काठमाडौं ।
विशेष प्रकारका र स्वतन्त्र निकाय मानिएका तथा सरकारलाई पनि नियन्त्रण र निर्देशन गर्ने प्रकृतिका संस्थाहरूमा सरकार पदाधिकारी दिन नै चाहिरहेको छैन । संविधानले कतिपय यस्ता संस्था एकछिन पनि खाली हुन नहुने गरी व्यवस्था गरेको छ । यस्ता निकाय खाली हुन नदिन संवैधानिक परिषद्ले पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर यहाँ महिनौँ र वर्षौंदेखि ती संस्था खाली नै रहेको अवस्था छ । यसका लागि राष्ट्रिय मानवधिकार आयोगको अवस्थालाई हेरे हुन्छ ।
यो भनेको नागरिकसँग सरोकार भएका विषयमा सरकारलाई निर्देश गर्ने संस्था हो । यो संस्था पदाधिकारीविहीन भएको दुई महिना पुग्दै छ । यसका पाँचै पदाधिकारीको पदावधि कात्तिक ३ गते सकिएको थियो । पदाधिकारी नभएपछि सचिवबाट आयोगको ०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस भयो । यो भनेको राष्ट्रपतिकै पनि उचित सम्मान नभएको अवस्था हो । कहाँ अध्यक्षले गर्ने काम कहाँ सचिवबाट भैरहेको छ । मानवअधिकार संविधानले सबभन्दा बढी महत्व दिएको नागरिकको मौलिक हकसँग जोडिएको संस्था हो । यसका कामकुरा प्रत्यक्षरूपले राज्यले गरेका ज्यादतीका विरुद्ध हुन्छन् । अर्को देशको सुशासनको विषय हेर्ने संस्था अख्तियार पनि खाली नै छ ।
विवरणमा आएअनुसार तत्कालीन प्रमुख आयुक्त नविन घिमिरेको अवकाश र घुस प्रकरणमा आयुक्त राजनारायण पाठक राजीनामापछि दुवै पद रिक्त छन् । अख्तियारमा पाँच जना पदाधिकारी रहने व्यवस्था छ । मृत्यु भई वा राजीनामा दिई पद रिक्त भएको अवस्थामा एक महिनाभित्र पदपूर्ति हुनेगरी नियुक्तिका लागि सिफारिस हुनुपर्छ तर भएन । निर्वाचन आयोग अर्को महत्वपूर्ण संवैधानिक निकाय हो । यसमा पनि दुर्ई आयुक्त पद १५ महिनादेखि खाली छन् । यी पद ०७५ चैतदेखि खाली रहेका हुन् । देशमा १३ संवैधानिक आयोगहरू छन् । यीमध्ये ११ वटामा लामो समयदेखि ४५ पद रिक्त छन् । समाचारमा आएका विवरणअनुसार लोकसेवा आयोग र महालेखापरीक्षकबाहेक निकायमा पदाधिकारी नियुक्ति हुन पाएनन् । यस्ता संस्थामा एक प्रमुख र चार सदस्य रहने व्यवस्था संविधानले गरेको छ ।
संवैधानिक निकाय लामो समयदेखि खाली राखेको अवस्थाप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाउन थालेको छ । ७५ प्रतिशत संवैधानिक निकाय लामो समयदेखि रिक्त छन्, नियुक्तिका लागि ढिला भइसक्यो, छिटो संवैधानिक निकायमा पदपूर्ति गर्नुपर्छ, त्यसरी खाली राख्नु हुँदैन भन्ने कांग्रेसको धारणा छ । तर सरकारी पक्षले भने विपक्षी नेताले समय नदिएका कारण रिक्तपद पूर्ति हुन नसकेको बताइरहेको छ । तर कतिपयले भने सत्तारुढ दलको आफ्नै किचलोका कारण यस्तो स्थिति आएको मान्छन् । जे होस् अब यस्तो स्थिति धेरै रहनु हुँदैन । संवैधानिक निकायमाथि खेलबाड गर्नु भनेको संविधानकै अपमान हो ख्याल रहोस् ।
मानवअधिकार, अख्यिार, निर्वाचन आयोग मात्रै होइन प्राय सबै आयोग खाली राख्नु भनेको आयोगको अवधारणलाई नै छिन्नभिन्न बनाउनु हो । ०५८ मा स्थापना भई ०७२ को संविधानले संवैधानिक निकायको मान्यता दिएका राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन रहेकाले अवस्था डरलाग्दो देखाउँछ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया