Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसाझा कार्यक्रममा भ्रष्टाचार

साझा कार्यक्रममा भ्रष्टाचार


काठमाडौं । बाम गठबन्धनबाट चुनाव लडेर र पछि दुईवटा पार्टी एक भएर दुई तिहाइ पुगनपुगको अवस्थामा तीन वर्ष पाँच महिना शासन गरेर ओली सरकार बहिर्गमनमा प-यो । त्यसको ठाउँमा बाम र लोकतान्त्रिक गठबन्धनको सरकार बनेको चार हप्तापछि साझा नीति र कार्यक्रम आएको छ । सरकारले भने यतिबेलासम्म पूर्णता पाउन सकेको छैन । यसले सरकारबाट घोषित कार्यक्रम लागू होला ? भन्ने प्रश्न खडा गर्छ ।

यो कार्यक्रम गठबन्धनका सहभागी नेताबाट सामूहिक रूपमा घोषणा भयो । त्यसले कार्यान्वयनको एउटा अवस्था त बुझाउँछ तर यति लामो समयसम्म सरकारले पूर्णता नपाउनु, पाँच दलीय गठबन्धन भनिएकोमा अहिलेसम्म दुई दलको मात्रै प्रतिनिधित्व हुनुले प्रश्नहरू खडा गर्छन् नै । यद्यपि यो कार्यक्रम सत्तासाझेदार दल कांग्रेस, माओवादी, जसपाकै सहभागितामा बनेका हुन् । तर कार्यक्रम बन्नु र त्यसको हुबहु कार्यान्वय हुनु फरक विषय हुन् ।

सरकारको यो कार्यक्रमको प्राथमिकतामा कोरोनाविरुद्धको अभियान परेको छ जसमा चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा खोप दिने भनिएको छ । यो विषय धेरै ठूलो र महत्वको हो । साथै अत्यधिक जनसरोकारको पनि । सरकार अलिकति मात्रै चुक्ता पनि करिब १५ लाखको संख्याले निर्धारित समयमा खोप लगाउन पाएन जहाँबाट र जुन कम्पनीको खोप खरिद गरिएको हो । अहिले त्यसको क्षतिपूर्ति अन्यत्रबाट अनुदानमा प्राप्त भएको खोपबाट गरिँदैछ । अनुदान भनेको आउन पनि सक्तछ नआउन पनि सक्तछ । त्यस्तै यो साझा कार्यक्रममा परको अर्को विषय हो यसअघिकोे सरकारले स्वास्थ्य सामग्री खरिद गर्दा गरिएको अनियमितताबारे छानबिन गरी कारबाही गरिने भन्ने घोषणा ।

यो अनियमितता पनि जनसरोकारकै विषय थियो । यो अनियमितताले उपचारसम्बन्धी कतिपय वस्तुको अभाव भयो भने कतिपय वस्तुको मूल्य महँगो भयो । जस्तो एउटा पीसीआर परीक्षण गर्न सरकारी अस्पतालमा सात हजारसम्म परेको थियो भने त्यही काम निजीले चार हजारमा गरेको थियो । जब कि निजीभन्दा सरकारी सस्तो हुनुपर्ने हो । त्यस्तै मास्कदेखिका अरु उपकरण पनि २० गुनासम्म महँगा थिए । यसको मूल्य जाँच्ने यन्त्र थियो तिनै वस्तु छिमेकी देश चीनले अनुदानमा दिएको अवस्था । चीनले पनि किन हो वस्तु मात्र दिएन तिनको परल मूल्य पनि त्यसमा जनाइदियो । यो ठाउँमा अर्को के भयो भने नेपालले खरिद गरेका र चीनले दिएका ती वस्तु चीनको एउटै कम्पनीबाट निर्मित र एकैपटक जस्तो राजधानी आएका थिए । सरकारले खोजेमा यी विवरण पाउँछ नै ।

खासगरी यी सामग्री खरिदमा भएका भ्रष्टाचारमाथि कारबाही हुने कुरामा शंका कहाँबाट आयो भने यो कुरा उल्लेख भएपछि विपक्षी भड्किएको अवस्था छ । विपक्षी दलका नेता, एमालेका अध्यक्षले आफ्नो केन्द्रीय समितिको बैठकमा जस्तो प्रतिक्रिया दिए सरकारलाई यो प्रतिबद्धताबाट पछि हट्न बाध्य पार्ने हो कि भन्नेतर्फ संकेत गर्छ । सरकारको यो न्यूनतम कार्यक्रममा आफूहरूविरूद्ध गालीगलौजको पुलिन्दा खडा गरिएको आरोप छ उनको । उनकै शब्दमा ‘असंवैधानिक र अपवित्र नन्दीभृंगी जालीझेलीहरूको गठबन्धन हो, भ्रष्टाचारीलाई कारबाही गर्ने रे, माओवादी शिविरको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जा पनि छानबिन हुन्छ ?

वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भयो ? संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुठो मुद्दा लगाएर विपक्षीलाई फसाउने षड्यन्त्र गर्ने प्लान हो ?’ ओलीको यो भनाइ सत्य पनि हो । उल्लिखित यी काण्डहरू टुंगो लाग्न सकेका छैनन् लामो समयदेखि । वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड सबै अधुरा नै छन् । तर यता जनचाहना भने सरकारले आँट गरोस् नै भन्ने छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x