Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयशक्तिको संरक्षणमा कारबाहीको नाटक

शक्तिको संरक्षणमा कारबाहीको नाटक


कबुल गरेअनुसारको काम नगरेपछि कारबाही गरिएको भन्ने सन्दर्भमा पछिल्लो समय दुई ठेकेदार चर्चामा अएका छन् । गएको पुस महिनामा कबुल गरेका काम यो भदौ महिनामा पनि सम्पन्न भएनन् । कुनै पनि काम समयमा भएन भने त्यसको प्रत्यक्ष असर आम नागरिकले व्यहोर्नु पर्छ । अहिलेको चर्चा भनेको रासायनिक मलको विषय हो ।

किसानले समयमै मल नपाउँदा वर्षेनी कृषि उत्पादनमा नोक्सान परिरहेको छ । अन्न नफलेपछि किसानले कसरी गुजारा गर्ने ? किसानका लागि यो वस्तुको महत्व कति रहेछ भन्ने त कोरोनाको यस्तो महामारीका बेला दिनभर लाइनमा लागेर रित्तै घर फकँर्दा उनीहरू धुरुधुरु रोएका दृश्यहरू प्रस्ट पार्र्छ । अनुमान गरौं यसको क्षतिपूर्ति के होला । एउटा किसानको जीवन बर्बाद बनाएको अवस्था एकातिर छ भने अर्को राष्ट्रिय अर्थतन्त्रलाई पनि यसले धक्का दिएको छ ।

पहिले नै चर्चामा आएको थियो, निर्माण क्षेत्रका ठेक्कापट्टाका काम समयमा सम्पन्न गर्न असफल भएका व्यक्ति तथा कम्पनीलाई राजनीतिक प्रभावका कारण यस्तो काम दिइयो भन्ने । यो ठाउँमा चर्चा भएका यी ठेकेदार उच्च राजनीतिक नेतृत्वको संरक्षणमा छन् भन्ने जोसुुकैलाई पनि जानकारी थियो । सत्तारुढ दलका अध्यक्षका घरधनी रहेको कारण यो क्षेत्रमा कहिल्यै कारोबार नगरेका व्यक्तिले यति ठूलो ठेकका पाएका भन्ने चर्चा अहिले पुष्टि भयो ।

उनीहरूले सम्झौताअनुसार रासायनिक मल खरिद गरेर नेपाल ल्याउन सकेनन् । कबुलेका काम गर्न नसकेको कारण कृषि सामग्री कम्पनी लिमिटेडले ती दुई कम्पनीले राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्द गरेको भन्ने कुरा बाहिर आएको छ । समाचारमा आएअनुसार सम्झौता रद्द गरेको कृषि सामग्री कम्पनीले ती दुई सप्लायर्स कम्पनीसँग प्रचलित कानुन एवं सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम क्षतिपूर्ति दाबी गर्ने जनाएको छ ।

प्रश्न हो यो क्षतिपूर्ति कसरी । माथि पनि वताइसकियो परिण्णाम यस्तो आउदै छ है भन्ने कुरा पहिलेपनि संकेतका रूपमा प्रकट भएको थियो । ठेक्का दिएकै समयमा यो कम्पनीको अनुभव हेरिएन । अरु कामका लागि अनुभव चाहिन्छ भने यस्तो लाखौँको सरोकार रहेको विषयमा अनुभव नै नभएकालाई दिनु उच्च तहको शक्तिको खेल भएको कुरा त्यसै प्रस्ट भइसकेको थियो । त्यस्तो बेला यिनै सप्लायर्स कम्पनीलाई कालोसूचीमा राख्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको भन्ने पनि एउटा औपचारिक र तत्कालको लागि जनआक्रोश मत्थर पार्नका लागि हो भन्ने बुझिएको छ ।

भगवान शिवजीको घाँटीमा रहेको सर्पलाई गरुडले पनि नमस्कार गर्छ भनिन्छ । नत्र सर्प गरुडको खानेकुरा हो । विगतका धेरै उदाहरण छन् । यो ठाउँमा पनि त्यस्तै भेरहेको छ । यी ठेकेदारले राज्यलाई कति ठाउँमा धोका दिए र फेरि काम भने पाइनै रहे । यो पछिल्लो ठेक्का त्यसकै नमुना थियो । जस्तो यसअघि कोरोनाको बन्दोबस्ती खरिदमा एउटा व्यापारी समूह ओमनीमाथि बालुवाटारको कृपा भएका कारण माफी दिइयो ।

यी दुवै विषय महत्वपूर्ण मानिन्छन् । एउटाले संवेदनशील समयमा मूल्य बढायो, अर्कोले सामान नै ल्याएन । जब कृपाबाट सबै कुरा हुन्छ भने कारबाहीका यस्ता कागजपत्रहरू पनि त्यही कृपाले जलाइदिन्छ । नेतृत्वले कृपा गरेबापत सुविधा उपभोग गरिरहेको अवस्थामा यो स्वाभाविक पनि होला । कामना मात्रै गरौं यो पटक त्यस्तो नहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x