि क्षेत्र त्यसै पनि अवहेलित छ । कृषकले न भनेका बेला मलखाद र अन्य सुविधा पाउँछन् । त्यस्तो बेला प्राकृतिक प्रकोपबाट पनि उनीहरू नै बढी पीडित भएको अवस्था छ । यस्तो बेला राज्यले उनीहरूको पीडाको सम्बोधन गर्नुपर्छ । सार्वजनिक सडक निर्माणभन्दा पनि गाँसबास गुमाएकाहरूलाई जीवनका लागि आशा दिलाउन सकियो भने बल्ल राज्यको उपस्थिति भएको मानिन्छ । अब राहतको चरण सुरु भएको छ । यसप्रति सरकारको ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x