Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअबचाहिँ मेलम्ची आउने नै भयो

अबचाहिँ मेलम्ची आउने नै भयो


काठमाडौं ।
ढिलासुस्तीको नमूना बनेको मेलम्चीको सपना अबचाहिँ पूरा हुने निश्चित भएको छ । करिब ४० वर्षदेखिको परिकल्पनामा रहेको र २५ वर्षदेखि कामै थालिएको भनिएको मेलम्ची खानेपानी बल्ल यो हप्तादेखि एउटा आशलाग्दो मोडमा आइपुगेका छ । गएको शनिबार प्रधानमन्त्रीबाट एउटा बटम थिचेर मेलम्ची खोलाको पानी काठमाडौँको मुख्य वितरण र प्रशोधन केन्द्रको सुन्दरीजल पोखरीमा खसालियो । यसपछि पानी आउने भयो भनेर उपभोक्ताहरू एकप्रकारले निश्चित नै भएका छन् ।

यसअघि यो आयोजनाले सरकारी कवोलाहरूलाई प्रत्येक पटक झुटो साबित गराउँदै आएको थियो । यही सरकारले आजभन्दा साढे तीन वर्षअघिको दशैँमा नै यो पानी वितरण प्रणालीमा ल्याइसक्ने भनी बताएको थियो । यो २०७५ को कुरा हो । तर पानी ०७७ को दशैँमा पनि आएन । त्यसकारण मेलम्चीको पानी सरकारी ढाँटको राष्यिट्रय नमूना नै बन्दै आएको अवस्था थियो जो यो पटक भने त्यो कीर्ति तोडियो । यो आयोजना सरकारी ढाँटको मात्र होइन ढिलासुस्तीको र त्यसकै कारण बढीलागतको पनि नमूना नै बनेको थियो । खानेपानीजस्तो संवेदनशील सेवाको विषयमा सरकारको यस्तो ढिलासुस्ती वास्तवमा राज्यको व्यवस्थापनमा नै प्रश्न उठाउने खालको थियो । यो आयोजना २०४१ सालबाट प्रस्ताव भएको हो ।

२०५५ सालमा त मेलम्ची खानेपानी विकास बोर्ड नै गठन भएर काम थालिएको थियो । यो भनेको काम थालिएको करिब २५ वर्ष भयो । तर त्यसको १० वर्ष त अलमलमै रह्यो । २०६५ सालदेखि सुरुङ खन्ने काम सुरु भएको थियो जसले अर्को १० वर्ष लियो जबकि काम थालेर वितरणकेन्द्रमा पानी आइपुग्न मात्रै पाँच वर्षको समय तोकिएको थियो । यसको लागतको अवस्था पनि त्यस्तै छ । करिब १३ अर्बको लगानी अनुमान गरिएकोमा २९ अर्ब ५० करोड खर्च भएको छ । करिब तीन गुना बढी र लागत पनि दुई गुना बढी भएर यो आयोजना सम्पन्न भयो ।

मेलम्चीको व्यवस्थापनले जानकारी गराएअनुसार काठमाडौंमा एक लाख १० हजारभन्दा बढी नयाँ धारा जडान गरिएका छन् । दुई लाख २५ हजार पुरानै धारा छन् । काठमाडौं उपत्यकामा दैनिक ४० करोड लिटर खानेपानीको माग छ । हिउँदमा आठ–नौ करोड र वर्षामा १२–१३ करोड खानेपानी आपूर्ति हुँदै आएको छ । बोर्डका अनुसार आउँदो वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउनेछ ।

चैतको दोस्रो साता यसको परीक्षण वितरण हुनेछ । कार्यकारीका भनाइअनुसार पूर्णरूपमा परीक्षण गरी वितरण गर्न भने अझै डेढ महिनाजति लाग्छ । मेलम्चीको यो पानी आउन थालेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण क्षेत्रभित्र दिनहुँ साढे दुईदेखि तीन घण्टासम्म पानी दिइनेछ । यी विवरणको अर्थ हो अबचाहिँ मेलम्ची आउने नै भयो । यद्यपि कल्पना नगरिएका अवरोधहरू भने अझै हटिसकेका छैनन् । यसमा व्यवस्थापक निरन्तर सतर्क हुन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया