Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयदुई तिहाइ नेपालीलाई कोरोना भइसकेको हो त ?

दुई तिहाइ नेपालीलाई कोरोना भइसकेको हो त ?


काठमाडौँ ।कोरोना महामारीसँग जोडिएको एउटा विषयमा यो हप्ता सरकारले अत्यधिक प्रचार ग¥यो । त्यो वियष थियो मुलुकमा खोपको प्रभावकारिता राम्रो देखिनु र त्यससँगै सरकारको जानकारीमा नै नआएको अवस्थामा भित्रभित्रै कुल जनसंख्याको करिब दुई तिहाइको संख्या संक्रमणग्रस्त भएर पनि त्यसबाट मुक्त भएकोे हुनु । खोपको सन्दर्भमा एक मात्रा खोप लगाएकामा ८० प्रतिशत र दुई मात्रा खोप लगाएकामा ९० प्रतिशत कोभिडविरुद्धको एन्टिबडी देखिएको भनी एक अध्ययनको हावाला दियो ।

देशको कुल जनसंख्याको दुई तिहाइको संख्यामा कोभिडविरुद्धको एन्टिबडी विकास भएको देखिएको अवस्था निश्चय नै राम्रो हो । यो भनेको कम्तीमा यति जनसंख्यामा संक्रमण लाग्दैन भन्ने पनि हो । खोप लगाएर वा संक्रमित भएर होस् परिणाम भनेको कोभिडविरुद्धको एन्टिबडी विकास गर्नु नै हो । त्यसकारण यो अध्ययनको एउटा पक्ष यदि त्यो सही हो भने सकारात्मक मान्नुपर्छ । यो भनेको खोप नपुगेको ठाउँमा पनि संक्रमणले नै खोपको काम गरिदिएको अवस्था हो ।

यो जानकारीको अर्को दुःखद् नै भन्न मिल्ने खालको पक्ष हो महामारीको जानकारी सरकारमा कमै मात्र आउनु । देशको कुल जनसंख्याको दुई तिहाइमा कोभिडविरुद्धको एन्टिबडी विकास भएको देखिनु त्यो दुईवटा कारणले मात्र हुन्छ । एउटा संक्रमणको व्यापक विस्तार भएको र अर्को त्यो जनसंख्याले खोप पाएको हुनु । खोपको मात्रा यतिबेलासम्म करिब ४० लाखको हाराहारीमा मात्र पुगेको छ । दुई तिहाइ जनसंख्या भनेको करिब दुई करोडको संख्या हो । त्यो तहमा खोप पुग्न अझै धेरै बाँकी छ ।

सरकारले आफैँ पनि आसोज महिनासम्ममा एक तिहाइ संख्यालाई खोप दिने भनेको छ । यसको अर्थ हो कोभिडविरुद्धको एन्टिबडी विकास भएको कारण हो तिनमा संक्रमण फैलियो । यद्यपि त्यसले धेरै ठूलो क्षतिचाहिँ गरेन भन्ने मानौँ । तैपनि १० हजारको त जीवन क्षति भइसकेको छ । पछिल्लो तीन÷चार महिनामा धेरै ठूलो क्षति भएको अवस्था हो यो । दिनको सयका दरले मृत्यु भइरहेको समय पनि देशले भोगेको छ र अहिले पनि दिनको ३०–४० को संख्या त कायमै छ । संक्रमित हुनेको संख्या पनि आधारभूत रूपले घटेको छैन । यसबीच खोपको अभियान भने तीव्र नै चलिरहेको हुँदा केही आशलाग्दा कामकुरा पनि सँगसँगै बढिरहेका पनि छन् ।

माथिको यो विवरणलाई आधार मान्ने हो भने यो ठाउँमा एउटा गम्भीर प्रश्न के उठ्छ भने वास्तवमा नै कोरोना महामारीका सन्दर्भमा राज्यसँंग सही जानकारी छैन । जानकारी भएर व्यवस्थापन हुन नसक्नु एउटा कुरा हो भने जानकारी नै नहनु अर्को । अहिलेसम्म राज्यले कोरोना संक्रमितहरूको संख्या भनी सात लाख ५९ हजार भनेको छ ।

यो हिजोअस्तीको संख्या हो । यता कोरोना लागेर मुक्त भएकाहरूको यो संख्याभन्दा धेरै ठूलो अंकको संख्यामा कोरोना लागिसकेछ । कहाँ दुई तिहाइमा कोभिडविरुद्धको एन्टिबडी विकास भएको देखिनु र कहाँ राज्यको रेकर्डमा १० लाखको संख्यामा पनि कोरोना लागेको नदेखिनु आफैँमा विरोधाभाषयुक्त हो । यसको स्वाभाविक अर्थ हुन्छ नागरिकले राज्यलाई पत्याएनन् र उसलाई आफू संक्रमित भएको जानकारी नै दिएनन् । कारण हो राज्यले केही सहयोग गर्छ भन्ने नठानिनु । यो धेरै नै गम्भीर कुरा हो । राज्यको मूल प्राथमिकतामा परेको क्षेत्रमा त नागरिक यसरी तिरष्कृत भएको सोच्छन् भने अरु क्षेत्रमा के होला ? सरकारले उत्तर दिनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x