Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअपराधलाई संरक्षण गर्ने गलत अभ्यास

अपराधलाई संरक्षण गर्ने गलत अभ्यास


काठमाडौं । संसद्को एउटै कार्यकालमा दुईपटक उपप्रधान तथा गृहमन्त्री भएका व्यक्ति रवि लामिछाने त्यस्तो प्रहरीको हिरासतमा छन् जसको नेतृत्वले केहीअघि मात्र सिङ्गो संसद्लाई ढाँटेर यिनलाई निर्दोश करार गरेको थियो । यति मात्र होइन तत्कालीन प्रधानमन्त्रीले यिनै प्रहरी प्रमुखको हवाला दिँदै यी व्यक्ति निर्दोष रहेको भनेर बरू उनीमाथि शंका गर्ने सांसदहरूको नैतिकतामाथि नै प्रश्न उठाएका थिए । यी सबै कुराका अभिलेख संसद्मा रेकर्ड भएका छन् । गएको चैत्र ६ गतेका दिन तत्कालीन प्रधानमन्त्रीले संसद्मा गरेको लामो सम्बोधन त्यसको साक्षी हुनुपर्छ । सहकारी ठगीमा कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले पनि पटक–पटक त्यसबेलाका प्रधानमन्त्रीको भनाइलाई आफू जोगिने माध्यमका रूपमा प्रयोग गर्दै आएका थिए । कतिसम्म भने हालका प्रधानमन्त्री जसले उनलाई अहिले पक्राउ गर्न आदेश दिए उनैले एउटा संसदीय छानबिन समिति गठन गर्न समेत तीन महिनासम्म बाधा पुर्याए । अहिले यिनै प्रहरी प्रमृुख र तिनै नेता प्रधानमन्त्री भएका बखत सम्बन्धित व्यक्ति चारवटा गम्भीर अपराधको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका छन् ।

हाल हिरासतमा रहेका यी उपप्रधान तथा गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप त्यतिबेला नै लागेको हो, जुनबेला उनलाई दोहोर्याएर फेरि त्यही पदमा राख्न त्यसबेलाको गठबन्धन तयार भयो । त्यो पदमा उनलाई स्थापित गराउन ज–जसले त्यसबेला जस्तो–जस्तो हाल झूटा ठहरिँदै गएका अभ्यासहरू गरे त्यसबापत उनीहरू पनि दण्डित हुनुपर्दैन ? भन्ने अहिले आमतहमा प्रश्न उठ्न थालेको छ । त्यसमा पर्नेमध्येका एक हुन् हालका प्रहरी प्रमुख जो त्यसबेला पनि त्यही पदमा थिए । त्यसबेलाका महान्यायधिवक्ता त अहिले पदमा छैनन् तर उनी पनि राज्यको वरिष्ठ अधिवक्ताको हैसियत उपभोग गरिहेका छन् । उनले नै त्यसबेला मुलुकको महान्यायाधिवक्ताको हैसियतबाट हाल हिरासतमा रहेका यिनै व्यक्ति देशभरका कुनै पनि ठाउँमा कसुरदार देखिएका छैनन् भनेर पत्र नै लेखेका थिए । कास्की प्रहरीको हिरासतमा रहेका यी व्यक्तिले गरेका सहकारी ठगीको कसुरमाथि उल्लेख भएको विवरण ती सबैपछि उत्पन्न भएको अवस्था होइन । त्यो पहिले नै कायम थियो र सार्वजनिक पनि भइरहेको थियो । ठगीको यस्तो कसुरविरुद्ध कारबाही होस् भनेर दिनैपिच्छे संसद्का बैठक अवरोधमा परिरहेका थिए । त्यस्तो बेला राज्यका यति उच्च र अझ यस्ता कुराका सूचनाहरू पाइपाइरूपमा राख्नुपर्ने निकायका प्रमुखहरूले त अन्जान रहन मिल्दैन थियो । तर भयो त्यस्तै । यति कुरा सार्वजनिक भएपछि ती पदाधिकारीको केही जवाफदेही रहँदैन ? यो प्रश्न सामान्य मानिन नहुनुपर्ने हो ।

तिनै प्रहरीको नेतृत्वमा लामिछाने पक्राउ परेका छन्, यो सत्य हो  । प्रहरीले नै उनीमाथि सहकारी ठगी, संगठित अपराध, किर्ते र कालोधनको कारोबार गरेको आरोप लगाइएको अवस्था छ । यही आरोपमा अदालतले पक्राउ गर्न र हिरासतमा राखेर थप अनुसनधान गर्न आदेश दिएको छ ।

लामिछानेले गरेको कसुर संगठित अपराधभित्र पर्छ भनेर नै कास्की अदालतले पक्राउपुर्जी जारी गरेको भन्ने बुझ्न सकिन्छ ।

यी विवरणले मुलुकको खासगरी आपराधिक घटनाहरूमा कुन हदसम्म खेलवाड हुँदोरहेछ भन्ने बुझ्न पर्याप्त होला । केही पहिले एकजना प्रधानमन्त्रीले केवल संसद्बाट विश्वासको मत लिन दोहोरो राहदानी भएका व्यक्तिलाई मुद्दा चल्दैन भनेर आफ्ना महान्याधिवक्तामार्फत माफी दिएको कुरा आपराधिक गतिविधिका बारेमा चर्चा हुँदा सधैँ नजिर जस्तो हुनेगरी दोहोरिइरहेकै छ । पछिल्लोपटक समाजमा परिवर्तन ल्याउँछु भन्नेहरूबाट त्यस्तै विशेष सुविधा उपभोग गर्न खोज्दाका परिदृश्यहरू यसरी प्रकट भइरहेका छन् जो असल समाजका लागि खराब नै हुन् । अब यस्तो नहोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x