Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआर्थिक उपलब्धिका केही सकारात्मक पक्ष

आर्थिक उपलब्धिका केही सकारात्मक पक्ष


देशमा कोरोना महामारीको संकट भए पनि केही पक्षहरूले आर्थिक स्थिति मजबुत नै रहेको देखाएको अवस्थालाई स्थायी बनाउन अवसरहरूको खोजी गर्नुपर्ने संकेत प्रकट भएका छन् । जस्तो शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रूपैयाँले बचतमा हुनु, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको बीचमा पनि रेमिट्यान्स रकम बढ्नु आदि । यो पटक नेपालको रेमिट्यान्समा गम्भीर असर पर्ने अनुमान गरिएको थियो तर भयो त्यसको विपरीत अर्थात् कोरोनाले कुनै प्रभाव नपारेको जस्तो देखियो । चालू आर्थिक वर्षको पहिलो महिनामा २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको अवस्था निकै नै सकारात्मक हो ।

यही कारणले होला अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुुई प्रतिशतले बढेकोमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले बढेको अवस्था देखियो, जसले संकटका बेला पनि यी क्षेत्र सामान्य रहेका भन्ने बुझाउँछ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव सात प्रतिशतले बढेको थियो । यी धेरै नै सकारात्मक पक्ष हुन् । तर अर्काे, व्यापारघाटाको पक्ष भने कुल अंकको हिसाबमा धेरै सकारात्मक रहेन । यसले अरु उपलब्धिहरूलाई पनि ओझेलमा पार्ने हो कि भन्ने शंका गर्ने ठाउँ दिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो एक महिनामा मात्रै ७६ अर्ब १९ करोड रूपैयाँबराबरको वैदेशिक व्यापारघाटा व्यहोेरेको अवस्था छ । यो भनेको मासिकरूपको धेरै ठूलो अंक हो । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको सबैभन्दा पछिल्लो आर्थिक स्थिति प्रतिवेदनअनुसार साउन महिनामा मात्र देशले सो रकमको व्यापारघाटा व्यहोरेको देखिन्छ । यो भनेको एक महिनामा करिब खर्बको हाराहारीको घाटा अंक हो । यद्यपि यति हुँदा पनि आयातको दर भने घटेको छ । प्रतिवेदनअनुसार यस अवधिमा कुल वस्तु आयात १९ दशमलव छ प्रतिशतले घटेर ८५ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११ दशमलव पाँच प्रतिशतले घटेको थियो ।

विगतको तलुनामा करिब १० प्रतिशत बढी हुनेगरी दर घटेको बुझाउँछ यो विवरणले तर अरु क्षेत्रमा जस्तो सुधार भएको छ त्यसको तुलनामा व्यापारघाटाको क्षेत्रमा त्यस्तो सुधार नभएको नै हो यो अंक भनेको । राष्ट्र बैंककै अनुसार चालू आवको पहिलो महिनामा कुल वस्तु निर्यात आठ दशमलव नौ प्रतिशतले बढेर नौ अर्ब ६२ करोड रूपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७ दशमलव सात प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा कुल वस्तु व्यापारघाटा २२ दशमलव दुई प्रतिशतले घटेर ७६ अर्ब १९ करोड रुपैयाँमा सीमित रहेको आवस्था छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३ दशमलव नौ प्रतिशतले घटेको थियो । १३ दशमलवको दर २२ दशमलवमा पुग्नु भनेको संकटको बेलाको अर्थ तथा वित्तीय अवस्था सुधारोन्मुख नै मान्नुपर्छ । तर विवरणले बताएअनुसार केही देशमा निर्यात चिन्ताजनक रूपमा घटेको छ । जस्तो चीनतर्फ ७१ दशमलव सात प्रतिशतले निर्यात घटेको छ । यस्तो किन भयो भन्ने विश्लेषण हुन जरुरी छ । अर्को छिमेकी देश भारत चार दशमलव चार प्रतिशत तथा अन्य मुलुकतर्फ २५ दशमलव पाँच प्रतिशतले निर्यात बढ्दा चीनतर्फ यतिठूलो प्रतिशतमा घटेको कारण खोज्नु पर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया