Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमधुमासको आत्मरति !

मधुमासको आत्मरति !


काठमाडौं । सरकार काम गर्नेभन्दा के कारणले काम गर्न पाइनँ भन्ने कुरा बताउन सय दिन पर्खिँदो रहेछ भन्नेजस्तो यो पटक पनि देखियो । पछिल्लो समय ठूला दुई दलको गठबन्धनमा आलोपालो सरकार चलाउने सम्झौताअनुसार गएको ३० असारमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । एमाले संसद्को दोस्रो ठूलो दल हो । उनको दुई वर्षे कार्यकाल हुने भनेर सम्झौतामै लेखिएको छ । ओलीको सरकार बन्दा संसद्को कार्यकाल साढे तीन वर्षको थियो । त्यसमा अबको दुई वर्ष ओलीको हुने र त्यसपछिको चुनावसम्मको बाँकी समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चलाउने भन्ने किटानी नै भएको छ । यी दुईवटा दल मिल्दा दुईतिहाइको हाराहारी हुन्छ । यस्तो बेला सरकार ढल्ने कुरा हुँदैन थियो । तर ओली सरकारले आफ्नो मधुमासको उपलब्धि बताउँदाको सम्बोधनमा भने प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइने गरेको भनेर अर्को हल्ला चलाए । अरूले सुन्दा उनको भनाइको तात्पर्य यस्तो थियो जो वास्तवमा नै सरकार त धेरै काम गर्न चाहन्थ्यो तर सरकार ढल्ने हल्ला यसरी चलाइयो जसले गर्दा सरकारले काम गर्नै पाएन ।

उनकै शब्दमा सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्नेजस्तो अफवाहहरू फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । सरकारले एक सय दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि विरोध सुरु गरियो । यसको कारण थियो– देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरू बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहसनहस पार्ने र नयाँ उद्योग स्थापना हुन नदिने । अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर हाम्रो राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको छ ।

प्रधानमन्त्रीले आफ्नो कार्यकालको सय दिनमा निकै जोड दिएर सर्वसाधारणलाई जानकारी गराएका यी कुरा वास्तवमा नै गम्भीर होलान् । तर प्रधानमन्त्रीले भनेजस्तो यस्तो वातावरण भने देखिएको थिएन । तर यही वातावरणले देशमा जनअपेक्षाअनुसार काम हुन नपाएको भन्ने दाबी गर्न खोजियो । अर्को, यस्तो बलियो सरकारले आफूले काम गर्न नपाएको भनेर सडक तथा हवाई यातायातमा भएका दुर्घटनालाई पनि दोष दिएको देखियो । जस्तो, प्रधानमन्त्रीले सय दिने सम्बोधनमा जे भने त्यो पनि काम गर्न नसकेको एउटा बहाना नै हुनुपर्छ । ती दुर्घटनाका प्रसंग यसरी उल्लेख भएका छन्– जब म नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै थिएँ, त्यसको केही दिनअघिदेखि नै हामी त्रिशुली नदीको सिमलतालमा तीर्थयात्री बोकेको बस यात्रुसहित बेपत्ता भएको दुःखद् घटनाबाट शोकमा थियौँ । त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो । गएको असोज १० देखि १३ गते अकल्पनीय बाढी पहिरोको चपेटामा मुलुक प¥यो । यसै अबधिमा देशभर सात हजार एक सय ३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटनाहरू भए ।

प्रधानमन्त्रीले आफ्नो सय दिनको उपलब्धि बताउने क्रममा उल्लेख भएका यी विवरणहरूले पनि काम गर्न चाहेको तर अरू कसैले नदिइएको भन्ने नै बुझाउँछ । सरकार ढल्ने कुरा मानवीय थियो भने त्यसमा प्रकृति पनि जोडिएको बुझाउन खोजियो । यी कुरा जुनसुकै सरकारका पालामा पनि हुन्छन् तर सरकारले भने यस्ता घटनालाई महाभूकम्प र कोरोनाकालीन महामारीजस्तो देखाउन खोज्यो । सरकारलाई कम्तीमा सय दिनमा आइपरेको सबै समस्याको खुलस्त गरियो । तर यो मधुमासको आत्मरतीबाहेक अरू के मान्ने ?


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x