Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसत्तरुढ दलभित्रको किचलोले जनतालाई कष्ट

सत्तरुढ दलभित्रको किचलोले जनतालाई कष्ट


चालू वर्ष २०७७ अहिले आठौँ महिना चलिरहेको छ । यो सातौँ महिना हुँदा सत्तारुढ दल नेकपा फुट्नै आँट्यो भन्ने भइरह्यो । उच्चतहका नेताहरूले नै पार्टी फुट्नै लागेको बुझाउने खालका सन्देश आइरहे । यही क्रममा प्रधानमन्त्रीले विपक्षीदलका नेतालाई भेटेर सहयोग मागका कुरा पनि आयो । बैठक बस्यो कि दल फुट्ने भयो भन्ने शंका लामो समयसम्म कायम हुनु पनि एकप्रकारकले यो दल फुटतिर नै गएको हो कि भन्ने बुझाउँथ्यो । दुई अध्यक्षीय व्यवस्था भएको दलमा उनीहरूबीच भेटघाट हुन पनि छाडेको र अर्कोपक्षले बैठक बस्नकै लागि लिखित माग गरेको तथा त्यस्ता अर्को पक्षले त्यो लिखितको पनि लिखित नै जवाफ दिएको अवस्था कसैबाट लुकेन । त्यसपछि फेरि सवालजवाफमा बित्नथाले दिनहरू । एक जना अध्यक्षले कात्तिकको अन्त्यतिर लगाएको आरोपको जवाफ दिन मंसिरको मध्यसम्मको समय त्यसै बित्यो । चालू वर्षको सुरु नै राजनीतिक दल फुटाउने अध्यादेश प्रस्तावबाट भएको थियो ।

यसको निरन्तरता यो मंसिरको मध्यसम्म नै आइपुगेको छ । गएको चैत्रदेखि देशमा कोरोना त्रास खडा भएको थियो । सत्तारुढ दलको झगडाका कारण त्यसको समुचित व्यवस्थापन हुन सकेको छैन । यो दलकै एक अध्यक्षले भनेको कुराले पनि अवस्था बुझाउँछ । कोरोनाको व्यवस्थापनमा उनले प्रधानमन्त्रीको कामबारे औँल्याउँदै भनेका थिए– छिमेकी देश चीनमा कोभिड १९ को महामारी गम्भीर अवस्थामा पुगेको र नेपालमा चीनबाट फर्केका एक जना व्यक्तिमा मात्र कोरोना विषाणुको संक्रमण देखिएको अवस्थामा सरकारले बन्द र बन्देजको घोषणा गर्नु उचित थियो । तर दुई महिनासम्म सिंगो राष्ट्रलाई बन्दाबन्दीमा राखेर पनि महामारीसँग जुझ्न सरकारले यथोचित तयारी गरेन । नेपाल उच्च जोखिममा रहेको भन्ने विज्ञहरूको चेतावनीअनुरूप काम गरिएन । कोरोना संक्रमणबाट सुरक्षित हुन सरकारले देशमा बन्द र बन्देजको घोषणा गरेको स्थितिमा श्रमजीवी, गरीब र कमजोर वर्ग तथा समुदायका मानिसहरूको पीडाप्रति प्रधानमन्त्री संवेदनशील देखिनुभएन । ती समुदायको पीरमर्काको कुरा गर्नेप्रति व्यंग्य गर्दै आलोचना गरियो ।

स्वास्थ्य संकटका रूपमा आएको कोरोना महामारीका विरुद्ध राष्ट्रिय एकताका साथ अगाडि बढ्नुपर्ने बेला पार्टी विभाजन र सत्ताको खेलमा लागेर प्रधानमन्त्रीले देशमा राजनीतिक विवाद मात्र सिर्जना गर्नुभएन कानुनसम्मत विपत् व्यवस्थापनको राज्य संयन्त्रलाई समेत निस्क्रिय तुल्याउनु भयो । यस्तो गम्भीर विपत्बारे पार्टीको बैठक बोलाउने र छलफल गर्नेतर्फ कुनै चासो देखाइएन । कोरोना देशको यतिबेलाको गम्भीर विषय हो तर यता कामचाहिँ कस्तो भयो भने उल्टोपाल्टो भयो । त्यो आरोप पत्रमा नै भएको छ– संक्रमण छिमेकी भारत र अन्य देशहरूमा व्यापक भइनसकेको बेला त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्काउनेतर्फ समयमै ठोस कार्ययोजना बनाउनेतर्फ ध्यान दिइएन । सबैतिर कोरोना विषाणुको महामारी फैलिएपछि मात्र विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउने कुरा गरियो । मानिसहरूलाई एकान्तमा राख्ने उपयुक्त प्रबन्ध नहुँदा त्यस्ता ठाउँबाट उल्टै संक्रमण फैलिने स्थिति सिर्जना भयो ।

यस्तो किन भयो भने यो दल सुरुदेखि नै आन्तरिक किचलोमा प-यो कोरोनाजस्तो महामारीको समेत समुचित व्यवस्थापन गर्नबाट चुक्यो । यो अरुले लगाएको आरोप होइन स्वयम त्यो पार्टीका अध्यक्षले लेखेर दिएका कुरा हुन् । वास्तवमा त्यसबेला कोनोनाको फैलावट भएको थिएन । अहिले त संक्रमितहरको संख्या दुई लाखभन्दा बढी भयो । यस्तोबेला व्यवस्थापन सही नहुँदा नागरिकले दुःख पाए । स्वास्थ्य सामग्रीको अभाव अहिलेसम्म नै छ । पार्टीका अध्यक्ष नै भन्छन् रोजगारी समाप्त भई कैयौँ श्रमजीवीहरूले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ र यता स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको घटनाले नेपालको शिर झुकेको छ । यसरी सत्तारुढ दलको आन्तरिक किचलोले देश र दुनियाँले कसरी दुःख पाइरहेका छन् भन्ने यी केही उदाहरण मात्रै हुन् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया