Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराज्यले नै लाज मान्नुपर्ने विषय

राज्यले नै लाज मान्नुपर्ने विषय


काठमाडौं । एक्काईसौँ शताब्दीको संसारमा रहेको एउटा देश नेपालमा झन्झन् सामाजिक कुरीतिजन्य घटनाहरू प्रकट हुँदै आइरहेका छन् । ती समग्र समाजकै लागि लज्जास्पद छन् ।

बोक्सीको आरोपमा चरम हिंसा र निर्घात कुटपिटबाट मृत्यु, घरका परिवारलाई नै मलमुत्र खुवाइनुजस्ता घटनाहरू पछिल्ला दिन दिनहुँझैँ आइरहेका छन् । पीडित नागरिक जो धेरै असहाय वर्गका देखिन्छन् उनीहरूका लागि यो ज्यादतीमा राज्यको उपस्थिति भएजस्तो देखिँदैन । खासगरी मधेस क्षेत्र यो चपेटामा बढी पर्नेगरेको देखिन्छ । मधेसको धेरै क्षेत्र एउटा प्रदेशमा समेटिएको छ । यो क्षेत्रमा समग्र शासन पनि उनकै छन् जो यो क्षेत्रको आमूल परिवर्तन गर्ने भनी वचनबद्ध थिए । तर कुप्रथा र यस्ता जघन्य अपराधका सन्दर्भमा त्यहाँ कतै कमी आएन ।
बोक्सीकै आरोपमा दिनहुँ चरम हिंसाको वृद्धि भइरहेको छ । पछिल्लो घटनामा महोत्तरीकै ५६ वर्षीया महिला र उनका देवर मरणासन्न हुनेगरी पिटिए । अवस्था कस्तो भने कसैलाई कुकुरले टोकेको कुरा समेतमा यिनलाई दोष लगाइयो त्यसलाई पिसाचका रूपमा पठाइयो भनेर ।

पछिल्लो घटनाका एक जना देवर झवसी ठाकुरका भनाइ हेरौँ– ‘त्यस दिन रामशिलादेवी मण्डल एक हुल मान्छे लिएर आइन् । एक्कासि उनी भाउजूमाथि आक्रमण गर्न थालिन् । मेरो श्रीमान् तिमीहरूले नै मारेका हौ । अब मेरो छोरा मार्न खोजेका छौ भन्दै रामशिलाले आक्रमण गरिन् । उनीसँगै आएकाहरूले पनि कुटपिट गरिरहे । हँसियाले मेरो खुट्टामा हिर्काए । उनीहरूले मेरो घाँटी नै रेट्न खोजेका थिए, तर मैले घाँटीछेउ पु-याइसकेको हँसिया हटाउन खोज्दा आँखामा लाग्यो । मलाई र भाउजूलाई उनीहरूबाट छुटाउन आएकी मेरी श्रीमतीलाई समेत कुटे । कुटपिटबाट थिलथिलो भएका हामीहरू उनीहरूका अगाडि लाचार थियौँ । उनीहरूमध्ये कसैले गिलासमा मलमुत्र घोलेर ल्याए, सबै मिलेर भाउजू र मलाई जबर्जस्ती कोच्याए । हामीले गुहार मागिरह्यौँ । तर, बचाउन कोही आएनन्, बरू उनीहरूले निरन्तर कुटिरहे । गत दशैँमा सप्तमीको दिन रामशिलादेवीका श्रीमान्को मृत्यु भएको थियो । अत्यधिक मदिरा सेवन गर्ने उनको मृत्युको दोष हामीमाथि लगाए । मलाई धामी र भाउजूलाई बोक्सी भन्दै मार्नै खोजे । कुटिएको यो दिन रामशिलाका छोरा रामउदेशलाई कुकुरले झम्टेको रहेछ । त्यो कुकुरलाई पनि मैले पिचास बनाएर पठाएको र छोरा मार्न खोजेको भन्दै सबै मिलेर आक्रमण गरे ।’

मदिरा सेवनबाट मृत्यु भएका र सडकमा रहेका कुकुरले झम्टिएका घटनमा समेत यी असहाय नागरिकमाथि यस्तो पीडा दिइन्छ भने अवस्था कस्तो रहेछ अनुमान गर्न सकिन्छ । देवरभाउजूलाई नै यस्तो यातना यही समूहले नै केही पहिले मात्रै अर्की एक महिलामा माथि यसरी नै मलमुत्र खुवाई चरम यातना दिइएका भन्ने समाचार आएको थियो  । महोत्तरीका यी घटना प्रतिकात्मक मात्रै हुन् । हिजोको अस्तिको भन्दै घटना निरन्तर दोहोरिरहनु सामान्य होइन । यसले पीडकमाथि कि कारबाही भएको छैन कि त्यसको सन्देश गएको छैन भन्ने बुझाउँछ । अर्को बोक्सीको कुरा आफैँ आरोप मात्रै हो भन्ने बुझाउन सकिएन । यो पीडा खेप्नेमा अत्यन्त गरिब परिवारका व्यक्तिहरू छन् । गरिब भएकै कारण यस्ता आरोप लाग्नु र कुटपिट सहनु, दिशा खानुपर्ने अवस्था आउनु र कतिपय अवस्थामा त ज्यानै त्याग्नुपर्ने कुरा निरन्तर दोहोरिरहनु यो कुनै व्यक्तिमाथिको घटना नभएर राज्यले नै लाज मान्नुपर्ने विषय हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x