Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयलगानीको क्षेत्रमा विश्वास गुमाउँदै सरकार

लगानीको क्षेत्रमा विश्वास गुमाउँदै सरकार


काठमाडौं । नयाँ सरकार बन्दैका क्रममा सेयर बजारलाई देखाएर आफूप्रति आमसमुदायको व्यापक समर्थन रहेको भन्ने सरकारको बुझाइ र मान्यता अरू घटनाहरूले भने खण्डित गर्दैछन् । निश्चय नै अहिलेको सरकार संसद्का दुई ठूला दलको गठबन्धनबाट बनेको हो । यो सरकार बन्दा नै यसको आयु पूरा समय रहने भनिएको छ । यद्यपि व्यक्ति फेरिए पनि यी दुई दलको गठबन्धन कायम रहने र त्यसले स्थिरतामा आँच आउँदैन भन्ने स्थापित भएपछि त्यसको पहिलो प्रभाव सेयरबजारमा पर्यो । त्यसैलाई देखाएर अर्थमन्त्रीले अर्थतन्त्रमा व्यापक सुधार आएको भनी त्यसपछिका दिनमा व्यापक प्रचार पनि गरे । सरकारका लागि सेयरबजार आफ्नो हैसियत देखाउने एउटा ठूलो माध्यम पनि बन्यो । कतिसम्म भने अर्थमन्त्री राजस्वका निकायहरूमा भन्दा नेप्सेका कार्यालयको भिजिट गर्न थाले । तर सरकारको सय दिन पुग्दा नपुग्दै अर्थतन्त्र भने झन्झन् खस्किँदै गएका चित्रहरू प्रकट हुन थालेको देखियो । त्यसको पहिलो दृश्य हो ऋणको व्याजदर घटेर एकल अंकमा झरे पनि बैंकहरूमा कर्जा माग झन्झन् घट्न थाल्नु ।

व्याजदर घटे पनि ऋणप्रवाह नहुनुलाई सरकारले भने गम्भीर मानेको देखिएन । असोज महिनाको अन्यतिर बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाका लागि फेरि व्याजदर घटाए । चालू वर्षको बितेका तीन महिना निरन्तर व्याजदर घटाइरहिएको छ । ब्याजदर कर्जामा मात्र होइन निक्षेपमा पनि घटिरहेको छ, जसले बैँकमा पैसा राख्न सर्वसाधारणले हिच्किचाउनुपर्ने अवस्था आउन सक्छ । यसबाट उत्पन्न हुने समस्या पनि सामान्य नहोलान् । तर अहिले भने यता निक्षेप बढिरहेको छ तर उता लगानी भने भइरहेको छैन । यस्तो स्थिर सरकार बनिसकेको र त्यसले तीन महिना गुजारीसक्दा पनि अपेक्षितरूपमा कर्जाको माग बढेको देखिएन । व्याजदर घटेपछि सेयर कारोबारमा भने लगानी बढेको अवस्था छ तर त्यो लगानीले केही राजस्व बढाउनुबाहेक र सरकारले आफूप्रति आमतहमा विश्वास बढेको भनेर देखाउनुबाहेक अरू क्षेत्रमा खासै प्रभाव पार्दैन । वाणिज्य बैंकहरूले पछिल्लो समय प्रकाशन गरेको कात्तिक महिनाका लागिको व्याजदर सूचीअनुसार कात्तिकमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत व्याजदर शून्य दशमलव २४५ प्रतिशत विन्दुले घटेको छ । यो असोजको तुलनाका आधारमा हो । असोजमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर औसत छ दशमलव ३९ प्रतिशत थियो । कात्तिकका लागि यो व्याजदर घटेर औसत छ दशमलव १५ प्रतिशतमा कायम भएको छ । यसले पनि लगानी बढ्ने देखाउँदैन । विगत अर्थात् अघिल्ला महिनाहरूमा पनि यस्तो व्याजदर घट्ने क्रम चलिरहेकै थियो ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार निक्षेपको व्याजदर घटेपछि ऋणको पनि निरन्तर घटिरहेको अवस्था छ । गत भदौमा वाणिज्य बैंकहरूको कर्जाको औसत व्याजदर नौ दशमलव ५२ प्रतिशत थियो । अघिल्लो वर्ष अर्थात् ०८० भदौमा यस्तो व्याजदर र १२ दशमलव २३ प्रतिशत थियो । यस्तो विन्दुबाट करिब साढे तीन प्रतिशत हुनेगरी व्याजदर घट्नु सामान्य कुरा होइन । यो पछिल्लो दर तीन वर्षयताकै कम हो । जस्तो ०७९ फागुनमा व्याजदर औसत १३ दशमलव शून्य तीन प्रतिशत थियो । ऋणको योरूपमा व्याजदर घटे पनि कर्जा माग भने बढेको देखिएन । कर्जा माग बढाउनकै लागि व्याजदर घटाइएको बुझ्न सकिन्छ । उद्योगी व्यवसायीका अनुसार पनि ठूला दल नेपाली काँग्रेस र एमालेको गठबन्धनमा सरकार बन्दा राजनीतिक स्थिरता हुने भएकाले सरकारको ध्यान आर्थिक गतिविधि चलायमान बनाउनेतर्फ जान्छ भन्ने अपेक्षा थियो । तर नयाँ सरकार बनेको करिब तीन महिनासम्म पनि सुधारका लागि प्रभावकारी काम भएको देखिएन ।

यो भनेको उद्योग र निर्माण क्षेत्रले व्यवसाय विस्तारका योजना बनाउन नसकेको अवस्था हो । सरकारको आकारमा योभन्दा बलियो स्थिति अर्को हुँदैन । त्यस्तो बेला पनि उद्योग र निर्माण क्षेत्र उत्साहित भएन भने त्यसलाई सामान्य मान्न मिल्दैन । यो ठाउँमा सरकार गम्भीर बनोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x