Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर

भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर


काठमाडौं । धेरैजसो भ्रष्टाचारका घटना सुरुमा प्रारम्भिक आरोपबाटै प्रकट हुँदै जान्छन् । यतिबेला एउटै राजनीतिक दलका एकमन्त्री र सांसद दुई करोड रुपैयाँ घुस लिएको नलिएको भन्दै आरोपप्रत्यारोपमा ओर्लिएका छन् । मन्त्री र सांसद दुवै सुशासनप्रति जिम्मेवार पदाधिकारी हुन् । मन्त्री कार्यकारी हुन् भने सांसद खबरदारीकर्ता । तिनै सांसदले मन्त्रीमाथि दुई करोड घुस लिएको आरोप लगाएका छन् । यसलाई सांसदले गरेको खबरदारीका रूपमा लिनुपर्छ । तर खबरदारी गर्दा आरोपको पुष्टि गर्ने उनको दायित्व बन्छ । भ्रष्टाचार लुकेर गरिने भए पनि त्यसका केही प्रमाणहरू हुन्छन् । त्यसकारण जिम्मेवार सांसदले पुष्टि हुनेगरी प्रमाणको अपेक्षा गरिएको अवस्था छ । जसमाथि आरोप लागेका छन् ती मन्त्रीले पनि त्यसको भरपर्दो अर्थात् पत्यारिलो जवाफ दिनुपर्छ । त्यो भनेको स्वतन्त्र छानबिनका लागि माग हुनु हो । यस्तो आरोप लागेपछि आफूमाथि दुराग्रह राखिएको भनेर मात्रै पुग्दैन । कार्यकारी तहमा रहेका व्यक्ति पदाधिकारीका भ्रष्टाचार यसरी नै आरोपआरोपमा सार्वजनिक हुँदै आएका विगतमा थुप्रै उदाहरण छन्  ।

यद्यपि सांसदले करोड भ्रष्टाचार गरेको भनी सांसदबाट आरोपित पर्यटनमन्त्रीले उजुरी भने गरेका छन् । तर आफूमाथिको आरोपबारेको त्यो उजुरी र कारबाहीको माग ठाउँमा परेको छैन । आफ्ना मन्त्री कमिसनको खेलमा लागेका एउटा क्यासिनो दर्ताका लागि एक करोड घुस लिएको भन्ने आरोप हो । त्यसमा उनले आरोपितलाई कारबाही गर्न भनी आफ्नो दलसामु उजुरी दिएका छन् । आफ्नो राजनीतिक दलमा दलमा दिएको यस्तो उजुरीले के मन्त्रीमाथि लागेको यस्तो संगीन आरोप खण्डित हुँदैन । उनले आफ्नो उजुरीमा भनेका छन्– ‘नेपाली काँग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ । मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस–रिसवतजस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउनेजस्ता कलुसित, अमर्यादित र गैरकानुनी कार्य गरी आउनुभएको छ । यस कार्यले नेपाली काँग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्याएको छ ।

मन्त्रीले उनले भनेजस्तै आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा, इमानदारी र नैतिकताको मार्गमा अविचलितरूपमा अगाडि बढाउने हो भने यो आरोपको छानबिन राजकीय निकायबाट गर्न माग हुनुपर्छ र त्यस्तो छानबिन नहुँदासम्म आरोपित मन्त्री त्या पदबाट अलग बस्नुपर्छ । छानबिनबाट उनले यस्तो घुस नलिएको देखिए उनलाई पुन त्यही मन्त्री बनाइनुपर्छ । उनी निर्दोष ठहरिए दोष लाउने सांसद कारबाहीमा पर्नुपर्छ । यति भएपछि मात्र आरोप लगाउनेले पनि जवाफदेही हुनुपर्छ र यदि यस्तो गर्न नहुने काम वास्तवमा नै नगरिएकै भए डराउनुपर्ने अवस्था आउँदैन । सुशासन कायम गर्छु भन्ने सरकारले यस्तो अभ्यास प्रारम्भ गरोस् अर्थात् भ्रष्टाचारका आरोपहरूको स्वतन्त्र छानबिन सुरु गरोस् । त्यसो भएन भने मुखले भनेका भरमा देशमा भ्रष्टाचार रोकिँँदैन । सम्बन्धित निकाय र पदाधिकारीहरूको ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x