Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकार दायित्वबाट पन्छिने बाटोतर्फ

सरकार दायित्वबाट पन्छिने बाटोतर्फ


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफैँले प्रवाह गरको सूचनाअनुसार कोरोना संक्रमणका सन्दर्भमा सरकारले चालेका कदम के कस्ता रहे भनी विशेष टोली नै खटाएर बुझ्न थालिएको छ । मन्त्रालयद्वारा गठित यस्तो टोलीमा मन्त्रालयले नै प्रमुख विशेषज्ञ भनी दर्जा दिएका व्यक्ति संयोजक छन् ।

बताइएअनुसार टोलीले स्थानीय तहमा पुगेर जनप्रतिनिधि र स्थानीयसँग छलफल गरी गुनासो संकलन गर्नेछ । त्यसपछि के गर्नेछ भन्नेचाहिँ बताइएको छैन । टोलीलाई दिइएको काम हेर्दा सरकार कोरोना रोकथामको सबै व्यवस्थापन स्थानीय तहको जिम्मेवारीमा रहेको भनी पन्छिन खोजेको जस्तो देखियो  । यो टोलीले स्थानीय निकायबाट भइरहेको कन्ट्याक्ट ट्रेसिङ र होम आइसोलेसनको सञ्चालन प्रक्रिया त्यसको मात्र र त्यसप्रति आएका गुनासाहरु सुन्नेछ ।

टोली पमुखले नै भनेका छन्, संक्रमितको पहिचान र व्यवस्थापन हामीले बनाएको निर्देशिकाअनुसार भएको छ कि छैन ? स्थानीय तहको गुनासो के छ ? बुझिरहेका छौँ, हामीले बनाएको नीति सुधार गर्न स्थानीय तहबाट संकलन गरेको गुनासोले सहयोग पुग्नेछ । यहीँबाट अर्को प्रश्न उठ्छ यदि सरकारले गरेका काम गलत छन् भन्ने सुझाव आए भने त्यसलाई सच्याउन सरकार तयार छ ?

तर त्यस्तो देखिँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कामकुरा पछिल्ला दिन सबैभन्दा बढी आलोच्य भइरहेका छन्  । ती आलोचना यस्तै विज्ञका रायबाट उत्पादन भएका हुनुपर्छ । पछिल्लो समय सरकारले कोरोनाको कुनै पनि पक्षमा नागरिकलाई सहयोग नगर्ने भनी जस्तो निर्णय भयो त्यो पनि त यस्तै विज्ञका रायबाट नै आएको हुनुपर्छ जो देशव्याप विरोधको क्रममा छ । सरकाले परीक्षण र उपचारलाई निःशुल्क नगर्ने भनी निर्णय गर्दाको आधार भनी स्वास्थ्यमन्त्रीले जनताले मागेअनुसार भनेका थिए । यसको अर्थ हो आफ्नो नालायकीपन लुकाउन जनताको राय भनी बताइएको बुझ्न सकिन्छ । यो अनुगमनमा कसैले पनि सरकारले शुल्क लिएर गर्न लागेको परीक्षण र उपचार पद्धतिको कतै पनि समर्थन गरेका छैनन् ।

काठमाडौंकै एक नगरपालिका मेयरले पैसा तिरेर मात्रै पीसीआर गर्नुपर्ने भएपछि कन्ट्याक्ट ट्रेसिङ रोकिएको जानकारी मन्त्रालयबाट आएको यो टोलीलाई गराएको बताएका छन् । तर यो शुल्कको निर्णय गर्ने पदाधिकारी थिए यिनै सुझाव संकलनमा खटिएका संयोजक । उनैले आफ्नो कमजोरी देखाइएको यस्तो प्रतिक्रियालाई जस्ताको त्यस्तै मन्त्रालयमा लान्छन् लाँदैनन् भन्ने प्रारम्भमा नै धेरैले शंका गरेका थिए  ।

अहिलेको अमिल्दो कुरा हो बजेट सरकारसँग रहने र कामचाहिँ स्थानीय तहबाट गर्नुपर्ने भने । सरकारको काम यो काम यो ठाउँमा पनि सही देखिएन । उदाहरणका लागि राजधानीको बूढानीलकण्ठ नगरले होम आइसोलेसनमा बसेका संक्रमितलाई चार हजार दिने निर्णय गरेको थियो । तर पछि उसले धान्न नसकेर त्यो निर्णय कार्यान्वयनमा आएन ।

बजेट एकातिर र काम अर्कातिर भएको यो अवस्थाको पीडा भोग्ने आखिरमा नागरिक नै हुन् । सुरुमै पनि यसका केही उदाहरण कायम भएका छन् । राहत बाँड्ने काम स्थानीयको काम भनियो र बजेटचाहिँ केन्द्रमा राखियो । महामारी आफैँमा ठूलो विषय हो । त्यसमा सबै कुराको व्यवस्थापन चुस्त हुनुपर्छ । त्यसमा केन्द्रीय शासनले गर्ने कुरा वडाले गर्न नसक्ने पनि हुन्छन् । त्यसका थुपै उदाहरण छन् । जस्तो निजी अस्पतालले केन्द्रीय सरकारले दिएको आदेश त मानेनन् भने एउटा वडाले दिएका आदेश मान्लान् भनी पत्याउन सकिँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया