Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयढल नै सहरी क्षेत्रमा धराप बन्दै

ढल नै सहरी क्षेत्रमा धराप बन्दै


काठमाडौं । राजधानीजस्तो ठाउँमा ढल नै मानिसका लागि धराप बन्छ र ज्यान नै लान्छ । बर्खामाा बढेको ढलले पटक–पटक गरी दर्जनभन्दा बढीको ज्यान लगिसकेको अवस्था छ । यो सामान्य कुरा होइन । यस्तो ढलमा मान्छे बेपत्ता हुनेगरेको घटना कुनै एक पटकको होइन । प्रत्येक वर्ष दोहोरिँदै नै आइरहेको छ । हिसाब नै हुँदा बितेको चार/पाँच वर्षमा मात्र १५–२० जनाको ज्यान गइसक्यो । त्यसमा किशोरदेखि वयस्कसम्म छन् । स्कुलके ड्रेसमा पनि खुला ढलको मुखबाट बगेर एक किलोमिटर टाढा बगेपछि जीवित भेटिएका छन् ।

गएको हप्ता मात्रै एक किशोर त्यसरी नै ढलको मुखमा डुबेर बेपत्ता भए र अहिलेसम्म लास वा सासको अवस्थामा भेटिएका छैनन् । यस्ता घटनाको सबैभन्दा दुखद पक्ष हो यसको जवाफदेही कोही हुन नपरेको अवस्था । यो कुनै अन्तरकुन्तरको सडकको कुरा होइन । मान्छे अलप हुने काम मूल सडकका खुला ढलबाटै भइरहेको छ । पछिल्लो घटना त्यसको उदाहरण हो ।

एक जना बालक हराएको पछिल्लो घटनाका बारेमा प्रहरीले भनेको छ, ‘बालक बेपत्ता भएको भन्दै हामीकहाँ उजुरी परेको छ, निवेदनमा खुलाइएको बालकको हुलिया र प्रत्यक्षदर्शीले भनेअनुसार ढलमा बेपत्ता बालकको हुलिया मिलेको देखिन्छ,  हराएको समय पनि मिल्छ, त्यसैले ढलमा बेपत्ता बालक उज्ज्वल नै हो भन्ने हाम्रो अनुमान छ ।’ यो ठाउँमा उल्लेख भएका बेपत्ता बालक तिनै हुन्, जो काठमाडौँको कपन मिलनचोकका एक व्यवसायीले मंगलबार साँझ ८ बजे आफ्नै आँखाले फुटेको ढलमा एक जना बालक डुबेको देखे । सडकको सबैतिरबाट आएको ढल थामी नसक्नुको थियो । ठूलो वेगमा बगेको ढलको भलले बालकलाई केही क्षणमै अलप बनायो ।

ढलमा खस्दै गरेको देखे पनि बालकलाई निकाल्न सकिएन, हेर्दाहेर्दै उनी ढलभित्रै गायब भए, ढल मर्मत गर्न हामीले बूढानिलकण्ठ नगरपालिकालाई पटक–पटक गुहारेका पनि चासो नदिएर राज्यले संरक्षण गरेको त्यही धराप ढलले अबोध बालकलाई लगेको प्रत्यक्षदर्शीको भनाइ छ । सडक भत्काएर खाल्डा बनाउने अनि त्यसै छाड्ने, मुख्य सडकमा ढलका मंगल बनाउने र तिनलाई पनि खुला छाड्ने कुरा सहरी क्षेत्रमा सामान्य भइसकेका छन् । यसले वर्षेनी मान्छे बेपत्ता पारिरहेको छ, भेटिए पनि लास मात्रै । बालक हराएको यो घटनाकै बारेमा प्रहरीले भन्यो, ‘घटनाको सूचना पाएलगत्तै हाम्रो टोली पुग्यो, फुटेको ढलबाट पानीको भुल्को उर्लिरहेको रहेछ, त्यहाँ बालक छिरेको र बेपत्ता भएको प्रत्यक्षदर्शीबाट खुल्यो, मंगलबार रातभर र बुधबार दिनभर खोज्दा पनि भेट्टाउन सकिएन ।’

प्रहरीको यो भनाइले नै बताउँछ यस्ता मान्छेले खनेर छाडेका तथा खुला छाडिएका ढलहरू कति ठूला संकट भइसकेका रहेछन् । यसको एक दिनअघि मात्रै जोरपाटीको नयाँबस्तिस्थित बागमती करिडोरको बीच भागमा फुटेको ढलमा एक महिला डुबिन् । प्रत्यक्षदर्शी उद्धारका लागि अगाडि बढे तर पानीले बगाएर लगिहाल्यो । यस्ता घटना लेखिसाध्य हुने अवस्थामा छैनन् । बितेको पाँच वर्षमा मात्रै दुई दर्जनजति यस्ता घटना भइसकेको प्रहरीको रिपोर्ट छ । यसबारे कुनै निकायका कुनै पदाधिकारी जिम्मेवार हुने हो भने यस्ता धराप हट्थे कि ?


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x