Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयबजारले सधैँ लुटिरह्यो उपभोक्ता

बजारले सधैँ लुटिरह्यो उपभोक्ता


काठमाडौं । ठूलो चाडपर्वको मुखमा आएको ठूलो बाढी पहिरोको विपत्बाट जोगिएका उपभोक्ताहरूले महँगीको मार भने झनै तीव्रताका साथ सहनु पर्यो र परिरहेको छ । दशैँअघि सरकारले फलफूल र तरकारीलगायतका खाद्यवस्तुको न्यूनतम मूल्य तोक्ने बताएको थियो । त्यस्तो भइदिएको भए उपभोक्ताहरू यसरी ठगिने थिएनन् । केही सीमित वस्तुहरूको सुपथमूल्यले केही राहत भने दिएकै हो । त्यसलाई नै सिको मान्ने हो भने उपभोग्य वस्तुको मूल्य तोकिँदा झन् बढी राहत पुग्ने थियो । मूल्य तोकिएको आधारमा उपभोक्ताहरूमा एकप्रकारको सुरक्षित भावना आउँछ । अरू जेहोस् मूल्य तोकिँदा बजारमा एकरूपता आउँछ । जस्तो, कालिमाटी तरकारी बजारमा कुनै दिनको भाउ भनी पत्रपत्रिकामा जसरी आइरहेको हुन्छ, यता तिनै वस्तु खुद्रामा खरिद गरिँदा पाँच गुनासम्म महँगो पर्ने गरेको अवस्था छ । तरकारी बजारलाई मात्र जथाभावी मूल्य लिन नियन्त्रण गरिने हो भने प्रत्येक घरको चुलो सस्तिने थियो । सरकारले कम्तीमा तरकारी र फलफूल समूहका वस्तुको मूल्य टाँस गर्ने भनेर बताए पनि दशैँमा त्यस्तो हुन सकेन ।

नेपाल खुद्रा व्यापार संघले गएको एउटा अध्ययनमा अघिल्लो वर्षको तुलनामा के–केमा कति मूल्य बढ्यो भनेर देखाएको छ । त्यसलाई हेर्दा बजार अस्वाभाविक मूल्यवृद्धिको कुन हदसम्म चपेटामा परेको भन्ने देखिन्छ । खुद्रा व्यापार संघले दुई वर्षको तुलना यसरी गरेको छ । जस्तो, २०८० असोज २१ मा ठूलो गोलभेँडाको मूल्य प्रतिकेजी ३८ रुपैयाँ थियो । २०८१ असोज २१ मा त्यसको मूल्य १४५ रुपैयाँ पुगेको पाइयो । यो भनेको सय रुपैयाँभन्दा बढी अन्तर हो । त्यस्तै, सुकेको प्याज अघिल्लो वर्ष प्रतिकेजी ७४ रुपैयाँ थियो भने अहिले एक सय १५ मा खरिदबिक्री भइरहेको छ । अघिल्लो वर्ष लाम्चो भान्टा प्रतिकेजी ३५ रुपैयाँ थियो । यो वर्ष ८५ रुपैयाँ कायम भएको देखियो । २०८० असोजमा स्टिम जिरा मसिनो चामल प्रतिकेजी ९५ पथ्र्यो भने यो वर्ष त्यही चामलको मूल्य एक सय १० रुपैयाँ पुगेको छ । त्यस्तै, तराई ताइचिन चिउरा एक सय पाँचबाट एक सय २० र सनफ्लावर तेल दुई सय पाँचबाट दुई सय २० पुगेको छ । यी वस्तुको यो हदसम्म मूल्य बढ्नुपर्ने कारण भने छैन । दशैँताका परेको झरीले यातायातमा केही कठिनाइ भने आइपरेकै हो । तर उल्लेखित मूल्य भने यो झरी वर्षाअघि नै त्यसरूपमा कायम भएको थियो । सरकारले मूल्य तोकिदिएको भने यस रूपको मनपरी हुने अवस्था आउने थिएन । उपभोक्ता आफैँले त्यसको खबरदारी गर्ने थिए ।

वास्तवमा नै यो पटकको दशैँमा सरकारले अनुगमन गर्छु त भनिरह्यो तर गरेन । त्यसै कारण पनि उपभोग्य वस्तुको मूल्य अस्वाभाविकरूपमा वृद्धि भएको हुनुपर्छ । दशैँकै बेला हवाईभाडा यतिविधि महँगो भयोे जो अनुमान नै गर्न नसकिने अवस्थाको थियो । जस्तो पहिले पाँच हजारको भाडादर रहेको ठाउँमा १५ हजारसम्म भाडा असुल गरियो । त्यसमाथि विमानमस्थलमा नै पाँच÷सात घण्टाको प्रतीक्षा गर्न लगाइएको घटनाले उपभोक्ता कति कष्टकर अवस्थाबाट गुज्रिए भन्ने अनुमान गर्न सकिन्छ । सडकमार्ग पनि त्यस्तै रहे । सडकमार्गको अवरुद्धता यात्रु ठगिने निहुँ बन्यो । जुनबेला नागरिकले सरकार खोज्छन् त्यही बेला सरकारको उपस्थिति हुन पाएन । यातायातजस्तै रह्यो तरकारी बजार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार नै पनि तरकारीको मूल्य न्यूनतम ५० प्रतिशतले वृद्धि भएको देखियो । उपभोक्ताले महँगीले घर खर्च धान्नै मुस्किल परेको गरिहनैप¥यो । किन मूल्य बढ्यो ? अस्वाभाविक मूल्य बढाउनेलाई के भयो ? जनतालाई केही थाहा हुन्न भन्ने आमजनताका प्रतिक्रिया आइरहेका छन् । सरकार किन उत्तरदायी भएन भन्ने आमनागरिकका प्रश्नले उत्तर पाउनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x