Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअफगानिस्तानमा नेपालीको सुरक्षा प्रश्न

अफगानिस्तानमा नेपालीको सुरक्षा प्रश्न


काठमाडौं । कोरोनाको महामारी विश्वव्यापी भएको बेला विदेशमा रहेका नेपालीहरूको रुवााबासी भएको थियो । अहिले अफगानमा रहेका नोपलीहरूको अवस्था त्यस्तै छ । कोरोना कहरमा चीनदेखिका मुलुकहरूमा रहेका नेपालीहरूले आफूलाई छिटोभन्दा छिटो उद्धार गरिदिन आग्रह गरिरहे । तर सरकारले जहाँ हो त्यहीँ बस भनी उद्धार गर्न खासै चासो देखाएन । यसबीचमा संसारभरिका देशले आफ्ना नागरिक जहाँ छन् ती ठाउँमा विशेष विमान पठाएर आफ्नो देश लैजाने काम ग-यो । नेपालमा रहेका एक जना नागरिकलाई लिन भुटानले एउटा विमान नै पठाएर उद्धार गरेको ग-यो । त्यसबेला नेपालमा कोरोना त्यति फैलिसकेको अवस्था थिएन । आफ्नो देशमा संक्रमण छैन तर संक्रमण व्यापक भएको देशबाट आफ्नो देश नै फिर्न नपाएको स्थिति भोग्न नेपाली नागरिक बाध्य भएका थिए । अहिले फेरि एक पटक त्यस्तै अवस्था आएको छ । यो हो अफगानमा मच्चिएको युद्ध र त्यहाँ रहेका नेपालीहरूको त्रासदीयुक्त अवस्था ।

यतिबेला सार्क क्षेत्रको एउटा मुलुक अफगानिस्तान सशस्त्र विद्रोहीहरूको कब्जामा परेको छ । त्यसले अबका दिन यो देशमा के हुन्छ, जनजीवन कसरी चल्छ भन्ने अन्योल छ । गएको एक डेढ महिनायता थामिनसक्नुको युद्ध चर्किएको थियो त्यसले सत्ता नै कब्जा गरायो । यो देशमा दशकौँदेखि सशस्त्र भीडन्त चलेको थियो नै । त्यस्तो प्रकारको भीडन्त यो देशमा सामान्य नै भइसकेको थियो तर अहिलेको जस्तो डरलाग्दो स्थिति भने थिएन । यो देशबाट जब विदेशी सेना खासगरी अमेरिकाले आफ्ना सेना फिर्ता लग्योे युद्धरत तालिबान आक्रमण र प्रभाव विस्तार हुन थाल्यो । उसले करिब एक दर्जनजति राज्य कब्जा गर्दै देशको सत्ता नै हत्याएको छ । अफगानी सेना आफैँ पनि पराजित भयो । विद्रोहीहरूलाई रोक्ने कुनै अर्को शक्ति छैन यतिबेला । अहिलेसम्म सहिष्णु देखिएको छैन यदपि उसले विगतको जस्तो अतिचार नगर्ने भनेको छ तर पनि भर पर्ने अवस्थाचाहिँ छैन ।

यो देशमा नेपालीहरूको संख्या १० हजारभन्दा बढिरहेको बताइन्छ । रेकर्डअनुसार १५ सयको हाराहारी रहेको बताइएको छ । यी सबै कामदार हुन् । काम गर्नका लागि को–कसरी त्यो ठाउँमा पुगे भन्ने अर्को पक्ष हो । यतिबेला जे–जसरी त्यो ठाउँमा पुगे पनि तिनको जीवनरक्षा गर्ने दायित्व राज्यको हुन्छ । नेपालीहरूका अनुसार यहाँ रहेका अरु देशका नागरिकहरू धमाधम फर्काइरहिएका छन् । त्यहाँ रहेका नेपालीहरूले बताएअनुसार नेपालीहरूको सोधखोज भएको छैन । अफगानमा नेपाली कूटनीतिक नियोग छैन । भारतमा रहेको दूतावासले नै हेर्छ । तर त्यो दूतावास यति निरीह छ कि त्यसले आजसम्म अफगानिस्तानको सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाण समेत पेस गरेको छैन ।

नेपालीहरूले जीवनमरणको दिन गन्दै बस्नुपरेको अवस्था छ । अफगानिस्तान ३४ वटा प्रान्त भएको देश हो जसमा २० भन्दा बढीमा मुस्लिम कट्टरवादीको वर्चश्व छ । त्यसैमा पर्छन् तालिबान, जो लामो समयदेखि कट्टरतका लागि नै लडिरहेका छन् । यो युद्धमा झण्डै तीन लाख मान्छेको ज्यान गइसकेको छ । यस्तो अक्रमण बढ्दै गएर राष्ट्रपति समेत पलायन भएका छन् । त्यसले राजधानी काबुल त सोझै विद्रोहीको हातमा प-यो । त्यहाँ रहेका कूटनीतिक कार्यालयहरू धमाधम बन्द हुँदै गरेका समाचाहरू आइरहेका छन् ।

यो क्रममा विदेशी दूतावास र तिनका कामदाहरू ती देशका पहलमा अफगान छाडिरहेका छन् । अमेरिकाले त आफ्ना नागरिक र दूतावासका कर्मचारीसमेत लिन हवाइ सुरक्षा दस्ताका साथ उडान भरिरहेको छ । यही ठाउँमा नेपालीहरुले पनि आफ्नो देश सम्झिएका छन् । तिनलाई उद्धार गर्नु राज्यको दायित्व हो । यसको समुचित पहल गरेर आफ्ना नागरिकको छिटोभन्दा छिटो जीवनरक्षा गरियोस् । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x