Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयडेङ्गु महामारीमा स्वास्थ्यमन्त्री नै गायब

डेङ्गु महामारीमा स्वास्थ्यमन्त्री नै गायब


काठमाडौं । आफ्नो कार्यकालको सय दिनमा अरू मन्त्रालयले भन्दा धेरै काम गरेको भनी आफ्नो बखान आफैँ गर्ने स्वास्थ्यमन्त्रीको कामबारे धेरैतिर प्रश्न उठ्न थालेका छन् । एकजना नेता सहकारी ठगीमा परेर प्रहरी हिरासतमा परे । त्यसको हप्तादिनपछि त्यो दलकै एकजना सांसदले बल्ल जेलमा डेङ्गु महामारी फैलिँदै गएको भनेर लामखट्टे मार्ने उपाय अपनाउन सरकारलाई निर्देशन दिएको पाइयो । ती नेता जेलमा नपरेका भए त्यो दलका यी सांसदले जेलमा डेङ्गु महामारी फैलिएको भन्ने पत्तो समेत नपाउने रहेछन् भन्ने यो प्रकरणले देखाएको छ । अहिले स्वास्थ्यमन्त्री डेङ्गु महामारीका बारे त्यस्तै बेखबर देखिएका छन् । उनीहरूबाट धेरै काम हुनेछ भनी आशा गरिएका व्यक्तिहरू सरकारमा गएपछि कसरी आफैँ हराउँदा रहेछन् भन्ने यो एउटा उदाहरण पनि हुनुपर्छ । यतिबेला धेरैजसो स्वास्थ्य बीमाका कुरा आइरहेका छन् । ती पनि आवश्यकता होलान् तर तत्कालको समस्या भनेको आफ्ना नागरिकलाई यो महामारीबाट जोगाउनु पनि हो, जसमा यो बेलासम्म स्वास्थ्यमन्त्री चुकिरहेको देखियो ।

यतिबेलासम्म मुलुकका कुनै पनि भू–भाग डेङ्गु संक्रमणबाट जोगिएका छैनन् । ७६ जिल्लामा डेङ्गु संक्रमण फैलिएको छ भनेर त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता आफैँले बताइरहेका छन् । उनकै अनुसार हालसम्म २२ हजार ८२ जनामा डेङ्गु संक्रमणको पुष्टि भएको छ । यति संख्यामा डेङ्गु संक्रमणको पुष्टि मात्र होइन । त्यसमध्येबाट ११ जनाको त ज्यानै गएको अवस्था छ । यही मुलुक हो जहाँ कोरोनाबाट एकजना मान्छे मारिँदा छ महिनासम्म लकडाउन व्यहोर्नुपरेको थियो । यो संक्रमणबाट ११ जनाको ज्यान गएको अवस्था छ । यस्तो महामारीमा यसबाट बच्ने बचाउने उपायको खोजी र संक्रमण भएका खण्डमा उपचारका लागि सहजता प्रदान गर्न आवश्यक हुन्थ्यो । पहिलो त संक्रमण हो या होइन भनेर निक्र्याैल हुन परीक्षणलाई व्यापकरूपले विस्तार गर्न आवश्यक पर्छ । परीक्षणमा डेङ्गु संक्रमण देखियो भने त्यसै पनि सम्बन्धित संक्रमणग्रस्त व्यक्ति र तिनको परिवार आफैँ सतर्क हुने हुन्छ । यो संक्रमण बाह्रै महिना कायम रहँदैन भनेर त स्वास्थ्य मन्त्रालयले नै बताइरहेकै छ । यसको अर्थ यो संक्रमण सिजनल हो । यस्तो बेला या संक्रमणबाट जोगिन र संक्रमित भइसकेपछि पनि उपचारका लागि विशेष व्यवस्था हुनु राज्यको विशेष दायित्व नै बन्छ । त्यसको व्यवस्थापन गर्ने काम मन्त्रीको व्यवस्थापनमा होस् भन्ने आम चाहना हो । तर यही बेला मन्त्री नै गायब हुन्छन् भने उनको भूमिकामाथि प्रश्न उठ्ने भयो नै ।

यतिबेला यो संक्रमण सबैभन्दा बढी स्वास्थ्यमन्त्रीकै प्रदेशमा फैलिएको छ । माथि उल्लेख भएको संक्रमितको संख्यामध्ये गण्डकी प्रदेशका मात्र नौ हजार पाँच सय ३१ जना छन् । यो भनेको कुल संक्रमणको ४३ दशमलव दुई प्रतिशत हो । कर्णाली प्रदेश भने सबैभन्दा कम भेटिएको छ । यस प्रदेशमा अहिलेसम्म तीन सय जनामा मात्र संक्रमण देखिएको छ । गण्डकी बढी सहरी क्षेत्र भएको प्रदेश हो भने कर्णाली दुर्गम । उपचारका क्रममा पनि यो प्रदेश पिछडिएकोमा पर्छ । त्यसकारण अहिले कम देखिए पनि रोकथामका लागि जोड दिन आवश्यक देखिन्छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये धेरैलाई ज्वरो आउने, तारन्तार बान्ता हुने हुन्छ । कतिपयको दुखाइ भइरहने, गिजा र नाकबाट रक्तस्राव समेत हुन सक्छ, यस खालको जटिल अवस्थाका संक्रमितलाई यथाशीघ्र नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानुपर्ने हुन्छ । त्यसो हो भने यस्ता संक्रमितले सहजरूपमा नै विशेष प्रकारको उपचार पाउने व्यवस्था किन नगर्ने ? स्वास्थ्यमन्त्रीले जवाफ दिऊन् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x