Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोप केन्द्र नै संक्रमणको केन्द्र बन्ने खतरा

खोप केन्द्र नै संक्रमणको केन्द्र बन्ने खतरा


काठमाडौं ।
कोरोना संक्रमण रोकथामको सबैभन्दा भरपर्दो र विश्व मान्यताको सूचीमा परेको विषय हो खोप । करिब एक वर्षमा नै विश्वमा खोप उपलब्ध भयो । यो मानवजातिको उपलब्धि हो पछिल्लो समयको । छोटो समयमा अनुसन्धान भएर र त्यसको उत्पादन समेत सुरु गरेर खोप यो संक्रमणको अचुक उपाय हो भन्ने ठहर भयो र त्यो वितरणमा पनि आयो ।

यतिबेला संसारकै सबैभन्दा प्राथमिकतामा परेको विषय हो आफ्ना नागरिकलाई खोप उपलब्ध गराउनु । यो संक्रमणबाट बच्न अरु उपाय पनि नभएका होइनन् । जस्तो मान्छेमान्छेबाट जोगिनु जोगाउनु आदि । तर यो सतर्कता खोपको विकल्प भने होइन नै । त्यसै कारण छिटोभन्दा छिटो खोपको व्यवस्थापनका लागि माग भएको हुनुपर्छ जो स्वाभाविक पनि हो । नेपाल पनि यो अभ्यासमा छ । पछिल्लो समय केही ढिलो भए पनि खोपको प्रारम्भ गर्नमा नेपाल अगाडि नै थियो पहिलो । अब पनि यो प्राप्तिका लागि प्रयासहरू भइरहेका र परिणाम पनि आइरहेको अवस्था छ । यसलाई झन तीव्र बनाउने खाँचो भने छँदै छ ।

यो महामारीबाट पार पाउन खोप मात्रै उपाय भएको कारण आफ्ना नागरिकलाई सुरक्षित राख्न विश्वभरि होडबाजी नै चलेको अवस्था छ नै । विश्व स्वास्थ्य संगठनका अनुसार अक्सफोर्ड युनिभर्सिटी, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोडर्ना, फाइजर, सेरम इन्स्टिच्युट अफ इन्डिया, सिनोफार्म र सिनोभ्याक कम्पनीका खोप प्रचलनमा आइसकेका छन् । अरु सयभन्दा बढी खोपहरू अन्तिम परीक्षणका चरणमा रहेका छन् र ती पनि छिटै बजारमा आउनेछन् ।

जोन्स हप्किन्स युनिभर्सिटीको विवरणअनुसार ४ जुलाइसम्म कोभिड–१९ को खोप पूर्ण मात्रामा लगाउने जनसंख्या बेलायतमा करिब ५०, अमेरिकामा ४८ र भारतमा चार दशमलव छ प्रतिशत छ । नेपालमा अहिलेसम्म खोपको दुवै मात्रा लगाउने जनसंख्या दुई दशमलव छ प्रतिशत मात्र छ भने खोपको एक मात्रा लगाउने जनसंख्या करिब नौ प्रतिशत छ । अर्कोतर्फ संक्रमण दर नेपालमा बढिरहेको छ । सरकारको गुनासो रहनेगरेको छ, मापदण्ड मानिएन र सतर्कता पनि अपनाइएन । कतिपय अवस्थामा सरकारी पक्षबाट पनि यस्तो सतर्कता अपनाइएको छैन । खोप दिने ठाउँ नै कति सुरक्षित छन् भन्ने प्रश्न उठ्न थाल्यो भने त्यो गम्भीर अवस्था भनी मान्नुपर्ने हुन्छ ।

अहिलेसम्मको खोप वितरणको सन्दर्भमा भने कतिपय कमजोरीहरू देखिए । करिब पाँच/सात घण्टाको लाइन, त्यसमाथि सुरक्षाको प्रबन्ध नहुनु, अत्यन्त जोखिममा रहेका वर्गलाई पनि लाइनमै राखिछाड्नु, ठूलो जनघनत्व भएको एकाइमा खोप केन्द्रको संख्या अत्यन्त न्यून हुनु आदि जोखिमका पाटा हुन् । यसले सग्लो मान्छे कतै खोप केन्द्रमा गएका कारण संक्रमित त भएर फर्किएएको त छैन भन्ने प्रश्नहरू आम तहमा नै उठेको छ ।

सामान्य व्यवस्थापन गरियो भने यो शंकालाई हटाउन नसकिने होइन । एकै ठाउँमा लाइन बस्नुपर्ने र लामो समयसम्म अघिपछिको व्यक्तिसँग टाँसिएर त्यहीँ बसिरहनुपर्ने अवस्थाको अन्त्य मात्रै गरिए पनि धेरै हदसम्म सुरक्षित रहन सकिन्छ । लाइनमा बसेको व्यक्तिलाई कुपन मात्रै दिइयो भने पनि त्यसले भीडभाडलाई घटाउँछ । यो कुराको व्यवस्थापन गर्न कुनै ठूलो लगानी पनि पर्दैन ।

अर्कोतर्फ कतिपय देशले खोपलाई घरघर पु-याएका पनि देखिन्छ । छिमेकी देश भारतका कतिपय राज्यले यस्तो व्यवस्था गरिरहेका छन् । राज्यको प्राथमिकता खोप हो भने यो काम गर्न नसकिने होइन । स्थानीय निकायलाई खोपको उपलब्धतासँगै यसप्रकारको व्यवस्थापनमा सक्रिय गराउने हो भने यो आफैँ व्यवस्थित हुन्छ । ध्यान रहोस्, आफ्नो कमजोरीका कारण कतै खोप केन्द्र संक्रमणको केन्द्र त बन्दै छैनन् ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x