काठमाडौं ।
देशमा कोरोना महामारीको दोस्रो लहर चलेर ठूलो क्षति पु-याइसकेको छ । यसबाट सुरक्षित रहनका लागि सतर्कताको पहिलो सर्त थियो, सकेसम्म बढीभन्दा बढीको परीक्षण गर्नु । सतर्क हुने संसारभरिको यो पहिलो सूत्र अहिले पनि प्रभावी छ । तर नेपालमा यस्तो परीक्षणक्षमताको चार भागको एक भाग पनि उपयोग नगरेको बताउँछन् विज्ञहरू ।
देशमा पुगनपुग ६० हजारको हाराहारीमा दैनिक परीक्षण गर्ने क्षमता छ । यस्तो क्षमतावृद्धिलाई प्रधानमन्त्रीले पटक–पटक आफ्नो कामको प्रगतिका रूपमा प्रस्तुत गरिरहेको अवस्था छ । तर यता परीक्षणको संख्या भने सरदरमा १५ देखि २० हजारको छेउछाउमै छ । यो परीक्षणले नै प्रतिदुई जनामा एक जना संक्रमित देखाउँदै आएको छ । यसले पनि बताउँछ जति बढी परीक्षण भयो त्यसले संक्रमितसँगको घुलमिल पनि घटाउँछ । त्यसकारण पनि परीक्षणको दर बढाउन भनिएको हो ।
सरकारी प्रयास भने यता केही दिन कुनै पनि रेकर्ड हुने खालको काम भएको देखिएन । संक्रमणको धेरै वृद्धि देखिन थालेको वैशाखबाट हो भन्ने मान्ने हो भने वृद्धिदरको क्रम निरन्तर रहेको महिनादिन बित्दै छ । झन् पछिल्ला दिन हाहाकार बढिरहेको छ । यसमा कतिपय व्यवस्थापकीय कुरा पनि छन् ।
यसमा कताकता सरकार तथ्यांक लुकाएर संक्रमणलाई कम आक्न थालेको पनि देखियो । पछिल्लो समय होम आइसोलेसनमा ज्यान गुमाएकाहरूको संख्या दिनहुँ बढिरहेको छ । सरकार होम आइसोलेसनमा बस्न प्रोत्साहन गर्छ । एकप्रकारले यो राम्रो पनि हो ।
अस्पतालका सैयाहरू आवश्यकता पर्नेहरूका लागि पुग्छन् भन्ने मान्यताबाट पनि होम आइसोलेसनको अवधारणा अघि आएको हुनुपर्छ । तर सवाल हो त्यसको पनि सरकारले व्यवस्थापन गर्न सक्नुपर्छ । आफ्नै घरमा बसेकाहरूले कम्तीमा टेलिफोनबाट मात्र भए पनि आवश्यक परेका बेला परामर्श पाउने हो भने धेरै ठूलो राहत मिल्छ । तर सरकारले घरमा बस्नेहरूलाई अक्सिजन समेत नदिने भयो ।
आफ्नो घरमा बस्दा ज्यान गुमाएकाहरूको त लास समेत उठ्न छाडेका भन्ने समाचार आइरहेका छन् । कोरोना संक्रमितको शव व्यवस्थापन गरिरहेको नेपाली सेनाका अनुसार पछिल्लो पाँच दिनमा मात्र काठमाडौँ उपत्यकामा १८ जनाले होम आइसोलेसनमा ज्यान गुमाए । शनिबार एकै दिन छ जनाले ज्यान गुमाएका विवरण आएको छ ।
यो भनेको धेरै जोखिमको अवस्था हो । मृतककै कुरा गर्ने हो भने सरकार यो ठाउँमा पनि या विवरण छोप्दै छ या जानकारी लिइरहेको छैन भन्ने देखाउँछ । लासको व्यवस्थापन गर्ने नेपाली सेना र सरकारले दिएका मृतकका संख्याको गणनामा धेरै अन्तर छ ।
अवस्था कस्तो भने होम आइसोलेसनमा ज्यान गुमाउनेका लास उठ्न नसकेकातिर सरकारको ध्यानै नगएको गुनासो छ । अर्कोतर्फ मृतकको तथ्यांक कस्तो छ भने सरकार जुन दिन देशभर ५३ जनाको ज्यान गएको भनिरहेको छ नेपाली सेनाले त्यसैदिन उपत्यकामै ७६ जनाको लासको व्यवस्थापन गरेको बताइरहेको छ । कहाँ उपत्यकामा ७६ जना र कहाँ देशभरि ५३ जना ।
यो यही शनिबारको कुरा हो । सरकारले भनेअनुसार जे–जति भए पनि मानिसको जीवनको क्षति कम देखिएको अवस्था एकप्रकारले राम्रो हो । त्यो पनि सत्य हुनुपर्छ । यो महामारी हो । संक्रमित र मृतकको सख्या लुकाएर वा कम परीक्षण गरेर, कम संख्या निकालेर महामारीको विस्तारलाई रोक्न खोज्नु झन् ठूलो मूर्खता हुन्छ । ध्यान जाओस् ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया